बजार अभावमा बन्द भयो पर्वतको ब्रिकेट उद्योग
पर्वत /बजार अभावमा पर्वतको एक मात्र बायो ब्रिकेट उद्योग तीन वर्षदेखि बन्द छ।
जंगलमा खेर जाने तथा अनावश्यक झारपातको सदुपयोग गर्दै खाना पकाउन प्रयोग गरिने ब्रिकेट उत्पादन गर्न ०६७ मा उद्योग स्थापना भएको थियो। दातृ निकायको सहयोगमा स्थापनना भएको उक्त उद्योग केही वर्षसम्म सञ्चालन भएपछि बन्द भएको हो। ब्रिकेट उद्योग कुश्मा नगरपालिका–१ छमर्केको कालिगण्डकी पातला खर्क छमर्के सामुदायिक वन उपभोक्ता समितिले आठ लाख रुपैयाँमा निर्माण गरिएको थियो। उद्योग बन्द भएसँगै उद्योगका भवन तथा उपकरण जीर्ण बन्दै गएको छ।
उद्योगका संस्थापक अध्यक्ष टेकनारायण श्रेष्ठका अनुसार वन उपभोक्ता समूहका पदाधिकारीहरूले चासो नदिएकाले उद्योग बन्द भएको हो। सरकारको समेत चासोमा नदिँदा उद्योग बन्द हुन पुगेको श्रेष्ठको भनाइ छ। भारतले नाकाबन्दी गरेका बेला यस उद्योगबाट उत्पादन भएका ब्रिकेटले राम्रो बजार पाएको थियो। त्यो बेला राम्रो आम्दानी गरे पनि नाकाबन्दी फुकुवा भएसँगै उद्योग बन्द भएका हो। ब्रिकेट उद्योग सञ्चालनमा रहेका बेला २०÷३० जनाले रोजगारी पाएका थिए।