वैश्ययुगमा सम्बन्ध : पूरै कालो वा सेतो हुँदैन
‘प्रधान तीर्थयात्री’ का रूपमा नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा जनस्तरमै व्यापक स्वागत भयो। सामाजिक सञ्जालको एक ठूलै कुनामा चाहिँ उनको आगमनको विरोध भयो। ‘नाकाबन्दीका लागि क्षमा माग’ भन्ने भावना देखियो। सहरी हल्लाबाट निरपेक्ष बस्ने मुक्तिनाथ क्षेत्रले भने सामाजिक सञ्जालमा त्यति नरुचाइएका अतिथिलाई उत्साहपूर्वक स्वागत गर्यो। जनकपुरबाट मोदीको सन्देश स्पष्ट थियो, ‘भारत अखण्ड नेपालको पक्षमा छ। नेपाली जनताले स्पष्ट जनादेश दिइसकेका छन्। भारतले त्यसको सम्मान गर्नेछ।’
शिवभक्त मोदी मुक्तिनाथ क्षेत्रमा जसरी रमाएर वरिपरि दृश्यावलोकन गर्दै थिए, लाग्थ्यो– यो क्षेत्र उनको पूर्वपरिचित थियो। मोदीको तीर्थाटन र पूजाआजाका दृश्यलाई उनका साथ आएका सञ्चारमाध्यमले भारतमा जसरी फैलाए, त्यसबाट हिन्दुस्तानको हिन्दु समाज प्रभावित भएन भन्न सकिन्न। उनका साथ आएका एक पत्रकारले ठट्टामा भने, ‘यो मान्छे, नेपालको जस्तो फिक्का रङवाला नक्कली हिन्दु राजनीतिक नेता होइन। यसले आफ्नो विश्वासका निम्ति राम्रो÷नराम्रो धेरैथोक गर्न सक्छ। र, त्यो कुरा लुकाउँदैन पनि।’
दिनहुँ कुनै न कुनै कुरामा सामाजिक सञ्जालमा समर्थन वा विरोध सुन्ने लामो अभ्यास भएका मोदीले महाभूकम्पको उल्लेख गरे तर नाकाबन्दी उच्चारण गरेनन्। सायद उनी भूकम्पलगत्तै भारतले गरेको सहयोग स्मरण गराउन चाहन्थे, तर नाकाबन्दीको पीडा नजरअन्दाज गराउन चाहन्थे। अथवा उनी संविधान निर्माणका बेला मधेस आन्दोलनमा ज्यान गुमाएका पचासौं आन्दोलनकारीलाई पनि भुल्न चाहँदैनथे।
व्यक्तिगत रूपले भन्नुपर्दा म चाहन्थें र अझै चाहन्छु– प्रधानमन्त्री मोदीले नाकाबन्दीका निम्ति दुःख प्रकट गरून्, क्षमा मागून्। तर विश्व कूटनीतिक सम्बन्धका पाटाहरूसित हल्का परिचित मेरो सचेत मनलाई थाहा छ, यो त्यति सजिलो कुरा होइन। अमेरिकाले जापानमा अणु बम खसालेर गन्नै नसकिने संख्यामा निर्दोष मानिसको ज्यान लियो, तर आजसम्म औपचारिक क्षमा मागेको छैन।
‘अन्तर्राष्ट्रिय राजनीतिमा क्षमायाचना’ नामक किताबकी लेखिका जेनेफर लिन्ड भन्छिन्, ‘यस्तो व्यवहारमा अमेरिका एक्लो छैन। देशहरू प्रायः अर्को देशसँग औपचारिक क्षमायाचना गर्दैनन्। हो, जापान र जर्मनी यस विषयका अपवाद हुन्, जसले क्षमा मागे।’
पञ्चायतकालमा राजा नेपालको प्रधानमन्त्रीलाई औपचारिक मञ्चमा समेत ‘तिमी’ भनेर सम्बोधन गर्थे। राजाबाट पदच्युत प्रधानमन्त्री बीपी कोइरालाले लामो कारावास र निर्वासनपछि राजासँग भेट पाए। भेटपछि जब उनी दरबारबाट फर्किए, पहिलो प्रश्न लौहपुरुष गणेशमान सिंहले सोधे, ‘राजाले तपाईंलाई के भनेर सम्बोधन गरे ? तिमी भने कि तपाईं ?’
बीपीले जवाफ दिए, ‘राजाले मलाई तिमी भने कि तपाईं भने, त्यो महत्वपूर्ण होइन। म त मलाई मात्र होइन, उनले सबै नेपालीलाई तपाईं भन्ने स्थितिमा पुर्याउन संघर्षरत छु।’
धेरै गहिरो अर्थ बोकेको यो प्रसंग स्वयं गणेशमानजीबाट सुन्ने सौभाग्य पाएको थिएँ। आज मलाई लाग्छ, जब जनकपुर, काठमाडौं र मुक्तिनाथ क्षेत्रले केही आधारभूत विषयहरूमा मोटामोटी एकै स्वरमा बोल्नेछन्, तब धेरै कुरा समाधानको बाटोमा स्वतः चल्नेछन्।
जनकपुर, काठमाडौं र जोमसोम– तिनै क्षेत्रको स्वाभिमान अविभाज्य छ। एकले अभिमानको गाथा गाउँदा अर्कोले अपमानित महसुस नगरोस्, यति संवेदनशीलता राख्नु नेपाल आमाको ठूलो सेवा गर्नु हो। ‘उत्तेजनात्मक प्रतिक्रिया’ वा ‘भारतभन्दा बढी भारतवादी वा चीनभन्दा बढी चीनवादी’ भएर हाम्रो नक्कली लोकरिझ्याइँको लोभले केही क्षणका लागि हाम्रो ‘टीआरपी’ त बढाउला, तर त्यसले बाघको त कुरै छोडौं, माखो पनि मार्न सक्दैन, वैश्य युगमा। समय–काल यदि वैश्य युगको साटो ‘तर्कशास्त्र’ युगको हुँदो हो त कुरा अर्कै हुने थियो।
विगतमा भारतको तर्फबाट केही चाल्नै नहुने गलत कदमहरू पनि चालिए। केही गुनासा भारतका पनि होलान्, तर नेपाल–भारत सम्बन्धको व्यापक क्षेत्रमा फैलिएको महŒव यी केही अप्रिय घटनाका कारणबाट मात्र सदाका लागि निर्देशित हुन सक्दैनन्। न नेपालले चाहेर, न भारतले चाहेर। किनभने सम्बन्धका कतिपय आधार ‘अस्तित्वगत’ छन्।
ओलीजीले स्थानीय रङहरूमा सजिएको पोसाक लगाएर सीतानगरीमा मोदीजीको स्वागत गर्नु नेपालमा क्रमशः परिपक्व हुँदै गएको देशभक्तिको उदाहरण हो।
इतिहासको ज्ञान जरुरी छ, विगतमा के भएको थियो भनेर शिक्षा लिन र भविष्यमा त्यस्ता घटना नदोहोरिऊन् भनेर सचेत रहन। तर इतिहासमा मात्रै बाँचेर वर्तमानमा भान्छाको आगो बल्दैन। जीवन बुझ्न हामीले पछाडि फर्कनै पर्छ, तर जीवन बाँच्न अगाडि हेर्नुको विकल्प हुँदैन। संसद्मा बाहुबलि गणितका साथ उपस्थित प्रधानमन्त्री ओलीजीले स्थानीय रङहरूमा सजिएको पोसाक लगाएर सीतानगरीमा मोदीजीको स्वागत गर्नु नेपालमा क्रमशः परिपक्व हुँदै गएको देशभक्तिको उदाहरण हो।
रङ र मान्छे मेरा रुचिका विषय हुन्। नांगो आँखाले हेर्दा यस्तो लाग्छ– संसारमा अनगिन्ती रङहरू छन्। बुझ्दै जाँदा थाहा लाग्छ, त्यस्तो केही होइन। संसारमा मूल रङ जम्मा तीनवटा छन्– रातो, नीलो र पहेंलो। यसबाहेकका बाँकी रङ सब मिसावटका परिणाम हुन्।
सेतो र कालोलाई भौतिकशास्त्रीय भाषामा रङ मानिँदैन। सेतो भन्नाले प्रकाशका सबै किरण परावर्तन भएपछिको फगत परिणाम मात्र हो। कालो भनेको सबै प्रकाश किरणलाई सोसेर लिएको नतिजा मात्र हो।
आजकल मिडियामा र सोसियल मिडियामा समाज, राजनीति र विदेश सम्बन्धलाई या त पूरै ‘सेतो’ वा पूरै ‘कालो’ भनेर चित्रित गर्ने जुन प्रचलन संसारभर बढ्दो छ, हामीले त्यही शैलीको अनुशरण गर्नुपर्छ भन्ने मलाई लाग्दैन। गौतम बुद्धभन्दा ठूलो ‘द्वन्द्वविशेषज्ञ’ संसारमा आजसम्म जन्मिएको छैन। उनले भनेका छन्, ‘सत्य मध्यम मार्गमा छिपेको हुन्छ। समाधान मनुष्यको उत्तेजनामा होइन, चेतनामा लुकेको हुन्छ।’
म सानो छँदा डिल्लीबजारस्थित विजय मेमोरियल स्कुलमा रङहरूको चाडलाई ‘फागु’ भनिन्थ्यो। वीरगन्जबाट आएको रामनारायण यादवले ‘फागु’ को साटो ‘होली’ नामले बोलाउँदा सबैले उसलाई जिस्काएर इल्लिबिल्ली बनाएका थिए। काठमाडौंमा मिडिया त्यसबखत पनि थिए, थोरै थिए तर थिए। हामी सबैका निम्ति रङहरूको पर्व भन्नाले ‘फागु पूर्णिमा’ भन्ने मात्र जनाउँथ्यो।
कालान्तरमा सब बदलियो। काठमाडौंले मात्र नेपालको नाम बोक्ने दिन सकिए। वैश्य युगको ‘जवानी’ यसरी चढ्दै गयो कि बाँकी सब फिक्का भए। वैश्य युगको मिडियालाई विज्ञापनरूपी चाँदीको जुत्ताले यसरी हान्यो कि काठमाडौंले पनि फागु पूर्णिमा भन्न छोड्यो। ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै काठमाडौंमा ‘होली’ भन्ने शब्द यसरी चम्कियो कि मधेसका समेत आँखा तिर्मिराए। रामनारायण यादव छक्कै पर्यो। स्कुलमा जिस्काउनेलाई सम्झँदै उसलाई पत्यार लागेन। आफैंलाई चिमोट्यो यादवले, अनि थाहा पायो– दुनियाँ अर्कै भइसकेछ।
यो बदलाव नेपालमा मात्र आएको थिएन। संसारभरि आएको थियो। साँच्चै भन्दा संसारभरि आएको बदलावको हावा नेपालमा पनि पसेको थियो। मानिसहरू आआफ्ना ‘अधिकार’ र ‘पहिचान’ का लागि यसरी जागृत भए– एकै भाषा, एकै भेष, एकै नेतावाला ‘राष्ट्रियता’ छाप टायर खिइयो। ‘समावेशी टायर’ नराखी गाडी नचल्ने दिन आए।
थियो कुनै जमाना, जब काठमाडौंमा मंका खलःले नेपाल संवत् मनाउन खोज्दा पुलिसले डन्डा र जेल दिन्थ्यो। ‘विविधताले राष्ट्रियता कमजोर बनाउँछ’ भन्ने मूर्खता पालेकाहरू देशको शीर्षासनमा थिए। हिमाल, तराई र पहाड बस्ने सबैले एउटै लुगा लगाएपछि मात्र, एकै भाषा बोलेपछि मात्र र एउटै रङको सिरक ओडेपछि मात्र राष्ट्रियता बलियो भएको मान्नेहरूको बोलवाला सत्तामा थियो।
बीचका वर्षहरूमा धेरै कुरा फेरिए। एकथरी यस्ता देवपुरुषहरू सत्ता छोड्न बाध्य भए, जसले सत्ता त्याग्नुपर्ला भन्ने सपनामा पनि सोच्दैनथे, तिनका ठाउँमा यस्ताहरू सत्तामा आए, जो सत्ता सम्हाल्नुपर्ला भन्ने सपनामा पनि सोच्दैनथे। यी परिवर्तन युगान्तकारी प्रकृतिका थिए, तर ती स्थापित र वैधानिक हुन सकिरहेका थिएनन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले एक वर्षभित्रै स्थानीय, प्रान्तीय र संघीय निर्वाचन गराएर भएका परिवर्तनमा वैधानिकताको ‘लाह छाप’ ठोकिसकेको अवस्था हो। आज वाम गठबन्धनलाई जनताले शासन अधिकार दिएका छन्।
‘परराष्ट्र नीति विश्लेषक उद्योग प्रालि’ का कयौं परम्परागत लालमोहरिया पण्डितले वर्षौंदेखि गुडाउँदै आएको टायरका बुट्टा सबै खिइसकेको अवस्था हो अब। आजको दिनमा भारतको नेपाल नीति वा चीनको नेपाल नीति भनेको तिनीहरूको व्यापक विश्वनीतिको एउटा सानो अंश मात्र हो। अहिले विश्व राजनीतिमा अभूतपूर्व नयाँ समीकरण निर्मित हुँदैछ। अमेरिका–चीन–भारत र रूसका आपसी सम्बन्ध ऐतिहासिक संक्रमणकालमा पुगेको छ। कोरिया प्रायद्वीपमा केही महिना अघिसम्म कसैले सोच्नै नसक्ने स्वागतयोग्य घटनाक्रम विकास भएका छन्।
राष्ट्र–राष्ट्रबीचको सम्बन्ध ‘कालो या सेतो’ को एकांगी परिभाषाबाट मुक्त भइसकेको छ। मौलिक रङहरूबीच आगामी संसार कसरी लैजाने भन्ने विषयमा घनीभूत विमर्श मन्थन हुँदैछ। चीन र भारतबीच केही कुरामा मतभेद छ, केही विषयमा उनीहरू साख्खै भएका छन्। नेपाल आउनु केही दिनअघि मात्र प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी जेनपेङबीच लगातार दुई दिन गरी दस घन्टा वार्ता भयो। ६ वटा भेटमध्ये चार भेट एकान्तमा वन टु वन थिए र दुई भेट प्रमण्डलका साथ भए।
भारतसँग चीनको अर्बौं डलरको व्यापार छ। आगामी दिनमा झनै विस्तारित हुने निश्चित छ। दुई धनी कुनै गरिबका निम्ति वैश्य युगमा आपसमा लड्दैनन्। सबै देश आफ्ना जनतालाई कसरी समृद्धि दिने भन्ने हिसाब–किताब गर्ने वैश्य युगमा छन्।
नेपालका प्रधानमन्त्री केपी ओलीजी पनि विश्व राजनीतिक रंगमञ्चमा बगिरहेको नयाँ वायु प्रवाहबाट परिचित नै हुनुहुन्छ। त्यसैले त उहाँको सरकारले युगसुहाउँदो र आम जनताका मुखमा माड लाग्ने नीति अख्तियार गर्नेतर्फ बढी ध्यान दिनुपरेको छ। ओलीजी र मोदीजीले नेपाल–भारत सम्बन्धका विविध पक्षबारे ठोस निर्णय गर्न सेप्टेम्बरसम्मको समयसीमा तय गर्नुभएको छ। थप टिप्पणी गर्नुभन्दा म त्यो समयसीमाको प्रतीक्षा गर्नेछु।
जानेर हो वा संयोगले हो, प्रधानमन्त्री मोदीजीले मुक्तिनाथबाट एउटा सन्देश दिनुभएको छ। यो सन्देश उहाँले त्यस्तो ठाउँमा भिक्षुणीहरूसित तस्बिर खिचाएर दिनुभएको छ, जसको भित्तामा लेखिएको छ, ‘आफ्नो सामानको सुरक्षा आफैं गरौं।’
हो, अब उपरान्त काठमाडौंले जनकपुरलाई र जनकपुरले काठमाडौंलाई दोष दिनुभन्दा पहिले वा कसैले पनि कसैलाई दोष दिनुअघि आआफ्नो कमजोरी हेरौं। कसैलाई चोर दोष दिनुभन्दा आआफ्नो सामानको सुरक्षा आफैं गर्नु बेस।
भारतका प्रधानमन्त्रीले भन्नुभएको छ, ‘नेपालले निर्णय गरोस्, ऊ के चाहन्छ ! नेपालको निर्णयलाई सघाउन हामी सधैं तयार छौं।’
मौका राम्रो छ, दुवै देशमा शक्तिशाली प्रधानमन्त्री छन्। जुन गतिमा हामीलाई विकास चाहिएको छ, त्यो सामान्य शक्तिले तान्न सकिने कुरा होइन। त्यसैले, हेरौं।अन्नपुर्णपोष्टबाट