बास्कोटाको नजरमा ओली -अरू तीन फिट अगाडि हेर्छन्, ओली हजारौँ माइल टाढा हेर्नुहुन्छ

समय पत्रकारितामा जमेका गोकुल बाँस्कोटा यतिवेला सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री छन् । अन्य मन्त्री पुल्चोकस्थित सरकारी क्वार्टर सरे, तर राज्यमन्त्री भएलगत्तै बाँस्कोटा प्रधानमन्त्री ओलीको भक्तपुर बालकोटस्थित निजी निवासमा डेरा सरे । यही कारण ओली र बाँस्कोटाको सम्बन्ध निकट भएको चर्चा सुरु भयो । तर, बाँस्कोटाले विद्यार्थीजीवनदेखि नै ओलीसँग नजिक थिए । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बाँस्कोटा रेडियो नेपालको ‘घटना विचार’ कार्यक्रममा संलग्न भए । त्यही वेलादेखि उनको सम्बन्ध ओलीसँग नजिक भयो । राज्यमन्त्री गोकुल बाँस्कोटाको नजरमा केपी शर्मा ओली कस्ता छन् ? उनकै शब्दमा :

भावनात्मक सम्बन्ध

जतिवेला हामी क्याम्पसका विद्यार्थी थियौँ, त्यसवेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीलगायत नेताहरू जेलमा आस्थाको बन्दी हुनुहुन्थ्यो । त्यतिवेलादेखि नै उहाँसँग भावनात्मक सम्बन्ध गाँसियो । हामीले उहाँसहित आस्थाका बन्दी रिहा गर्न माग गर्दै काठमाडौंका भित्ता रंग्यायौँ । हामी अनेरास्ववियुमा संगठित भयौँ । त्यसपछि केपी ओलीको व्यक्तित्व बुझ्न थालियो ।

घटना विचारमा हुँदा भेट

मदन भण्डारीको रहस्यमय हत्या हुँदा हामी बुझ्ने भइसकेका थियौँ । नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पु-याउने जननेताको निधनपछि जनताको बहुदलीय जनवादको बुझाइ र नेतृत्वमा देशव्यापी अन्योल छायो ।

लगत्तै अनेरास्ववियु केन्द्रीय कमिटीले भद्रकालीको कृषि आयोजना केन्द्र (एप्रोक्स)मा कार्यक्रम राख्यो । केपी ओली प्रमुख वक्ता रहेको त्यस कार्यक्रममा म संगठनको केन्द्रीय सदस्यका रूपमा सहभागी थिएँ । निरन्तर दुई घन्टाको उहाँको सम्बोधनले म प्रभावित भएँ । ओलीले मदनको विरासत जोगाउने भरोसासँगै आत्मविश्वास पैदा भयो ।

०५१ सालमै उहाँलाई दोस्रोपटक देखेँ । नजिक पुगेर हात मिलाउन पाए हुन्थ्यो भन्ने लागिरह्यो । तर, मौका जुरेन । मनमोहन अधिकारी नेतृत्वको सरकार बनेपछि संयोगवश म रेडियो नेपालको घटना र विचार कार्यक्रममा संलग्न भएँ । त्यसपछि भेटघाट भयो ।

दृढ इच्छाशक्ति र दूरदर्शी

प्रधानमन्त्री ओलीमा वाम–लोकतान्त्रिक र राष्ट्रवाद मिश्रित दृढ इच्छाशक्ति छ । उहाँ कहिलेकाहीँ पार्टीभन्दा माथि उठ्नुहुन्छ । कतिपय नेता पार्टी, परिवार र सीमित नेताहरूको चंगुलमा पस्छन्, उहाँको दायरा त्योभन्दा फराकिलो छ । आयामिक नेताका रूपमा प्रकट हुने उहाँको इच्छाशक्ति र साहसलाई कतिपयले दुस्साहसका रूपमा लिन्छन् ।

नेपालमा पहिलोपटक विकासलाई मुद्दा बनाएर समाज र राज्यमा स्थापित गर्ने नेता उहाँ नै हो । केपी ओली त्यो पात्र हो, जसले नाकाबन्दीका कारण कसरी छाक टारौँ भन्दै मान्छेहरू रन्थनिरहेका वेला रेल कुदाउने, समुद्रमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज तैराउने कुरा गरेर आशावादको सञ्चार गरायो । लोडसेडिङ चर्किएका वेला हावाबाट बिजुली निकाल्ने कुरा गर्नुभयो ।

व्यंग्य गर्नेहरूले उहाँमाथि नकारात्मक टिप्पणी गरे । तर, प्रतिकूलतामा नआत्तिने र अनुकूलतामा पनि आफ्नै तरिकाले अघि बढ्ने शैली, स्वभाव र इच्छाशक्ति उहाँमा छ । धेरै नेता ठ्याक्कै अगाडि मात्र देख्छन्, तर उहाँ क्षितिजसम्म देख्न सक्ने नेता होजस्तो लाग्छ ।

छिमेक सम्बन्धमा आइसब्रेक

अघिल्लो कार्यकालमा चीनसँगको सम्बन्धलाई १० बुँदे सम्झौतामार्फत ऐतिहासिक सम्झौताका रूपमा ‘आइसब्रेक’ गर्नुभयो । त्यो सम्झौता माइलस्टोन थियो । चीनसँगको पारबाहन सम्झौतापछि समाजको धेरै ठूलो पंक्तिले उहाँप्रति श्रद्धा व्यक्त गर्छन् । उहाँसँग मेरो सम्बन्ध वक्र होइन, सरल रेखाको छ ।

अहिले म उहाँकै नेतृत्वको सरकारमा राज्यमन्त्री छु । संयोगले मेरो क्वार्टर उहाँकै निवास बन्न पुग्यो । उहाँले मलाई माया गर्ने कुरा साँचो हो । यसको अर्थ गाली गर्नुहुन्न भन्नेचाहिँ होइन । माया गर्नेले गाली पनि गर्छ । उहाँ मैले राम्रो काम गरोस् भन्ने चाहनुहुन्छ ।

सुत्न नसकेपछि बालकोट सरेँ

म संयोगले उहाँको निवासमा आइपुगेको हुँ । भूकम्पले मन्त्री क्वार्टरका कतिपय निवास थिलथिलो बनेका छन् । मेरो बुझाइ थियो– मन्त्री निवासमा १९ वटा भवन छन्, प्रधानमन्त्री त्यहाँ बस्ने होइन । मलाई लाग्यो अरू (राज्यमन्त्री)ले पक्कै पनि सरकारी निवास प्रयोग गर्नुभएको छैन । म पदबहालीलगत्तै मन्त्रालय पुगेँ ।

तर, अरू मन्त्रीहरू तालाचाबी लिएर मन्त्रीको सरकारी निवासतिर कुद्नुभयो । मैले सरकारी निवास पाइनँ । मन्त्री बनिसकेपछि मेरो एकतले सानो घरमा बस्न सक्ने स्थिति भएन । तीनकोठे घरमा एउटा कोठा, एउटा बेडरुम र एउटा किचेन छ । भेटघाटका लागि आउनेलाई कसरी राख्ने ? चमेराको घरमा पाहुना लागेजस्तो हुने भो । घर खोज्दै थिएँ, मन्त्रीलाई घर कसले दिने ?

मान्छे आएको आयै, भेटेको भेट्यै, फोहोर हुन्छ । धेरै खोजेँ, तर उपयुक्त निवास फेला परेन । सत्य भन्दा, मन्त्री बनेपछि घरमा ७ दिनजति त सुत्न सकिनँ । एउटा बाथरुम, १० जना मान्छे पाहुना छन् । एउटाले घन्द्रांङ पार्छ, अर्कोले पनि त्यस्तै गर्छ, मन्त्री भएको हो कि, यातना पाएको !

यही कुरा जस्ताको त्यस्तै उहाँ (प्रधानमन्त्री)लाई दर्शाएँ । उहाँले भन्नुभो, ‘सारै गाह्रो परेको भए अहिलेलाई बालकोटमा बस्दै गर्नू ।’ यो मप्रति उहाँको विश्वास र माया दुवै हो भन्ने ठानेको छु ।

क्षितिज देख्ने नेता

अरू तीन फिट अगाडि देख्छन्, उहाँ हजारौँ माइल पर हेर्नुहुन्छ । अरू गहिराइमा बसेर सोच्छन्, उहाँ उचाइमा बसेर सोच्नुहुन्छ । अरू अँध्यारो मात्र देख्छन्, तर उहाँ उज्यालो देखाउँदै आशाको सञ्चार गराउनुहुन्छ । पार्टीभित्रै पनि कतिपय नेता पानी–पानी भएर गलिसके । तर, उहाँमा कहिल्यै कुनै विचलन, आत्मसमर्पण देखापरेन । उहाँमा त्यो क्षमता र इच्छाशक्ति पहिल्यैदेखि थियो ।

एउटा उखान छ– शक्तिमा हुँदा बलेको आगो त जसले पनि ताप्छ, तर जब कोही कमजोर हुन्छ, मरेको बाख्रोलाई उपियाँले छाडेजस्तै छाड्छ । संकटको साथी नै खास मित्र हुन्छ । सजिलोमा त सबै मित्र हुन्छन् । उहाँमा कहिल्यै त्यस्तो देखिएन । उहाँलाई जहिले पनि क्षमतावान् नेताका रूपमा पाएँ । यसको अर्थ पार्टीका अन्य नेतालाई अनादर गर्न खोजेको होइन ।

पार्टीभित्र उहाँले धेरैलाई सहयोग गर्दै आउनुभो । त्यसकारण अरूले पनि उहाँलाई सहयोग गर्नुपर्छ । उहाँले कुनै नेताको भाग खोस्नुभएन, सबैलाई सहयोग गर्नुभयो । उहाँलाई पनि कसैले सहयोग गर्दा राम्रो हुन्थ्यो भन्ने मेरो बुझाइ थियो । मैले कहिल्यै उहाँको साथ छाडिनँ ।

 

अरू तीन फिट अगाडि हेर्छन्, प्रधानमन्त्री केपी शर्मा ओली हजारौँ माइल टाढा हेर्नुहुन्छ । अरू गहिरोमा बसेर सोच्छन्, उहाँ उचाइमा बसेर सोच्नुहुन्छ । अरू अँध्यारो मात्र देख्छन्, तर उहाँ उज्यालो देखाउँदै आशाको सञ्चार गराउनुहुन्छ ।

 

मदन कमरेडको निधनपछि पार्टी विभाजनसम्म भयो । त्यसवेला उहाँ माधव नेपाल कमरेडको नेतृत्वको पक्षमा दृढतापूर्वक उभिनुभयो । अरूले उहाँलाई अनुचित माग राखेको भने होलान् । तर, मलाईचाहिँ जायज हो भन्ने लाग्छ । मैले उहाँको चाकडी या प्राप्तिका आधारमा सहयोग गरेको होइन । मेरो मूल्यांकन भयो होला, कतिपयलाई अलिअलि अन्याय भएजस्तो पनि भयो कि ? तर, मूल्यांकन सापेक्षतामा हेर्नुपर्छ ।

उखानमा मिसन र भिजन

उखान टुक्काले समाजको अनुभव, अभ्यास र भोगाइको प्रतिनिधित्व गर्छ । केपी ओलीका टुक्काले मानक पैदा गर्छ । उहाँका उखान टुक्का दर्शन, जीवनपद्धति, राजनीतिशास्त्र, अर्थशास्त्रमा आधारित हुन्छन् । उखान टुक्काले सम्प्रेषित गर्न खोजेको सन्देशलाई गहिराइमा हेर्नुपर्छ र बुझ्नुपर्छ ।

नबुझ्नेहरूले हलुका ढंगले केपी कमरेडलाई ‘उखानटुक्के’ भन्लान्, तर उहाँले मिसन, भिजन र डेडिकेसनभित्र उखान–टुक्काको प्रयोग गर्नुहुन्छ । अझ त्यसभित्र योजनासमेत हुन्छ । उहाँले दिने विम्बमा सम्मोहनकला पनि मिसिएको हुन्छ ।

उहाँको एउटा उखानटुक्का मलाई याद छ । ०६४ को संविधानसभामा माओवादी केन्द्र पहिलो दल बन्यो । पार्टीभित्र वामपन्थीले सबैतिर जितेको छ भन्ने मत पनि आयो । त्यसपछि उहाँले भन्नुभो– ‘काकाको खेतमा धान फलेर के गर्नु ? आफ्नो खेत बाँझै छ ।

साथीहरू दंग परेका छन्, तर खान मिल्दैन ।’ त्यसको के अर्थ थियो त ? एमाले पार्टीको नेताका हिसाबले हेर्दा माओवादीसमेत जोडेर ६२ प्रतिशत सिट पुग्यो भन्ने कुरा सुन्दर र प्रिय नै थियो । तर, एमाले अलग वैचारिक र राजनीतिक, दार्शनिक धारमा उभिइरहँदा आफ्नो पल्लाभित्र अर्काको संख्या जोडेर गरिने विश्लेषण कति तथ्यगत र तर्कसंगत थियो त ?

कांग्रेस, माओवादी, विदेशी होऊन् वा पार्टीभित्रका अरू कसैलाई होस्, उखान टुक्कासहित आलोचना गर्ने उहाँको विशेषता नै हो । उहाँको विम्बसहितको टुक्कालाई कसैले बुझ्छन्, कसैले बुझ्दैनन् ।

टेस्टपछि १० ठाउँ क्रसचेक

नेता ओली जसलाई पनि टेस्ट गर्नुहुन्छ । कुनै कुरा भन्दैमा कहिल्यै फकिनुहुन्न । सुन्नुहुन्छ, मुसुक्क हाँस्नुहुन्छ । त्यस कुराको १० ठाउँबाट ‘क्रसचेक’ गर्नुहुन्छ । अनि विश्वास गर्नुहुन्छ । उहाँ कुनै पनि कुरा फ्याट्ट भनिहाल्नुहुन्न । जे कुरा फ्याट्ट भन्नुहुन्छ, त्यसभित्र भविष्य नियालिएको हुन्छ ।

उहाँ भगवान् होइन, आलोचना हुनु स्वाभाविक हो । तर, कि कुरै नबुझेर उहाँको आलोचना हुन्छ, कि आफूलाई असर प-यो भनेर हुन्छ । कुनै कुरा गल्ती लाग्यो भने हामी पनि उहाँलाई औँला ठड्याउँछौँ ।

बोल्दै नबोली उठेर हिँड्ने बानी

एक जमानामा उहाँ विचार, दर्शन, सिद्धान्तकै कुरा बढी गर्नुहुन्थ्यो । तर, उहाँ संगठक पनि हुनुहुन्थ्यो । संगठक भएकै कारण उहाँ साढे दुई दशकअघि युवासंघको जल्दोबल्दो संस्थापक अध्यक्ष हुनुभयो । संगठक भएकैले झापा आन्दोलन गर्नुभयो । संगठकको मापन कति टायर बाल्यो, कति रिबन काट्योसँग मात्र हुँदैन । संगठन गर्ने कला हुन्छ ।

चेतनासहितको, योजनासहितको अपिलिङ पावर अर्थात् लोभलाग्दो कला उहाँसँग छ । कहीँ हिँडे पनि नहिँडे पनि घर बसीबसी उत्तर र दक्षिणतिर फर्किएका एमाले–माओवादीबीच एकताको सहमति, संयुक्त घोषणापत्र, वाम तालमेल अनि यति ठूलो निर्वाचन परिणाम ! के यो संगठन गर्ने कला होइन ? कसैले आलोचना गर्दा उहाँलाई मन परेन भने सुन्नुहुन्छ, सुन्नुहुन्छ अनि उठेर हिँड्नुहुन्छ ।

अडिने बानीले नाफा–घाटा

आफूलाई चित्त नबुझेसम्म हिँड्दै नहिँड्ने, अडिइरहने उहाँको स्वभाव छ । अरू कम्प्रमाइज गर्छन्, उहाँ गर्नुहुन्न । उहाँ आफैँलाई त्यो सही लाग्नुपर्छ, अरूलाई लाग्दैमा हुँदै हुन्न । त्यसले कहिलेकाहीँ घाटा पनि, नाफा पनि भएको छ ।

बालकोट बस्दा संकट थपियो, आलोचना सुनाइदिन्छु अरूले राम्रा–राम्रा कुरा मात्रै उहाँलाई सुनाउँछन् होला, तर मचाहिँ नराम्रो पनि सुनाइदिन्छु । म यहीँ (बालकोट) बसेको हुनाले एउटा संकट थपिएको छ । बालुवाटारमा उहाँलाई भेट्न नपाउने साथीहरू यहाँ आउनुहुन्छ, आलोचना गर्नुहुन्छ, माया गर्नुहुन्छ, आशा पनि राख्नुहुन्छ । ती सबै कुरा भेट भएका वेला म उहाँलाई सुनाइदिन्छु ।

कसैले सुधार्न नसकेका आनी–बानी

प्रधानमन्त्री ओलीको अस्तव्यस्त दैनिकी कसैले भन्दा पनि सुध्रिएको छैन । उहाँको स्वास्थ्य संवेदनशीलता बुझ्नेहरूले कमसे कम ११ बजे सुतेर ५ बजे उठे हुन्थ्यो भन्ने सुझाब दिन्छन् । धेरै नेता–कार्यकर्ता, अन्य पार्टीका व्यक्ति, साधारण अथवा उद्योगीलगायतले स्वास्थ्यको ख्याल गर्न सुझाब दिन्छन् । तर, उहाँ त्यो कुरा मान्दै मान्नुहुन्न । औषधि खान, खाना खान पनि अर्कैले कर गर्नुपर्ने उहाँका कहिल्यै नसुध्रिएका बानी हुन् । उहाँको सक्रियता अचम्मको छ ।

झगडापछि भेटघाट बन्द

उहाँ अभिभावकीय भूमिकामा हुनुहुन्छ । उहाँले हामीलाई होइन, हामीले उहाँलाई धम्क्याउने, घुक्र्याउने निहुँ खोज्ने हो । कहिलेकाहीँ उहाँलाई पनि निहुँ खोज्न मन लाग्छ होला । तर, पनि अन्ततोगत्वा उहाँसँग मेरो सुखद सम्बन्ध छ । कतिपय वेला उहाँसँग मेरो झगडा पनि परेको छ ।

तर, कहिल्यै पूर्वाग्रह राख्नुहुन्न । झगडा परेका वेला पनि अरू हातै नमिलाई हिँड्छन्, सिध्याउँछु भन्छन् । तर, उहाँ चुप लागेर बस्नुहुन्छ । भेट्दाखेरि कुनै दिन झगडा भएको थियो र ! जस्तो पार्नुहुन्छ । सम्बन्ध बिग्रिएका वेला उहाँ भन्ने गर्नुहुन्छ– कता हराइएको थियो ? ५–६ महिनासम्म हामीले एकले अर्कालाई नभेटेको स्थिति पनि छ । पूर्वाग्रह नसाँध्ने भएकाले सम्बन्ध जस्ताको तस्तै भइहाल्छ ।

कुनै पदको मोह छैन

ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसक्नुभयो । अब उहाँसँग राष्ट्रको आत्मसम्मान र गौरव, नागरिकको स्वतन्त्रता र सम्मान, मुलुकले आर्थिक रूपले फड्को मार्नुपर्ने सपना, योजना वा कार्यान्वयनका पाटाबाहेक कुनै पद प्राप्त गर्छु भन्ने मोह छैन ।

अब राष्ट्रपति बन्ने कि के गर्ने भन्नेतिर उहाँको मानसिकता तयार हुन्छजस्तो लाग्दैन । दोहो-याएर कक्षा पढ्दिनँ भन्दै आउनुभएको छ । उहाँकै अगुवाइमा पार्टी एकता सम्पन्न हुन्छ । त्यसपछि उहाँले देश निर्माणको मजबुत जग हाल्ने कामको नेतृत्व अवश्य गर्नुहुनेछ । मजबुत जगको महत्वपूर्ण औजार नै पार्टी एकता हो ।

विचार, सिद्धान्त, दर्शन, कार्यशैलीजस्ता विभिन्न कालखण्डका घटनाक्रमलाई हेर्ने कुरामा कम्प्रमाइज गर्ने, गर्नै नमिल्ने विषय छन् । मूल उद्देश्य पार्टी एकता भएकाले कुनै पनि मूल्यमा यसलाई सम्पन्न गरेपछि उहाँको जीवनमा प्राप्त हुन बाँकी भन्ने नै केही हुँदैन । उहाँ पदमा अलमलिनुहुन्छजस्तो लाग्दैन ।नयाँपत्रिकाबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’