जलजलामा कार्यालय स्थानान्तरणको बिरुद्ध स्थानिय आन्दोलनमा
पर्वत /उत्तरी पर्वतको जलजला गाउँपालिकाको कार्यालय स्थानान्तरणको बिरोधमा स्थानीय आन्दोलित बनेका छन् ।
गत वैशाख १४ गतेदेखि साविकको कार्यालयवाट स्थानान्तरण गरी गाउँपालिकाको वडा नं. ४ लामाखेतमा स्थानान्तरण गरेको बिरोधमा स्थानीय आन्दोलित बनेका हुन् ।
उनीहरुले नागरिक संघर्ष समितिनै खडा गरि साविककै कार्यालयमा सार्न आग्रह गरेका छन् । केन्द्र स्थानान्तरण गरी लामाखेतमा सार्न राजपत्रमा प्रकाशन भएपछि स्थानीय १५ जनाले सर्वोच्च अदालतमा २०७४ फागुन २९ गते रिट हालेका थिए । उक्त रिट बिचाराधिन रहेकै अवस्थामा गाउँपालिकाको कार्यालय साविक कार्यालयवाट लामाखेतमा सारिएको भन्दै वडा नं. १, २, ३, ४ र ५ का बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । बिरोधमा उत्रिएको नागरिक संघर्ष समितिले अदालतवाट फैसला नभएसम्म साविककै कार्यालयवाट सेवा प्रदान गर्न पनि आग्रह गरेको छ । साथै सरोकारवाला पक्षसँग अविलम्व वार्ताको पहल गर्न समेत माग गरेको छ ।
सार्वजनिक सुचना टाँस वा प्रकाशन नगरिकन अध्यक्ष लगायत केहि पदाधिकारीले सुटुक्क सामान सारेर लैजाँदा सेवाग्राहीहरु मर्कामा परेको संघर्ष समितिका संयोजक टेकबहादुर घर्ति क्षेत्रीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यता गाउँपालिकाको दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा वैशाख १५ गते कार्यालय स्थानान्तरण गरिएको थियो । अहिले लामाखेतमा दुई वटा घर भाडामा लिएर स्थापना गरिएको कार्यालयबाट सेवा प्रवाह हुँदै आएको छ ।
यहि बैशाख ९ गते गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सर्वसहमतीमा कार्यालय स्थानान्तरण गर्ने निर्णय समेत गरेको थियो । पहिलो गाउँसभामा दुई तिहाई बहुमत सदस्यको सर्मथनमा भएको निर्णय र गत फागुन तेस्रो हप्ता राजपत्रमा प्रकाशीत सूचना अनुसार लामाखेतमा केन्द्र स्थापना गरिएको ८ नम्बर वडा नाग्लीवाङका अध्यक्ष हरिबिकास जिसीले बताउनुभयो ।
यसअघि तत्कालीन स्थानीय तहको संख्या, सिमाना र नामांकनका लागि बनेको आयोगले साविकका बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, नाग्लीवाङ र बनौ गाविसलाई समेटेर बनेको जलजलाको अस्थाई केन्द्र वडा न. ३ स्थित साविक माझफाँट गाविसलाई कायम गरेको थियो ।
७ नम्बर वडा मिलनचोक र ३ नम्बर मल्लाजमा केन्द्र कायम हुनुपर्ने दुईथरी पक्षको बिवाद, दवाव र आन्दोलनका बिच भएको स्थानीय तह निर्वाचनपछि गाउँसभाले बहुमतको आधारमा लामाखेत केन्द्र तोक्ने निर्णय गरेको थियो । यसैबीच अस्थाई केन्द्र रहेको मल्लाजका बासिन्दाहरुले कार्यालय स्थानान्तरणमा अवरोध गरेका थिए ।