प्रहरीले सुन समाउन छाड्यो !-‘सुन भन्नेबित्तिकै सबै प्रहरी डराउने अवस्था छ’

काठमाडौं– गत आइतबार काठमाडौंको एक प्रहरी कार्यालयमा सूचना आयो– रसुवागढी नाकाबाट तस्करी भएर २६ किलो सुन आउँदै छ।

सूचना भरपर्दो नै थियो। सो कार्यालयका एक प्रहरी अधिकारीले आफू मातहतका प्रहरीसँग कुरा गरे। तर, कोही पनि सुन बरामदका लागि जान तयार भएनन्। सुन बरामद गरेपछि अनेक लाञ्छना लाग्ने भन्दै उनीहरुले त्यसमा चासो दिएनन्।

सुन तस्करी गिरोहका सदस्य सनम शाक्य हत्याको घटनामा प्रहरीले गरेको अनुसन्धानमा लापरवाही भएको खुलेपछि महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीसहितका तीन प्रहरीलाई नै प्रतिवादी बनाउने गृह मन्त्रालयको निर्णयपछि प्रहरीमा यस्तो असर देखिएको छ।

‘सुन तस्करीबारे सूचना दिनेको धेरैतिर कनेक्सन होला, फेरि गृहको छानबिन समितिले सोधपुछमा बोलाउन सक्छ’, काठमाडौंमा कार्यरत एक प्रहरी अधिकारी भन्छन्, ‘त्यसैले सुन भन्यो भने सबै प्रहरी डराउने अवस्था छ।’

विगतमा प्रहरीले नियमितजसो तस्करीका सुन बरामद गर्ने गरे पनि पछिल्लो समय त्रिभुवन विमानस्थलमा चेकजाँचमा बाहेक सुराकीको आधारमा भने बरामद गरेको छैन।

‘सुन तस्करीको सूचना तस्करहरुबाटै आउने हो’, एक प्रहरी अधिकारी भन्छन्, ‘सुराकीका लागि असल नियतले सम्बन्ध राख्दा पनि अहिले जागिर जाने अवस्था छ।’

अपराध महाशाखाका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलाई अनुसन्धानमा लापरवाही गरेको भन्दै सनम शाक्य हत्याको घटनामा प्रतिवादी बनाइएको थियो। दुवै जना हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्।

अनुसन्धानमा लापरवाही गरेकै आधारमा प्रतिवादी बनाउनु उनीहरुमाथि अन्याय भएको कतिपय प्रहरी अधिकारीको बुझाइ छ। यसले देशभरकै प्रहरीको मनोबल खस्किएको उनीहरु बताउँछन्।

विगतमा हरेक साताजसो प्रहरीले सुन बरामद गर्थ्यो। बरामद सुनको ३५ प्रतिशतसम्म कमिसन पाउने प्रावधान भएकाले धेरै सुन बरामद हुन्थ्यो। हाल जतिसुकै परिमाणमा सुन बरामद गरे पनि बढीमा ५ लाख रुपैयाँसम्म मात्र कसिमन प्रहरीले पाउँछन्। जसले गर्दा एकातर्फ प्रहरीलाई सुराकी कम भयो भने प्रहरीले पनि त्यसलाई प्राथमिकतामा राखेन।

पछिल्लो समय सुनकै कारण सिङ्गो संगठन बदनाम भएपछि प्रहरी अधिकारीहरु सुनसम्बन्धी अनुसन्धान नै गर्न नचाहने अवस्थामा पुगेका छन्। यसले सुन तस्करहरुलाई थप फाइदा हुने अवस्था सिर्जना भएको छ।

प्रहरीको खस्किएको मनोबल उठाउन नेतृत्व तहबाटै कदम चाल्नुपर्ने अवस्था आएको एक प्रहरी अधिकारी बताउँछन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’