सिन्डिकेटधारी यातायात व्यवसायीमाथि सरकारको डन्डा : सम्पत्तिमाथि छानबिन, बैंक खाता रोक्का !
काठमाडौं/ सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले आन्दोलन घोषणा गर्दै यातायात सेवा बन्द गरेपछि सरकार झन कडा रुपमा प्रस्तुत हुने भएको छ ।
सरकारले सिन्डिकेटका पक्षमा यातायात वन्द गर्ने यातायात समिति र समितिका पदाधिकारीको सम्पत्ति छानबिनको प्रक्रिया आजै (शुक्रवार)देखि नै अगाडि बढाउने भएको छ ।
यातायात समितिको सम्पत्ति छानबिनका विषयमा निर्णय गर्न गृह, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी बैठक बस्दै छ ।
गृहमन्त्रीको अध्यक्षमा बस्ने बैठकले यातायात समितिको बैंक खाता रोक्का गर्नेदेखि समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्नेसम्मका निर्णय गर्ने जनाइएको छ ।
सरकारका सबै निकायबीच आवश्यक समन्वय गरी आज (शुक्रवार) देखि नै यातायात समितिको सम्पत्ति छानवीन र बैंक खाता रोक्ने गर्ने प्रक्रिया अगाडि बढाइने छ ।
यातायात समितिहरु संस्था दर्ता ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका थिए । सरकारी निर्णयअनुसार अब यातायात समिति स्वतः खारेजीमा जानेछन् ।
संस्था दर्ता ऐनअनुसार स्वतः खारेज हुने संस्थाको नाममा रहेको चल अचल सबै सम्पत्ति सरकारीकरण हुने व्यवस्था छ ।
गृहमन्त्रीको निर्देशनलगत्तै समितिका पदाधिकारी पक्राउ पर्न थाले
सरकारले सिण्डिकेट खारेज गरे पनि त्यसको पक्षमा अत्यावश्यक सेवा ठप्प पारेको आरोपमा पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवनकुमार बन्जाडे पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलले बन्जाडेलाई नियन्त्रणमा लिएको हो। उनलाई बुटवल बजारबाट पक्राउ गरिएको हो।
ट्राफिकचोकस्थित आफ्नै पसल नजिकै चिया पिउँदै गरेको अबस्थामा प्रहरी टोलीले बञ्जाडेलाई पक्राउ गरेको हो ।