३३ किलो सुन प्रकरण : भन्सार र अध्यागमनतिर सोझिएन विशेष समितिको अनुसन्धान !

Gold bars
काठमाडौं । ३३ किलो सुन प्रकरणमा अनुसन्धानका लागि बनेको विशेष समितिले सनम हत्याको नजिक रहेर अनुसन्धान गरेको भए पनि संगठित तस्करीमा आशंका गरिएका अन्य निकायमा अनुसन्धान गरेको देखिएको छैन ।
३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा संलग्न भएकाहरुसमेत ६३ जनालाई मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
तर पछिल्लो समयमा सुन तस्करीमा प्रहरी र विमानस्थलमा कार्यरत कर्मचारी पक्राउ परेको भए पनि भन्सार विभाग, अध्यागमनका कमर्चारी र नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलाई छानबिनको दायरामा नल्याइएको भन्दै आशंका उब्जिएको छ ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रहरीले मात्रै चाहेर अहिले विमानस्थलबाट अवैध सामान बाहिर निकाल्न सम्भव नै छैन ।
बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा उनले भने, “विमानस्थलमा मात्रै होइन, प्रहरीले मात्रै चाहेर प्रहरीभित्रै पनि केही गर्न सक्ने अवस्था छैन । अझ विमानस्थलमार्फत हुने सुन तस्करीमा प्रहरीमात्रै मुछिनु दुर्भाग्यको कुरा हो ।”
गृह मन्त्रालयले बनाएको विशेष समितिले थाई एयर र वायु सेवा निगमका केही कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याएको भए पनि भन्सार विभाग र अध्यागमनका कर्मचारीलाई भने अनुसन्धानको घेरामा ल्याइएको छैन ।