शहीद स्मारक अंग्रेजी आवासिय मा.वि विरुद्ध उजुरी
पर्वत । शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालयका विरुद्ध उजुरी परेको छ ।
छिमेकी बिद्यालयका सञ्चालकहरुले विभिन्न आरोप लगाउँदै उक्त बिद्यालयका बिरुद्धमा कुश्मा नगरपालिकामा उजुरी गरेका हुन् । कुश्मा नगरपालिकाको वडा नं ५ मा सञ्चालित शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालयलाई वडा नं ६ मा स्थानान्तरण गर्दा शिक्षा नियमावली विपरीत भएको आरोप अन्य बिद्यालय सञ्चालकको छ ।
नमुना आवासिय मावि, कालिगण्डकी एकेडेमी, राष्ट्रिय वाल शिक्षा सदन र गुरुकुल एकेडेमीले नगरपालिकाको सामाजिक विकास समिति, कुस्मा नगरपालिकाको वडा नं ५ र वडा नं ६ र नगरशिक्षा अधिकृतको कार्यालयमा कार्वाहीको माग गर्दै उजुरी दिएका छन ।
नवौ शिक्षा नियमावली ऐनको खिलाप हुने गरि स्थानीय तहसँग स्विकृति नलिई विद्यालय स्थानान्तरण गरिएको लगायतका आरोप शहिद स्मारक माविमाथि लगाइएको छ । बिद्यार्थी भर्ना गर्ने क्रममा अर्मायादित रुपमा काम गरेको आरोप पनि शहीद स्मारक माथि लगाइएको छ ।
बिद्यालय स्थानान्तरण गर्दा नगरपालिकाको अनुमति लिनुपर्ने ब्यबस्था छ । शहीद स्मारक आवासिय माबिका प्रिन्सीपल केशबराज पुरीले स्थानान्तरणका लागि दुबै वडाबाट अनुमति लिने प्रकृया शुरु भैसकेको र लामो समय देखि चलेको बिद्यालय उही नगरपालिकामा सरुवा भएकाले उजुरीले कुनै असर नपर्ने बताए। उनले अन्य बिद्यालयहरु एकै वडामा र छोटो दुरीमा सञ्चालन भैरहेको अवस्थामा अर्को बिद्यालयलाई आरोप लगाउनु उचित नभएको प्रतिकृया दिए ।