नगरपालिकाको तीन करोड ९८ लाख लिएर भागेका लेखा अधिकृत ढकाल पक्राउ
उदयपुर : झण्डै चार करोड रकम लिएर भागेका लेखा अधिकृत काठमाडौंबाट पक्राउ परेका छन्।
उदयपुरको कटारी नगरपालिका लेखा अधिकृत रविनचन्द्र ढकाल सामाजिक सुरक्ष भत्ताको तीन करोड ९८ लाख रुपैयाँ लिएर भागेका थिए कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नगरपालिकाको नाममा पठाइएको रकममा कृर्ते कागज मिलाई आफ्नो नामको खातामा जम्मा गरेर फरार भएका ढकला पक्राउ परेको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए।
‘कति रकम हो मलाई थाहा छैन,’ उनले भने, ‘मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उजुरी गरी काठमाडौंबाट पक्राउ गरेर जिम्मा लगाएको छु, भोलि कति रकम हो, त्यसको बारेमा बुझछु।’ नगरपालिकाका उपप्रमुख भिमकुमारी राउतले वैशाख ३ गते कार्यालय छाडेर हिँडेका ढकालले रकम हिनामिना गरेको खुलासा भएपछि खोजी कार्य भएको बताइन्। ‘एक महिना अघि इलामबाट कटारी नपा सरुवा भएर आएका थिए,’ उप–प्रमुख राउतले भनिन्, ‘हिजो इलामस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय गाईघाटबाट आर्थिक हिनामिना गरेको जानकारी आएपछि झण्डै चार करोड लिएर सम्पर्क विहीन भएको थाहा पाइयो।
मैले बैंकमा गएर हेर्दा दुई पटक गरेर तीन करोड ९८ लाख आफ्नो खातामा पठाएको थाहा पाएँ।’ कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरका प्रमुख हिरा न्यौपानेले इलाम र कटारी नगरपालिकाको पैसा आप्mनो खातामा जम्मा गरेर ढकाल सम्पर्कविहीन भएको बताए। ‘हामीलाई इलामबाट जानकारी आएपछि थाहा भएको हो,’ प्रमुख न्यौपानेले भने, ‘इलामको चार करोड भन्ने आएको छ, त्यसमा बैंकबाट दावी नभइकन बोल्न मिल्दैन।’
राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीका प्रमुख उमापति बाँस्तोलाले सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम कोष तथा लेखा नियन्त्रणको कार्यालयबाट प्राप्त चेकलाई आफ्नो खातामा जम्मा गर थापाथली काठमार्डाैको बैङबाट झिकेको बताए। लेखा अधिकृत ढकालको खातामा रहेको उक्त रकम गएको चैत्र २ गते गोविन्द नामको व्यक्तिमार्फत १ करोड ५० लाख रुपैयाँ र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्तिमार्फत १७ लाख रुपैयाँ निकालेको पाइएको बैंकका कटारी शाखाका प्रमुख बाँस्तोलाले बताए।