बागलुङको ढोरपाटन र डोल्पाको दुर्गममा टेलिकमको सेवा
काठमाडौं । नेपाल टेलिकमले बागलुङको ढोरपाटनमा बीटीएस टावर स्थापना गरेको छ । टावर स्थापनासँगै बागलुङको अति दुर्गम ग्रामीण भेगमा जीएसएम मोबाइल सेवा सञ्चालन हुने टेलिमकले जानकारी दिएको छ ।
टेलिकमले बागलुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा आइतवार थ्रीजी बीटीएस स्थापना जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । माइक्रोवेभ प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालन गरिएको कम्पनीको भनाइ छ । टेलिकमका अनुसार ढोरपाटन नगरपालिका–९ मा स्थापित बीटीएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रीजी सेवा सञ्चालनमा आएको छ । उक्त स्थान बागलुङ सदरमुकामबाट १ सय २४ किलोमिटरको सडक दूरीमा र करीब ३ हजार २ सय मिटर उचाइमा छ ।
उक्त सेवाबाट त्यस स्थानका करीब ५ सय घरधुरी तथा सो क्षेत्रमा आउने पर्यटक लाभान्वित हुने कम्पनीको भनाइ छ । ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि समेत सो सेवाले सहयोग गर्ने टेलिकमको दाबी छ ।
त्यसैगरी, डोल्पाको दुर्गम ग्रामीण क्षेत्र धोमा कम्पनीले भी स्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । डोल्पा बुद्ध गाउँपालिकामा स्थापित बीटीएसबाट त्यस स्थानका करीब २ हजार बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुनेछन् । यो दुनै सदरमुकामदेखि करीब तीन दिनको पैदल दूरीमा पर्छ ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।