केबी गुरुङको प्रस्ताव : देउवालाई सभापति बनाउने प्रस्ताव फिर्ता लिएँ, सबै कमिटी भंग गरौं
काठमाडौं । नेपाली कांग्रेसका नेता कुलबहादुर (केबी) गुरुङले पार्टीको सबै कमिटी भंग गर्ने प्रस्ताव राखेका छन् । सबै तहको अधिवेशन गरेर आगामी ६ महिनाभित्र महाधिवेशन गर्नु एक मात्र समाधान भएको उनको दाबी छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा लिखित धारणा राखेका गुरुङले १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति प्रस्ताव गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।
देउवाको सभापतिका हैसियतमा करिव दुई वर्षे कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट निर्वाह गरेको भूमिकाबाट आफू दुःखित भएको भन्दै उनले भनेका छन्, ‘पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको परवाह नराखी मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको वैठकलाई दुःखपुर्वक सुनाउँदछु ।’
आफ्नो विश्वास र पार्टीको सिद्धान्त विपरित देउवाले गुटलाई प्रोत्साहित गरेको, विधान बमोजिम गर्नुपर्ने मनोनयनहरु नगरी पार्टीलाई ध्वस्त बनाएका उनको आरोप छ ।
यद्यपि चुनावी हारको जिम्मा संसदीय बोर्डका सबै सदस्य र केन्द्रीय कार्यसमितिले लिनु पर्ने गुरुङले बताएका छन् ।
विधान विपरीत बोर्ड बनाएर जिल्लाको सिफारिस विपरीत टिकट बाँड्दा सबै मौन बसेको भन्दै उनले नेताहरुलाई प्रश्न गरेका छन्, ‘विधान विपरीत बनेको संसदीय वोर्डका सवै सदस्यहरूले आँफैले टिकट लियौं तर, दुर्भाग्य मुश्किलले चारजनाले मात्र जित्यौं, यो भन्दा लज्जाको विषयको अरू के हुन सक्छ ? आँफै टिकट वाँड्ने, आँफै टिकट लिने र आँफू आफनो क्षेत्रमा जित्न पनि नसक्ने, अनि पराजयको दोषजती अर्काको टाउकोमा पन्छयाएर हामी उम्कन सक्दछौं ?’
जारी केन्द्रीय कार्यसमिति बैठकमा चुनावी हारको यथार्थपरक रुपमा समीक्षा हुन नसकेको भन्दै उनले समस्या पन्छाउन मात्र महासमिति बैठक भनिएको बताएका छन् ।
उनले भनेका छन्, ‘कांग्रेसको विधानमा समयनुकुल परिमार्जन गरी सवै तहका समितिहरुलाई विघटन गरी तदर्थ समितिमा बनाई सबै तहको अधिवेसन आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमवाट नयाँ नेतृत्वको चयन गर्नु एक मात्र समाधान हो ।’
केन्द्रीय सदस्य गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिन सक्ने संकेत पनि गरेका छन् । पार्टीलाई बचाउन मैले आˆनो उमेरको कुनै पर्वाह नराखी अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने खाँचो महासुस गरेको गरेको भन्दै उनले ‘आइपरे पार्टीलाई अगाडि लैजान मसंग अझै पनि जाँगर एवम आँट छ’ भनेका छन् ।