एमालेसँगको एकताबारे माओवादीमा तीन धार
काठमाडौं/नेकपा एमालेसंग पार्टी एकताबारे नेकपा माओवादी केन्द्रमा तीन धार देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही ‘सुनिश्चितता’सहित पार्टी एकताको पक्षमा छन् ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ समूह तत्काल पार्टी एकता गरेर जानुपर्ने अडानमा छ भने सानो तप्का एकीकरणको विपक्षमा देखिएको छ । खुलेर नबोले पनि एमालेसंग पार्टी एकता गर्नुहुन्न भन्ने जमात माओवादीमा छ । सो समूहका एक नेताले एकतामा ‘हतारो’ गर्न नहुने लोकान्तरसँग बताए ।
मूलधारबाट फुटेर मोहन वैद्यसंग गएको, तर पछि पार्टीमा फर्केको समूह माओवादी ‘जनयुद्ध’लाई आत्मसाथ गर्नेगरी ‘सम्मानजनक’ एकताको पक्षमा देखिएको छ । जसको नेतृत्व गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले गरेका छन् ।
अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको अध्यक्ष र तीन वर्षपछि प्रधानमन्त्रीको सुनिश्चितता खोजेको माओवादी स्रोतले बतायो । प्रचण्डले पार्टी अध्यक्ष दाबी गरेपछि दुई अध्यक्ष रहनेगरी सामूहिक नेतृत्वमा जाने सहमति दुई दलबीचको एकता संयोजन समितिमा सहमति भइसकेको छ ।
माओवादी नेता मणि थापा पार्टीका बहुसंख्यक नेता/कार्यकर्ता सम्मानजनक एकताको पक्षमा रहेको बताउँछन् । ‘पार्टी एकताको कसैले विरोध गरेका छैनन् । तर सम्मानजनक हुनुपर्छ भन्ने बहुसंख्यक कार्यकर्ताको सुझाव छ,’ उनले लोकान्तरसँग भने ।
एकताको आधार तयार पार्न भन्दै संयुक्त बैठक र प्रशिक्षण गरिसकेको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले सम्मानजनक एकता गर्नुपर्ने भन्दै आइतवार पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको थियो ।
माओवादीले पार्टी एकताको निर्णय गर्ने जिम्मा प्रचण्ड, नारायणकाजी र रामबहादुर थापालाई दिएको छ । कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर वैशाख ९ गते नै पार्टी एकता गर्ने भनिए पनि कतिपय प्राविधिक विषय नमिल्दा एकता पर धकेलिने संकेत देखिएको छ ।
‘सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीज्यूको एकलौटी निर्णयका कारण आशंका उब्जिएका छन् । केही विषयमा एमालेसँग स्पष्ट हुन बाँकी छ,’ माओवादीका एक नेताले भने ।
चुनावपछि पार्टी एकता गर्ने भन्दै असोज १७ गते वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका एमाले माओवादीले चुनावमा उत्साहपूर्ण नतिजा ल्याएका थिए ।
जनमतको कदर गर्न र नेपालमा एउटै कम्युनिष्ट पार्टी स्थापना गर्न भन्दै उनीहरूले पार्टी एकीकरणको गृहकार्य गरिरहेका छन् । दुई दलबीच मिल्न नसकेका विषय महाधिवेशनबाट टुंग्याउने गरी फागुन ७ गते पार्टी एकता गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग बालुवाटारमा एक्लाएक्लै वार्ता गरेपछि सोममवारका लागि स्थायी कमिटिको बैठक बोलाएको छ ।
एमाले स्थायी कमिटीको बैठकपछि मात्र वैशाख ९ मा पार्टी एकता हुने नहुने टुंगो लाग्नेछ ।