भारत भ्रमणमा कडा भए ओली, किन नरम मोदी ?

प्रधानमन्त्री केपी ओलीको स्पष्ट अडानका सामु भारतीय समकक्षी नरेन्द्र मोदी रक्षात्मक देखिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय नेताहरुसँगका वार्तामा कडा प्रस्तुति सहित राखेका एजेण्डामा मोदीले तत्कालै ‘रेस्पोन्स’ गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले राष्ट्रपति भवनमा पत्रकारहरुसँगको कुराकानीमा खुलाए।

प्रधानमन्त्री ओलीको ०७२ फागुनमा भएको पहिलो भारत भ्रमणक्रममा संविधानका विषयमा सहमति जुट्न नसक्दा भ्रमणपछि संयुक्त विज्ञप्ति निस्कन सकेको थिएन। सो कुरालाई ध्यानमा राखेर होला, यसपटक भारतले नेपालले राखेका प्रस्तावहरुलाई प्राथमिकतामा राखेर संयुक्त विज्ञप्ति निकाल्न सहमत भएको दावी छ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको।

विगतमा भएका सन्धि, सहमति र सम्झौताहरु भारतले लागू नगर्ने, बरु ‘होल्ड’ मात्रै गर्ने गरेको सन्दर्भमा ओली कडा रुपमा मोदी समक्ष प्रस्तुत भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले जानकारी दिए।

ओली–मोदीबीच भएको कुराकानीबारे प्रधामन्त्री ओलीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘महाकाली सन्धि अनुसार पञ्चेश्वर परियोजनामा जम्मा पाँच किलोमिटर सडक बनाउने भनिएको छ। भारतमा एक दिनमा ६ लेनका २६ किलोमिटर सडक बन्दोरहेछ। अरु पुल तथा परियोजनाका कुरा छाडौं, २० वर्षसम्म पाँच किमि सडक बनाउने पनि काम हुनसकेको छैन। हामी १० वर्षदेखि हुलाकी राजमार्गको कुरामा अल्झिएका छौं। यस्तो कुरा बाहिर जाँदा हाम्रो सम्बन्धमा कस्तो प्रभाव पर्ला ?’

महाकाली सन्धि पारित गराउन ओली आफैले पहल गरेका थिए, ०५३ मा। तर भारतले अहिलेसम्म सो परियोजना अलपत्र पारेकोमा सम्भवत ओलीमा भारतप्रति असन्तुष्टि छ। र, त्यही असन्तुष्टि यसपटकको भ्रमणमा पोखेका हुन् सम्भवत:।

ओलीको प्रश्नमा मोदीले पञ्चेश्वर परियोजना कार्यन्वयन गर्ने विषयमा उत्तरप्रदेश सरकारसँग तत्कालै कुरा गर्ने जवाफ दिएका थिए भने हुलाकी राजमार्गलगायत विगतमा भएका सहमति, सम्झौताको कार्यान्वयन विभिन्न संयन्त्र बनाएर गर्ने जवाफ दिएको मन्त्री ज्ञावालीले जानकारी दिए।

मन्त्री ज्ञावालीले एक अर्को प्रसंगमा भने, ‘हामीले राखेका प्रस्तावमा भारतले एकदमै चाँडै ‘रेस्पोन्स’ गर्न थालेको हामीलाई आभास भएको छ। दुईवटा परियोजनामा भारतले तत्कालै काम अगाडि बढाएको खबर गरेको छ।’

तर मन्त्री ज्ञावालीले ती के परियाजना हुन भन्ने कुरा भने खुलाएनन्।

नेपाल–भारत संयुक्त वक्तव्यको ८ नम्बर बुँदामा भनिएको छ, ‘दुई प्रधानमन्त्रीहरुले नेपालमा सञ्चालित द्धिपक्षीय परियाजनाहरु शीघ्र कार्यान्वयनको आवश्यकता औंल्याउनुभयो र विभिन्न क्षेत्रमा काम गरी अस्तित्वमा रहेका द्धिपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाउनुपर्ने विषयमा पनि जोड दिनुभयो।’

ओलीले विगतमा भएका सम्झौता लागू नभएसम्म अन्य कुनै परियोजनामा सम्झौता नराख्ने अडान लिएकै कारण भारतको सबैभन्दा बढी चासो रहेको कोशी उच्च बाँधको बारेमा कुनै सहमति बन्न सकेन भने अरुण–३ जलविद्युत परियोजनामा पनि नेपालले तयारी नपुगेको भन्दै शिलान्यास गर्न ओली तयार भएनन्।

नत्र अरुण ३ को शिलान्यास नयाँदिल्लीबाटै ओली–मोदीले संयुक्त रुपमा गर्ने भनिएको थियो।

ओली क्रमणक्रममा रक्सौल–काठमाडौं रेलवे भारतीय सहयोगमा निर्माण गर्ने बाहेक थप नयाँ सहमति भएको छैन। मोतिहारी (भारत)-अमलेखगन्ज (नेपाल) पेट्रोलियम पाइपलाइन परियोजना शिलान्यास र वीगंन्जको एकीकृत चेकपोष्टको संयुक्त उद्घाटन ओली सरकार बन्नु भन्दा धेरै पहिला सम्झौता भएका एजेण्डा हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणको मुख्य उदेश्य नै आपसी विश्वास र मित्रतालाई थप उचाइमा ल्याउने भएको बताउँदै आएका थिए। सो कुरा उनले हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा पनि उठाए।

ओलीको मन्तब्यमा उल्लेख छ, ‘छिमेकको यथार्थले समता, न्याय, आपसी सम्मान र साझा नियतिको सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व सिर्जना गर्दछ,’ प्रधानमन्त्री ओलीले घुमाउरो पाराले भारतले नेपालको सार्वभौमसत्ताको सम्मान नगरेको कुरालाई आपसी सम्मान, समता र न्यायको कुरामार्फत उठाएका छन्।

प्रधानमन्त्री ओलीले नेपालमा बलियो र दीगो सरकार बनेको सन्दर्भ जोड्दै नेपाल भूपरिवेष्टित देश होइन, बरु ‘ल्याण्डलिङक्ड’ र वाटरलिङक्ड’ दुवै भएको प्रसंग उठाएर घुमाउरो ढंगले ०७२ सालमा भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी तर्फ संकेत गरेका थिए।

अझ उनले भारतीय जनता पार्टी (बिजेपी) निकट ‘इण्डिया फाउन्डेसन’ ले आयोजना गरेको ‘सिभिक रिसेप्सन’ मा त नेपालले भारतको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गरेकोमात्र बताएनन्, भारतसँग पनि हाम्रो यस्तै अपेक्षाको चाहना राखे। साथै, समानता र साझा हितमा आधारित सम्बन्ध दीगो हुने तर्कपनि गरे।

प्रधानमन्त्री ओली आफ्नो यो अडान नेपाल–भारत संयुक्त वक्तब्यको दोस्रो बुँदामा पनि पार्न सफल भएका छन्। समकक्षी मोदीसँगको भेट अघि नै प्रकाशित भारतीय दैनिक ‘टाइम्स अफ इण्डिया’ र ‘द हिन्दु’ लाई दिएको अन्तर्वार्तामा पनि ओलीले यही कुरा उठाएका थिए।

आफ्नो देशको हितमा अडान लिनसक्दा ठूला र शक्तिशाली छिमेकीसँगको सम्बन्ध पनि सही ठाउँमा आउनसक्छ भन्ने उदारहरण नेपाल भएको तर्क छ, परराष्ट्रमन्त्री ज्ञवालीको। ज्ञवाली भन्छन्, ‘विगतमा लिएको नेपाल नीतिमा भारतले आत्मसमीक्षा गरेर अगाडि बढिरहेको हामीले उसको व्यवहारमा पायौं। भारतजस्तो देशलाई कतिपय विषयमा खुल्न समस्या भएको होला। ओलीलाई प्रधानमन्त्री नहुँदै र भएपछि दुई पटकसम्म टेलिफोनमा बधाई दिनु र परराष्ट्रमन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाउनुले पनि यसको पुष्टि गर्दछ।’

नेपाली सिनेमा क्षेत्रका सुपरस्टार राजेश हमालपनि प्रधानमन्त्री ओलीको भारत भ्रमण दलका एक सदस्य थिए। उनले भारत भ्रमण अघि प्रधानमन्त्रीले जे–जस्ता अडान राखेका थिए, ती अडान भारतीय नेताहरुसँगको कुराकानीमा राखेको स्मरण गरे।नेपाल खबरबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’