ओलीद्वारा प्रधानमन्त्रीय शासनको अभ्यास, मन्त्रीले नै पाएनन् सचिव सरुवाको पत्तो

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार बिहान ९ बजे भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरे । तीनदिने राजकीय भ्रमणका लागि भारत उडेका ओली आइतवार (२५ चैत)मा स्वदेश फर्किनेछन् । तर ओलीले भारत प्रस्थान गर्नुअगावै गरेको एउटा निर्णयले भने उनकै मन्त्रिपरिषद्का सदस्य (मन्त्रीहरू) अन्यौलमा परेका छन् ।

ओलीले भारत उड्नुअगाडि बिहीवार साँझको मन्त्रिपरिषद् बैठकमा सचिवहरूको सरुवासम्बन्धी निर्णय गराए । तर बैठकमा सहभागी मन्त्रीहरूले कुन सचिवको कहाँ सरुवा हुँदैछ भन्ने जानकारीसमेत नपाएका रहेछन् ।

‘मन्त्रिपरिषद्बाट सचिव सरुवा भएको निर्णय गरिए पनि धेरै मन्त्रीज्यूहरूलाई कुन सचिव कहाँ सरुवा हुनुभएको छ भन्ने थाहा पनि छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको मन्त्रिपषिद् शाखाका एक सह–सचिवले भने, ‘सचिव सरुवामा प्रधानमन्त्रीले स्वविवेकीय आधारमा गर्नुभएको हो ।’

मुख्यसचिव लोकदर्शन रेग्मीसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले ३० जना सचिवको सरुवा गर्ने निर्णय लिएको बुझिएको छ ।

ओलीले तोडे परम्परा

यसअघि मन्त्रालयका सचिव सरुवा हुँदा मन्त्रीहरूको विशेष भूमिका हुन्थ्यो । मन्त्रीहरूले आफूले भन्नेको मान्ने खालको सचिवलाई टिपेर आफ्नो मन्त्रालयमा लैजाने परम्परा नै बसेको थियो ।

तर यसपटक भने सचिव सरुवामा प्रधानमन्त्री ओलीले विशेष चासो देखाएका छन् । मन्त्रीहरूलाई समेत जानकारी नदिइ सचिवको सरुवा भएकोमा प्रधानमन्त्री कार्यालयका अधिकारी नै आश्चर्यमा छन् ।

सचिवहरूको सरुवाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबाहेक अन्य मन्त्रीलाई जानकारी समेत नभएको स्रोतको भनाइ छ ।

सरुवा भएका सचिवले समेत समाचारमा आफ्नो नाम आएपछि मात्रै सरुवा भएकोबारे जानकारी पाएको लोकान्तरलाई बताए । ‘अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि मात्रै सरुवाबारे जानकारी पाएँ,’ एक सचिवले  भने, ‘सायद आज (बिहीवार) साँझसम्म सरुवा भएको पत्र पाउछौं होला ।’

प्रधानमन्त्रीय शासनको अभ्यास

संविधानअनुसार देशको प्रमुख कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ । तर यसअघिका प्रधानमन्त्रीले सबै ठाउँमा आफ्नो प्रधानमन्त्रीय अधिकारको प्रयोग गर्ने अवस्था थिएन ।

अन्य दलसँगको गठबन्धनमा बन्ने सरकारका प्रधानमन्त्रीले सत्ता साझेदार दलका मन्त्रीलाई खुशी पार्न नसक्दा कुर्सी नै गुमाउनुपर्ने अवस्था हुन्थ्यो । तीन चौथाइ सांसदको समर्थनप्राप्त प्रधानमन्त्री ओलीको हकमा डराउनुपर्ने अवस्था नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

नेपाल सरकारका पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीय शासनको अभ्यास गरेको बताउँछन् । ‘२०५२ सालदेखि मन्त्रीले सचिव टिप्ने परम्परा थियो,’ पूर्वसचिव ढुङ्गेल भन्छन्, ‘तर यसपटक प्रधानमन्त्रीले मन्त्रीलाई समेत जानकारी नदिई सचिवको सरुवा गरेको भन्ने कुरा चर्चामा आएको छ । जुन प्रधानमन्त्रीय शासनको अभ्यास हो ।’

आफूले चाहेअनुसार काम गर्नका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्नु स्वभाविक भएको ढुङ्गेल बताउँछन् । ‘मन्त्रीले छानेर लगेका सचिवले मन्त्रीको दबाबमा रहेर काम गर्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थामा राम्ररी काम गर्ने वातावरण पनि हुँदैन,’ ढुङ्गेल भन्छन्, ‘अहिले प्रधानमन्त्रीले आफ्नो चाहना र योजनाअनुसार सचिवको सरुवा गर्नुभएको देखिन्छ । यस्तो अभ्यासले कर्मचारी पनि सरकार र जनताप्रति उत्तरदायी हुन्छन् ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’