गरिब परिवारको बिचल्ली- बर्षदिन भित्रै परिवारका तीन सदस्यको मृत्यु, कमाई गर्ने छोरा थला परे

फोटो अन्नपुर्णपोष्ट

प्युठान /बुवा र भाइको मृत्युपछि प्युठान नगरपालिका–९ मरन्ठाना ठूलासिमका कृष्ण केसी पीडामा थिए। आमा, श्रीमती र दुई छोराको पालन पोषणको जिम्मा उनको काँधमा आयो। बुबा र भाइको वियोग बिर्सन नपाउँदै बहिनी रिना केसी बिरामी भइन्। उनलाई उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरियो। बिरामी बहिनीलाई भेट्न १२ घण्टा लामो बसको यात्रापछि सातभञ्याङ नाघेर राजधानी पुगे।

अस्पतालमा पुगेपछि चिकित्सकसँग बहिनीका बारेमा सोधपुछ गरे। कुरा गर्दागर्दै उनी बेहोस भए। अस्पताल परिसरमै ढले। सिमेन्टमा ढलेपछि टाउकोमा गम्भीर चोट लाग्यो। बहिनी भेट्न गएका उनलाई नै अस्पताल भर्ना हुनुप¥यो। उपचारकै क्रममा एक मात्र बहिनीको मृत्यु भएकाले बहिनी भेट्ने कृष्णको सपना सधैंका लागि अधुरो भएको छ। तर, घाइते कृष्णलाई बहिनीबारे अझैसम्म यर्थाथ कुरा भनिएको छैन।

वर्ष दिनमै परिवारका तीन सदस्य गुमाउनुपर्दा विपन्न परिवारका कृष्णको अवस्था नाजुक भएको छ। ‘गाउँमा ऋण खोजेर बहिनीको उपचार गर्न काठमाडौं जानुभएको थियो’, श्रीमती सुशीला केसीले भनिन्, ‘नानीलाई भेट्न नपाउँदै आफैं लडेर घाइते हुनुभएछ।’ कृष्ण अहिले थलिएका छन्। राम्ररी बोल्न सक्दैनन्। मान्छेलाई राम्रोसँग चिन्दैनन्। दिसापिसाब ओछ्यानमै गर्न थालेका छन्। उपचारका क्रममा १२ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ।

बुवा र भाइको मृत्युपछि परिवार सम्हाल्ने जिम्मेवारी बोकेका उनी आफैं बिरामी परेपछि परिवारको विचल्ली भएको छ। अहिले कृष्णकी श्रीमती ११ दिनकी सुत्केरी छिन्। १३ वर्षको जेठो छोरा विजयले पाँच कक्षा र ११ वर्षका माइलो नरेन्द्र तीन कक्षामा पढदै छन्। विपन्न परिवारका केसी परिवारलाई आउँदा दिन कसरी बिताउने भन्ने पिरलोले सताउन थालेको छ। घरमा आमा चन्द्रा केसी रुँदै दिन बिताउन बाध्य छिन्। ‘बुवा बित्नुभो, वर्ष दिन नहुँदै माइलो छोरो पनि बित्यो’, पीडा पोख्दै उनले भनिन्, ‘भएजति सम्पति उपचार गर्दागर्दै सकियो। अब के गरेर बाँच्नु ? ’ छोराको उपचार गर्दा लिएको ऋण तिर्न नसकेपछि साहुले खेत लैजाने भनेको चन्द्राले विलौना पोखिन्। अलिकति भएको बारी मरन्ठाना–बुढादेवी–चुँजा मोटरबाटो खन्दा मासिएको छ।

ओछ्यानमै थलिएका छोराको रेखदेख, सुत्केरी बुहारी र दुई भाइ नातिको पालनपोषण गर्न चन्द्रालाई कम्ती सकस छैन। ‘सुत्केरी बुहारीलाई मीठो मसिनो खुवाउन सकेकी छैन’, उनले भनिन्, ‘सबै दुःखजति गरिबलाई हुने रहेछ।’ मृत्यु भइसकेका माइलो छोरा छुट्टिएर बसेका थिए। जेठो छोरा आमाबुवासँग थिए। कृष्ण परिवार पाल्न दुइ वर्ष मलेसिया गएका थिए। त्यसपछि भारतमा मजदुरी गरेर जसोतसो परिवार धान्दै आएका थिए।

कृष्णको उपचार गर्न छिमेकी लीला विष्टले पटकपटक गरी चारलाख रुपैयाँ ऋण दिएकी छन्। पैसा असुली गर्ने स्थिति नभएपछि उनले खेत किन्ने सोच बनाएको बताइन्। तर, कसैबाट सहयोग जुटेमा पीडामा परेको परिवारको खेत आफूले लिने मन नभएको उनको भनाइ छ। ‘सावा रकम मात्रै भए पनि बुझ्छु। ब्याज चाहिँदैन’, विष्टले भनिन्। उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई विस्तारै सुधार हुँदै गए पनि पूरै निको हुन समय लाग्ने परिवारले जनाएको छ। बहिनी भेट्न काठमाडौं गएका कृष्ण निको नहुन्जेल बहिनीको मृत्युको खबर नभन्ने परिवारको सोच छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’