एमाले–माओवादी एकताको औपचारिक घोषणा मात्र बाँकी !
काठमाडौं/ एमाले–माओवादीले वैशाख ९ मा औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो, अन्नपूर्ण पोस्टमा खबर छ।
दुवै कार्यदलले मंगलबार एकता संयोजन समितिका संयोजकद्वय प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन पारेर ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने गरी सुझावसहितको प्रतिवेदन बुझाएका हुन्।
तर, संयोजन समितिले औपचारिक निर्णय भने लिइसकेको छैन। २२ चैतमा बस्ने एकता संयोजन समितिको बैठकले यसबारे औपचारिक निर्णय लिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्।
‘अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित दुवै कार्यदलले २२ अप्रिलमा पार्टी एकता गरौं भन्ने सुझावसहितको अआफ्नो प्रतिवेदन दुवै अध्यक्षलाई बुझाएका छौं’, माओवादी नेत्री भुसालले भनिन्, ‘दुवै अध्यक्षले प्रतिवेदन ग्रहण गर्दै प्रस्तावित मितिबारे सकारात्मक जवाफ दिनुभएको छ। अब बिहीबार बस्ने संयोजन समितिको बैठकले पार्टी एकताको मितिलगायतको निर्णय लिनेछ।’
२२ अप्रिल अर्थात् ९ वैशाख नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन हो। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा यो बीचमा टुटफुटको शृंखला नै चलेको थियो। एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको नामसमेत नेपाल कम्युनिस्ट पार्टी नै बनाउने औपचारिक सहमति गरिसकेका यी दुई पार्टीले पार्टी स्थापनाको ६९ वर्षकै दिन पारेर एकताको औपचारिक घोषणा गर्दा त्यसको सन्देश राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमै सकारात्मक जाने भन्दै कार्यदलले मिति प्रस्ताव गरेको हो।