प्रदेश नम्बर २ मा एक नम्बर बन्न दलहरुको यस्तो छ कसरत, कुन दलले बाजी मार्ला?

काठमाडौं  । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि यतिखेर प्रदेश २ तातिएको छ । कतिपय दल उम्मेदवारी छनोटका लागि दौडधुपमा लागेका छन् भने कतिपयले घोषणा गरी प्रचारप्रसारमा लागिसकेका छन् । भदौ २१ गते उम्मेदवारी मनोनयन हुने समय तोकिएको छ तर प्रमुख दलहरूले नै अझै उम्मेदवारी टुङ्गो लगाएको छैन ।
जिल्लाहरूबाट उम्मेदवारको नामवाली केन्द्रीय कार्यालयमा आइसकेका छन् ।

त्यसलाई अन्तिम रूप दिन दलका नेताहरू छलफलमा जुटेका छन् । काँग्रेसका नेता विमलेन्द्र निधिले प्राप्त नामावलीमध्येबाट नै उम्मेदवार टुङ्गो लगाउने काम सकिएको र चाँडै सार्वजनिक हुने बताउनुभयो । त्यस्तै, माओवादी केन्द्रले पनि उम्मेदवारको टुङ्गो लगाइसकेको र औपचारिक घोषणा हुन बाँकी छ । त्यस्तै एमालेले पनि एक दुई दिनमै उम्मेदवारको टुङ्गो लाग्ने जनाएको छ ।

यसरी केन्द्रले उम्मेदवार टुङ्गो लगाउन बाँकी राखे पनि स्थानीय तहका सम्भावित उम्मेदवारहरूले आ–आफ्नो चुनावी क्षेत्रमा चुनावप्रचार तथा घरदैलो कार्यक्रममा लागेको सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले जानकारी गराउनुभयो । तेस्रो चरणमा भइरहेको प्रदेश २ मा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

त्यसमध्ये एउटा मात्र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा चुनावी चहलपहल निकै तातिएको छ । उद्योगी नगरीको रूपमा चिनिएको वीरगन्ज महानगरपालिकामा एक लाख १२ हजार मतदाता छन् । ३२ वटा वडा रहेको सो महानगरपालिकाका लागि अहिलेसम्म फोरम नेपालले मात्र मेयरको नाम घोषणा गरेको छ । उद्योगीको रूपमा परिचित विजय सरावगीलाई मेयरको रूपमा अघि सारिएको छ । उम्मेदवारी घोषणासँगै प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई उहाँले तीव्रता दिनुभएको छ ।

अन्य दलले औपचारिक रूपमा घोषणा नगरे पनि नेपाली काँग्रेसबाट अजय द्विवेदी, नेकपा एमालेबाट बसरुद्दीन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रोहवर अन्सारी, राजपा नेपालबाट विमल श्रीवास्तव र राजेशमान सिंहको पनि मेयरमा चर्चा छ । उहाँहरूले पनि आफ्नो उम्मेदवारको प्रचारप्रसारमा लाग्नुभएको छ । यद्यपि सरावगीबाहेक अन्यको नाम केन्द्रबाट टुङ्ग्याउन बाँकी रहेको बताइन्छ ।

प्रदेश २ मा जनकपुर, जितपुर–सिमरा र कलैया गरी तीन उपमहानगरपालिका छन् । यी उपमहानगरपालिकामा पनि चुनावी चहलपहल बढेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रख्यात धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिकामा मेयर पदका थुप्रै आकाङ्क्षी देखिएका छन् ।

जानकारीअनुसार जनकपुर उपमहानगरपालिका लागि मेयरमा काँग्रेसको तर्फबाट मनोज साह, बजरङ्ग साहको चर्चा छ भने एमालेको तर्फबाट दीपेन्द्रकुमार यादव, लक्ष्मीनारायण भगत, माओवादी केन्द्रको तर्फबाट चन्द्रशेखर साह, फुलगेन साहको नाम चर्चामा छन् । त्यस्तै, राजपा नेपालको तर्फबाट लालकिशोर साह, शिवशङ्कर साहको नाम पनि चर्चामा छन् । फोरम नेपालले विष्णुदेव साहको नाम टुङ्गो नै लगाइसकेको छ ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका लागि फोरम नेपालले मेयरमा प्रमोद गुप्ताको नाम सार्वजनिक नै गरिसकेको छ । गुप्ताले आफ्नो प्रचारप्रसार तीव्र पार्नुभएको छ । गुप्ताले आफ्नो प्रतिस्पर्धा काँग्रेससँग रहेको दाबी गर्नुभएको छ । पूर्वसभासद समेत रहेका गुप्ताले आफूले जित्ने दाबी गर्नुभयो । अन्य दलले मेयर पदको उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । तर, केन्द्रदेखि स्थानीय तहसम्म चर्चामा काँग्रेसको तर्फबाट रमानन्द यादव, राजेश यादव, फुल महम्मद मन्सुर रहनुभएको छ ।

एमालेका तर्फबाट एम समिउलाह, सुरेश मोदक, विनोद साहको पनि मेयरमा चर्चा छ । माओवादी केन्द्रले स्थानीय स्तरमा मुकेश साहको नाम नै घोषणा गरिसकेको छ । सो पार्टीबाट अरू कसैको दाबी नरहेको जनाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट जयप्रकाश साहको नाम चर्चामा छ । कलैया उपमहानगरपालिकामा २७ वटा वडा छन् भने ५७ हजारभन्दा बढी मतदाता छन् ।

त्यस्तै, २४ वटा वडा रहेको बारा जिल्लाकै जितपुर–सिमरामा ५५ हजारभन्दा बढी मतदाता छन् । त्यहाँ माओवादी केन्द्रले राजन पौडेल, रापप्राले सोमराज उप्रेती, राष्ट्रिय जनमोर्चाले धर्मानन्द उपाध्यायको नाम मेयरको उम्मेदवारका लागि टुङ्गो लगाइसकेका छन् भने अन्य कुनै दलले कसैको नाम औपचारिक घोषणा गरेको छैन । तर, काँग्रेसको तर्फबाट ओमकृष्ण कार्की, कृष्णव्रत सिंहको नाम चर्चामा छन् । त्यस्तै, एमालेको तर्फबाट मेयरमा देवनारायण चौधरी, डा.केशव पौडेलको नाम पनि चर्चामा छन् भने फोरम नेपालको तर्फबाट प्रभु यादव र अफताव आलमको नाम चर्चामा रहेको सम्बद्ध पार्टी स्रोतले जनाएको छ ।गोरखापत्रबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’