बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ६६ पुग्यो, उद्धारमा करिब १० हजार सुरक्षाकर्मी

केही दिनदेखिको अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६६ पुगेको छ । यसैगरी ५३ जना बेपत्ता र २८ जना घाइते भएका छन् ।
मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानका कारण एक हजार ५०० वटा घरमा क्षति पुगेको छ । तीमध्ये ३५० पूर्ण रूपमा क्षतिग्रस्त भएको, ३४ वटा सरकारी संरचनामा क्षति पुगेको, ३९७ चौपाया मरेको, ३४ हजार ८४३ वटा घर डुबानमा परेको छ ।
बाढीपहिरोबाट मुलुकका करिब २५ वटा जिल्ला प्रभावित भएका छन् । तीमध्ये तराईका ११ वटा जिल्ला अतिप्रभावित भएका छन् । सुनसरीमा आठ जनाको मृत्यु तथा पाँच जना बेपत्ता र रौतहटमा सात जनाको मृत्यु भएको छ ।
त्यस्तै मोरङमा पाँचको मृत्यु तीन बेपत्ता, पाँचथरमा एकको मृत्यु तीन बेपत्ता, झापामा चारको मृत्यु चार बेपत्ता, सर्लाहीमा तीन, बारामा दुई, सिन्धुलीमा चार, धनुषामा एक, पाल्पामा एक, बाँकेमा चार, सुर्खेतमा तीन र कैलालीमा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मकवानपुरमा एकको मृत्यु र एक बेपत्ता, दाङमा दुई बेपत्ता तथा दुई घाइते र बर्दियामा तीनको मृत्यु र तीन जना घाइते भएका छन् ।
तराईका प्रायः सबै स्थान बाढीको चपेटामा परेका छन् । तीमध्ये सुनसरी, मोरङ, सप्तरी, झापा, रौतहट, बारा, चितवन, बाँके, बर्दिया र कैलाली बाढीबाट बढी प्रभावित भएका छन् ।
पहिरोबाट पाँचथर, तेह्रथुम, मकवानपुर, सिन्धुली, पाल्पा, गुल्मी, सुर्खेत लगायतका पहाडी जिल्ला प्रभावित भएको जानकारी पनि गृह मन्त्रालयले दिएको छ । सप्तकोसी र नारायणी नदीको बहाव उच्च रहेकाले सुरक्षित रहन रातो झन्डा तथा साइरन घन्टी बजाएर स्थानीयवासीलाई सचेत गराइएको जनाएको छ ।
खराब मौसमका कारण सैनिक हेलिकोप्टरले उडान गर्न नसक्दा उद्धारमा केही समस्या देखिएको स्पष्ट पार्दै मन्त्रालयले स्थानीय स्रोतसाधन प्रयोग गरी जिल्लामा तैनाथ सुरक्षा निकाय, रेडक्रसका प्रतिनिधि, गैरसरकारी सङ्घसंस्था तथा उद्योगी व्यवसायीहरूसँग आग्रह गरेको छ ।
‘केन्द्रीय कमान्ड पोस्ट’ स्थापना
बाढीपहिरो पीडितहरूको उद्धार तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्री जनार्दन शर्माको संयोजकत्वमा ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन गरिएको छ ।
पोस्ट गठनसँगै बाढीपीडितको उद्धारकार्य चुस्त तथा प्रभावकारी बनाउन र उनीहरूको पुनःस्थापना गरी राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गृहमन्त्री शर्माले आइतबार बाढी प्रभावित बाँके जिल्लाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । बाँकेको राप्ती सुनारी र फत्तेपुरमा पुगेर मन्त्री शर्माले बाढीपीडितसँग छलफल गर्नुभएको उहाँका प्रेस सहयोगी राजेश भण्डारीले जानकारी दिनुभयो ।
उहाँले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्रीका साथै खानेपानी र औषधि उपचार सहितको स्वास्थ्यकर्मीको टोली तत्काल घटलास्थल परिचालन गर्न निर्देशन दिनुभयो । उद्धार तथा पुनःस्थापना कार्यलाई तदारुकतासाथ अगाडि बढाउन मन्त्री शर्माले निर्देशन दिनुभयो ।
मन्त्री शर्मा सोमबार बिहान पूर्वी नेपालका बाढी प्रभावित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ । स्थानीय प्रशासन कार्यालयमार्फत यातायात सेवा सुचारु राख्न, आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाई प्रभावितहरूको सेवामा जुट्न मन्त्रालयले निर्देशन दिएको छ ।
उद्धारमा करिब १० हजार सुरक्षाकर्मी
बाढीपहिरो पीडितहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाका दुईवटा हेलिकोप्टर, मोटरबोट, ¥याफ्टिङ बोट, डोरी तथा ट्युब लगायतका उद्धार सामग्रीसहित नेपाल प्रहरीका पाँच हजार छ सय, सशस्त्र प्रहरीका एक हजार सात सय र नेपाली सेनाका दुई हजार एक सय जना गरी करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाढीपहिरोबाट विस्थापितहरूको तत्काल राहतका लागि सम्बन्धित जिल्लाको जिल्ला दैवीप्रकोप उद्धार समितिहरूबाट आवश्यक खाद्यान्न चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल, नुन, तेल, पानी लगायतका सामग्री खरिद गरी वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट खाद्य सामग्री वितरण गर्ने, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्गलगायत सडक पुलहरू सुचारु गराउने र स्वास्थ्य मन्त्रालयबाट औषधि सहितको स्वस्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाएको जनाइएको छ ।
देशका विभिन्न नदीहरूको जलसतह बढिरहेको र केही नदीको जलसतह खतराको तहभन्दा माथि रहेको हुँदा प्रभावित जिल्लामा रहेका स्थानीय सञ्चार माध्यमबाट सबैलाई सचेत रहन आग्रह गरिएको छ ।  गाेरखापत्रमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’