भरतपुरको पाठ : हार्न लागे मतपत्र च्यात्ने, च्यात्नेलाई दोसल्ला ओढाउने, पुनः मतदान गराउने र जित्‍ने


माथिको फोटो भरतपुरमा मत गन्दै गर्दा च्यात्ने माओवादी प्रतिनिधिहरुको हो। मतपत्र च्यातेर अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि उनीहरुलाई यसरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो। खासमा किन त्यसरी सम्मान गरिएको भन्ने कुरा आज मतपरिणाम सार्वजनिक भएपछि झन् पुष्टि भएको छ। यदि उनीहरुले त्यसरी मत नच्यातेका भए रेणु दाहालको जित आज जसरी भयो, त्यसरी हुन गाह्रै थियो। भरतपुर महानगरपालिकाले लामो समयपछि मेयर त पाएको छ, तर एउटा नजिर पनि स्थापना गरेको छ- कसैलाई जसरी पनि जित्नु नै छ भने रणनीतिक रुपमा हार्न लागेको अवस्थामा मतपत्र च्यात्ने, च्यात्न सफललाई दोसल्ला ओढाउने अनि पुनः मतदान गराउने र जित्ने।

भरतपुरमा जे भयो, त्यो सेटिङ मिलाएर भएको थियो। कानुनको दफा पल्टाई पल्टाई, जानीबुझी, नियतवश नै यस्तो गरेको प्रष्टै भएको छ।

सेटिङ पनि कस्तो हेर्नुस् न- मध्यरातमा सुरक्षाकर्मीहरु सुत्न गएको र निर्वाचन अधिकृत मुत्न गएको बेला पारेर मतपत्र च्यात्ने प्रपञ्च रचियो। निर्वाचन अधिकृत मुत्न गएको कुरा त उनले आफैले भिडियोमा भनेका छन्। यहाँ क्लिक गरी हेर्नुस्। सुरक्षाकर्मी सुत्न गएको चैँ कसले भन्यो भन्नुहोला। नगएको भए बाँदरले झैँ उफ्रेर ९०/९० वटा मतपत्र च्यातुन्जेल बाठाले केरा नहेरे झैँ गर्नुपर्दैनथ्यो? बाँदर कसरी भन्नुहोला? एसपी दीपक थापा आफैले भनेका हुन् (यहाँ हेर्नुस्)। मतपत्र च्यातियो, मतगणना रोकियो। अब के? मतगणना कि पुनः मतदान भनेर देशैभर बहस भयो। कान्तिपुरसहितका पत्रिकाले मतदान हैन मतगणना गर भनेर सम्पादकीय ठोके। तर त्यस्ता सम्पादकीयले केही लछारपाटो लागेन।

कानुनै त्यस्तै बनाएका रहेछन्। कानुनको त्यस्तो छिद्रलाई जानीजानी नियतवश नै उपयोग गरिएको रहेछ। नुन खाएर कानुनको पालना गर्दा दायाँबायाँ गर्न मिल्ने ठाउँ नै रहेनछ। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि यस्तै कानुनको छिद्र कायमै छ। यसलाई पाठका रुपमा लिएर परिवर्तन नगरिए अझै यस्ता घटना भइराख्न सक्छन्।

कसरी सम्भव भयो जित?
जेठ १४ गते। अब अन्तिम दुई वटा वडाको मत गन्न बाँकी थियो। रेणुले मत अन्तर कम गर्दै गएकी थिइन्। वडाहरु कांग्रेसको गढका रुपमा चिनिने नै थिए। वडा नम्बर १९ र २० दुई वडाको मतगणना बाँकी थियो। वडा नम्बर १९ को पहिलो ६ सय मत गन्दा रेणुको अग्रता २० भोटले देखियो। तर समग्रमा देवीको अग्रता ७६४ मतले कायमै थियो। रेणुले अग्रता लिनका लागि देवीले सून्य मत ल्याएर उनले ७६५ मत ल्याउनु पर्थ्यो।

तर स्थिति त्यस्तो देखिएको थिएन। वडा नम्बर १९ को १८०९ भोट गनिसक्दा ७३३ मतले देवीको अग्रता थियो। अर्थात् रेणुले मतअन्तर घटाउँदै त थिइन् तर त्यो पर्याप्त भइरहेको थिएन। १९ वडामा २८६० र २० वडामा ३३०२  गरी जम्मा ६१६२ भोट रहेको थियो। प्राविधिक रुपमा देवी र रेणु मध्ये जसले पनि जित्न सक्ने अवस्था थियो। तर अघिका ट्रेन्डहरु हेर्दा व्यवहारिक रुपमा रेणुले अग्रता लिन सक्ने सम्भावना कमै थियो। जे होस् हारजित थोरै मतअन्तरले हुने भने निश्चित जस्तै नै थियो।  १९ वडाको मतगणना अन्तिम तिर पुग्न लाग्दा मतअन्तर घट्दै गएकोले दुवैतिर तनाव थियो। एक एक भोटको महत्व थियो। यसैमा पाँच वटा जति मतपत्रमा स्वस्तिक चिह्न लतपतिएको देखियो। त्यो गन्ने कि नगन्ने भन्नेमा विवाद भयो। पौने १२ बजे भएको त्यही विवादपछि मतपत्र च्यातियो। जसले मतपत्र च्याते, रणनीतिक हिसाबले च्यातेका थिए। जसको पुष्टि अदालतले एक एक लाख धरौटीमा रिहा गरेपछि च्यात्नेहरुले दोसल्ला ओढेको फोटो फेसबुकमा गर्वका साथ राखेकोबाट हुन्छ।

जब पुनः मतदान भयो, वडा नम्बर १९ को मतगणना शनिबार बिहान सकिँदा देवी ज्ञवालीको अग्रता २२१ ले मात्र रह्यो। यो हिसाबले लगभग ५ सय मतको फाइदा रेणुलाई भएको देखिन्छ।

यद्यपि वडा नम्बर १९ को मतगणना सकिसक्दा पनि देवी ज्ञवालीको अग्रता कायमै थियो। तर पासा पल्टाउने काम गर्‍यो वडा नम्बर २० का ३३ सय मतले।

वडा नम्बर २० को मतगणनामा रेणुले मतअन्तर घटाउँदै लगिन्। आधा मत गनिसक्दा रेणु र देवीको मत बराबरमा आयो। बाँकी आधा मत गन्न थालेपछि भने रेणुको अग्रता रह्यो। यो अग्रता कायमै रहेकोले धेरैले सोचे जस्तो दुई अङ्कको नभई तीन अङ्कको मतअन्तरमा रेणु दाहालको विजय सम्भव भयो। रेणु २०२ मतले विजयी भइन्।यो ब्लग मार्ईसंसारबाट साभार गरिएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम