यसरी दर्शकको मन जित्दैछ चलचित्र ‘प्रेमगीत २’ ले


कुनै पनि चलचित्र उत्कृष्ट बन्नका लागि यसका विविध तत्त्व उत्तिकै प्रभावकारी हुनुपर्छ । चलचित्रमा राम्रा पक्ष हावी रहेमा दर्शकले स–साना त्रुटिलाई खासै महत्त्व दिँदैनन् । त्यसैपनि नेपाली चलचित्र त्रुटिरहित हुन्छ भन्ने कुरालाई दर्शकले पत्याउन छोडिसकेका छन् । ‘प्रेमगीत २’ पनि यस्तै स–साना त्रुटि बोकेको एउटा आशालाग्दो चलचित्र हो ।

म्यानमार, थाइल्यान्ड, रारा, पोखरा लगायतका स्थानमा छायांकन गरिएको चलचित्र ‘प्रेमगीत २’ ले कथालाई पछ्याउने दर्शकलाई विभिन्न रमणीय स्थानमा घुमाइरहन्छ ।

चलचित्रको कथा सामान्य छ । म्यानमार (बर्मा) मा बस्ने नेपालीभाषी युवती गीत (अश्लेषा ठकुरी) त्यहाँ आफ्नो पढाइ पूरा गरेपछि परिवारको असहमतिमै नेपाल घुम्न आउँछे । गीतले परिवारलाई छोडेको पत्र हेरेर उसको परिवारले नेपालका आफ्नो बिजनेस पार्टनरलाई गीतलाई नेपाल घुमाइदिन भन्छ ।

prem_geet_2_oQ9YGq9m9i

यही दौरानमा गीतको भेट आफ्नो काकाको साथीको छोरा प्रेम (प्रदीप खड्का) सँग हुन्छ । आमाले फुर्क्याउँदैमा फुरुक्क हुने प्रेमलाई नेपालका विभिन्न ठाउँमा घुमाइदिने बाध्यता आइपर्छ । आफूलाई समेत थाहा नभएका आफ्नै देशका विभिन्न स्थानमा प्रेमले गीतलाई घुमाउँछ ।

यही घुमघामले नजिक बनाएको प्रेम र गीतको परिचय कसरी मायामा बदलिन्छ र त्यसपछि के हुन्छ भन्ने बुझ्नका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ ।

प्रेमकथा रुचाउने दर्शकका लागि ‘प्रेमगीत २’ राम्रै खुराक बन्न सक्छ । सिनेमाटोग्राफीले फिल्मलाई आकर्षक बनाएको छ । फिल्मकै माध्यमबाट राराको मनमोहक दृश्य, थाइल्यान्डका आकर्षक गन्तव्य र लुम्बिनीका रमणीय स्थलहरूको आनन्द दर्शकले उठाउन पाउँछन् ।

चलचित्रमा प्रदीप खड्का आकर्षणका केन्द्र बनेका छन् । उनको अभिनयले दर्शकमा एक प्रकारको ‘इमोसन’ जगाइराख्छ । म्यानमारकी युवतीको भूमिकामा अश्लेषा ठकुरी सुहाएकी छन् । तर उनको अभिनय केही कच्चा भने लाग्छ ।

त्यसो त निर्देशकले अश्लेषाको भूमिका र पात्रको चरित्रलाई त्यसरी नै विकास गर्न खोजेका हुन सक्छन् । तर उनको अभिनयले दर्शकको चित्त बुझाउन सक्दैन । फिल्मको दोस्रो भागमा आइपुग्दा भने उनको अभिनय केही सुधारिएको छ । अभिनयमा केही असहज देखिएपनि दर्शकले गीत अर्थात् अश्लेषालाई म्यानमारबाटै आएकी युवती सम्झिन्छन् । यस अर्थमा निर्देशक रामशरण पाठकले पात्रको चरित्रलाई ख्याल गरेका छन् ।

निर्माता हुँदै अभिनयमा  खलनायक डेब्यु गरेका सन्तोष सेनले आफ्नो भूमिकालाई न्याय गरेका छन् । फिल्मका अन्य कलाकारको अभिनय पनि पात्रअनुसार फिट छ ।

फिल्मको कथानक र संवादले दर्शकलाई जुरुकजुरुक नबनाएपनि दिक्क भने लगाउँदैन । केही संवाद क्याची छन् । अश्लेषाले प्रयोग गर्ने थेगो ‘ए बोजु’ र अतिथि भूमिकामा देखिएका राजाराम पौडेलले प्रयोग गरेको थेगो ‘कुरो बुझियो’ दर्शकलाई आकर्षक लाग्छन् ।

चलचित्रको सिनेमाटोग्राफी र पार्श्व ध्वनिले फिल्मलाई अझै राम्रो बनाएका छन् । फिल्ममा देखिने विभिन्न दृश्य र क्यामेराका ‘वाइड शट’ ले फिल्मलाई हेर्नलायक बनाएको छ । फिल्मको गीत संगीतले पनि दर्शकको मन छुन्छ ।
तर चलचित्रका केही पक्ष भने दर्शकलाई भारी लाग्छ । अश्लेषा ठकुरीको अभिनय र हाउभाउ घरीघरी नसुहाउँदो लाग्छ । बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्दा अश्लेषाले देखाउने प्रतिक्रिया अस्वाभाविक लाग्छ । त्यस्तै फेसबूकमा एड गर्नका लागि गरिरहने आग्रह पनि त्यति जरूरी देखिँदैन किनकि त्यतिबेलासम्म प्रेम गीतको साथी बन्न चाहिसकेको छ ।

चलचित्रको अन्त्य नाटकीय बनाउन खोजिएको कि वास्तविक बनाउन खोजिएको भन्नेमा दर्शक आफैं अलमल पर्छन् । युवतीसँग टाढिन मात्र खोज्ने युवा कसरी एकैछिनमा गीतको प्रेममा पर्छ ? निर्देशकले पात्रको दोहोरो चरित्रलाई धमिलो छोडिदिएका छन् । प्रेमका लागि ओजिला कारणको आवश्यक थियो जुन फिल्ममा पर्याप्त छैन । यसअर्थमा कथावस्तु औसत छ, शक्तिशाली भन्न मिल्दैन ।

स–साना कमजोरी प्रशस्तै छन् फिल्ममा ।

प्रेमकथा रुचाउने दर्शकका लागि फिल्म राम्रो छ । फिल्ममा हिरोले आफ्नो प्रेमप्राप्तिका लागि गुण्डालाई ढलाउँदैन । फिल्म हेरिसक्दा दर्शकले कलाकारप्रति सम्मान राख्छन् । सिनेमाले मनोरञ्जनको प्याकेजमार्फत दर्शकलाई राष्ट्रियताको आवाजसँग जोड्न खोजेको छ ।

फिल्म :प्रेमगीत २
कलाकार: प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, राजाराम पौडेल
निर्देशक: रामशरण पाठक
विधा: रोमान्टिक
रेटिङ ३/५

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?