नमागिएको सुझाव आरजु म्याडमलाई

 देवप्रकाश त्रिपाठी

सुझाव–सल्लाह दिने कार्यलाई हाम्रो समाजमा सजिलो मानिन्छ, तर नमागीकन सुझाव दिनु या दिन खोज्नुलाई चाहिँ अनुचित ठानिन्छ । वास्तवमा जतिसुकै सजिलो काम ठानिए पनि ठीक समयमा सही सुझाव दिन विशेष क्षमताको अपरिहार्यता रहन्छ । खासगरी सार्वजनिक जिम्मेवारीको महत्वपूर्ण हैसियतमा रहेका व्यक्तिलाई सुझाव दिने कार्य सर्वाधिक कठिन मानिन्छ, किनभने पहिलो कुरा, उनीहरूमा ‘सकारात्मक’ मात्र सुन्ने संस्कार बसिरहेको हुन्छ, नकारात्मक सुन्न मन पराउँदैनन् । त्यसैले शक्तिशाली मानिसलाई निर्भयका साथ सुझाव दिन या आलोचनात्मक टिप्पणी गर्न पनि ठूलै साहस गर्नुपर्ने हुन्छ । भय र लोभमुक्त नभएसम्म सही सल्लाह दिन सकिँदैन । दोस्रो, सल्लाह दिने व्यक्तिमा पनि ठीक समयमा उचित सल्लाह दिन सक्ने क्षमता हुनुपर्छ । सबैभन्दा ठूला गल्ती त्यस्ता मानिसबाट हुन सक्छ जो राज्यसत्ताको केन्द्रबिन्दुमा हुन्छन् ।

सत्ता केन्द्रमा रहेका मानिसबाट हुने गल्तीको आयतन तथा समयदूरी फराकिलो हुन सक्ने र त्यसको असर लाखौँ–करोडाँै मानिसलाई पर्ने भएकोले राम्रो या सही सुझावको दरकार तिनैलाई आवश्यक हुने हो । दुर्भाग्यवश शक्तिशाली मानिस आफूलाई सर्वज्ञाता ठान्छन् र कसैको सुझाव–सल्लाहको आवश्यकता महसुस गर्दैनन् । त्यस्ता व्यक्तिको सोचअनुरूप सुझाव दिन सक्ने (जसलाई चाटुकार भनिन्छ) मानिस मात्र शक्तिशालीका आँखामा सही र प्रिय बन्न सक्छन् । तात्कालिक राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला र प्रचण्ड (प्रधानमन्त्री रहँदा) शक्तिशाली भूमिकामा रहेका बेला तिनलाई सुझाव दिने क्रममा हामीलाई महसुस भएको अनुभूतिका आधारमा पनि यसप्रकारको निष्कर्ष निकालिएको हो ।

सत्तामा रहँदा अधिकांशलाई सबैभन्दा राम्रो, असल, ज्ञानी, गुणी र दूरदर्शी आफैँ हुँ भन्ने लाग्छ । पदासीन व्यक्तिका दृष्टिमा बाँकी सबै मानिस आफूभन्दा दुर्बल, कमजोर र क्षमताहीन हुन्छन् । कदाचित कुरा सुनेजस्तो गरेछन् भने पनि शक्तिवानहरूले ग्रहणचाहिँ गरिरहेका हुँदैनन् भन्ने जानकारी हुँदाहुँदै पनि ‘फस्र्ट लेडी’ म्याडम आरजु राणा देउवालाई उनले नमागेको र सुन्न नचाहेको सुझाव प्रस्तुत गर्ने धृष्टता यहाँ गरिएको छ ।

सत्ता–उन्मादले गर्दा चाहेको र आफूले सोचेकोभन्दा भिन्न कुनै कुरा नसुन्ने ‘उचाइ’मा पुगिसकेकी आरजुलाई यस्तो अवस्थामा सुझाव दिनु भनेको बुचरका अघिल्तिर उभिएर खसी–बोकाले घरमा हतियार नराख्न या तरबारमा धार नलगाउन सुझाव दिनुजस्तै हो । तथापि उनलाई ठीक समयमा उचित सुझाव नदिँदा उनको आफ्नो पति, काङ्गे्रसको सभापति, काङ्गे्रस पार्टी र जनतालाई समेत गम्भीर असर पर्न सक्ने पक्षलाई दृष्टिगत गरी ‘म्याडम’ आरजुलाई सुझाव दिन खोजिएको हो । आरजु राणा आफ्नो विषयमा राम्रो ज्ञान राख्छिन्, वाक्पटुता, चातुर्य र मधुर वाणीमा पनि उनी अब्बल मानिन्छिन् । सभ्य र शालीन छिन्, सामान्य मानिसभन्दा उनी कैयन दृष्टिले असामान्य छिन् । उनको अन्तर्राष्ट्रिय सम्पर्क–सम्बन्ध पनि राम्रो मानिन्छ, तर उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएको स्मरण गरिँदैन । काङ्गे्रसका शेरबहादुर देउवालाई पूरै आफ्नो बनाए पनि उनी स्वयम्लाई चाहिँ काङ्ग्रेसले आफ्नो ठान्न खोजेको र सकेको छैन ।

मंगलादेवी काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी पत्नी थिइन्, तर उनी पत्नी मात्र थिइनन् । नेपालको महिला आन्दोलनकी अग्रणी नेतृ थिइन् । घरभित्रको चुलो–चौको, बेड र बगैँचामा मात्र नभई आन्दोलनको मैदानमा समेत मंगला गणेशमानको सहयोगी थिइन् । प्रजातन्त्रका लागि लड्दा मंगलाले पटक–पटक जेल यातना पनि भोगेकी हुन् । तर, प्रजातन्त्र स्थापनापछि मंगलादेवीले काङ्गे्रसको टिकट लिएर उम्मेदवार बनेको जनतालाई मन परेन, निकै आलोचना भयो र निर्वाचनमा पराजित गरिदिए । मंगलालाई मानिसले गणेशमानजीको पत्नीका रूपमा जति सम्मान गर्थे त्यति सम्मान उनको बेग्लै भूमिकाको लागि समकालीन समाजले गर्न चाहेन ।

त्यसैगरी डा. बाबुराम भट्टराईकी पत्नी हिसिलाको पनि नेपाली राजनीतिमा विशिष्ट योगदान छ । भट्टराईसँगै हिसिला ज्यान र भविष्य जोखिममा राखेर हिंसात्मक युद्धको मैदानमा उत्रिएकी हुन् । निकै दुःख, कष्ट र सकस भोगेकी छिन् उनले बाबुरामकी पत्नी भएबापत । तर, जब सहज परिस्थिति बन्यो र बाबुराम भट्टराई शक्ति र लोकप्रियताको उचाइमा पुगे, त्यसबेला बाबुरामको बीचमा हिसिला आएको मानिसले मन पराएनन् । शक्तिशाली बाबुरामका अघिल्तिर हिसिलाको सङ्घर्ष र समर्पण सबै फिका भए, मानिसले हिसिलाको नाम लिएर बाबुरामको व्यक्तित्वमा लागेको ग्रहणसम्म भन्न भ्याए ।

बिन्नी, मंगला र हिसिलाहरूलाई झैँ आरजुलाई ‘सङ्घर्ष’ले चिन्दैन, चिन्नेहरूले विषयविज्ञ, एक प्रतिभाशाली महिला र शेरबहादुर देउवाकी पत्नीका रूपमा मात्र चिनेका छन् र सलाम ठोकेका छन्, अघिपछि लागेका छन् । आरजुले कतिबेला दिनलाई रात भन्लिन् र ‘यो रात मात्र होइन मध्यरात नै हो’ भन्ने भक्तिगान गाएर देवीलाई प्रसन्न तुल्याउँदै बरदान माग्न उनका वरिपरि अनेक आकार–प्रकारका मानवरूपी प्राणीहरू लामबद्ध छन् ।

विश्वप्रसिद्ध दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले आफ्नो जीवनको महत्वपूर्ण मानिने समयमा सत्ताइस वर्ष जेलमा बिताउनुप¥यो । उनकी पत्नी बिन्नीले पतिलाई सधैँ एकाकार भएर सहयोग पु¥याइन् । सहयोग पु¥याउनु बेग्लै पक्ष, अनिश्चितकालका लागि जेल परेका व्यक्तिलाई प्रतीक्षा मात्र गर्न सक्नुलाई पनि धेरै ठूलो समर्पणका रूपमा लिन सकिन्छ । तर, जब रङ्गभेदविरोधी आन्दोलन सफल भएर मण्डेला सत्ता र लोकप्रियताको शिखरमा पुगे, त्यसपछि त्यहाँका मानिसले मण्डेलाको बीचमा बिन्नीलाई हेर्न चाहेनन् । बिन्नीको व्यापक बदनाम गरियो, उनी विवादमा परिन् या विवादमा पारियो । बिन्नीको चुरीफुरी बढेको ठान्नेहरूले मण्डेलासमक्ष बारम्बार गुनासो गर्न थालेपछि रामले सीतालाई परित्याग गरेझैँ मायाप्रिती हुँदाहुँदै पनि मण्डेलाले उनीसँग सम्बन्धविच्छेद गर्नुपरेको थियो । जनताको भावना बुझेर राजनीतिक अगुवाले व्यवहार गर्नुपर्छ भन्ने कुराको दृष्टान्त कि रामले स्थापित गरेका थिए कि मण्डेलाले गरेका हुन् ।

यसरी सङ्घर्ष, सास्ती र सकसको समयमा हरतरहले साथ दिने ‘पत्नी’हरूलाई त जनताले ‘बीचमा आएको’ देख्न चाहेका थिएनन् भने आरजु म्याडमलाई त प्रजातन्त्र, सङ्घर्ष र काङ्गे्रससँग कुनै नाता–साइनो नगाँसिएकी, अनायासै भाउजू बनेर भित्रिएको ठानिन्छ । त्यसैले आफू कुन रूपमा प्रस्तुत हुने भन्ने विषयमा गम्भीरतापूर्वक शान्त चित्तले सोच्न जरुरी छ । आफ्ना वरिपरि निरन्तर लागिरहने झुन्डबाट उत्प्रेरित भएर सपनाको जिन्दगी बाँच्नुभन्दा झुन्डबाहिरको संसार हेरेर विपनाको जीवन जिउनु हरदृष्टिले उपयुक्त हुनेछ । बिन्नी, मंगला र हिसिलाहरूलाई झैँ आरजुलाई ‘सङ्घर्ष’ले चिन्दैन, चिन्नेहरूले विषयविज्ञ, एक प्रतिभाशाली महिला र शेरबहादुर देउवाकी पत्नीका रूपमा मात्र चिनेका छन् र सलाम ठोकेका छन्, अघिपछि लागेका छन् । आरजुले कतिबेला दिनलाई रात भन्लिन् र ‘यो रात मात्र होइन मध्यरात नै हो’ भन्ने भक्तिगान गाएर देवीलाई प्रसन्न तुल्याउँदै बरदान माग्न उनका वरिपरि अनेक आकार–प्रकारका मानवरूपी प्राणीहरू लामबद्ध छन् । जब कोही पनि मानिस चर–अनुचरहरूको घेरामा पर्छ तब उसले सत्यबोध गर्न सक्दैन । सत्यबोध हुँदा राजा ज्ञानेन्द्रझैँ खाडलमा परिसकिएको हुन्छ, त्यसबेला बाहिर निस्कन निकै कठिन हुन सक्छ ।

प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, त्यस क्रममा गरेको सङ्घर्ष र भोगेको सास्ती तथा समग्र पृष्ठभूमिका आधारमा हेर्दा शेरबहादुर देउवा धेरै माथिल्लो स्तरमा छन् भन्नुपर्ने हुन्छ । तर, योग्यता, कार्यक्षमता, चातुर्य र प्रतिभाका आधारमा पति देउवाभन्दा धेरै अगाडि छिन् पत्नी देउवा । जतिसुकै योग्य र क्षमतावान भए पनि शेरबहादुर देउवाको बीचमा आएकोचाहिँ आममानिसले मन पराएका छैनन् । यदि मदन भण्डारीकी पत्नी विद्याले झैँ आफूलाई छायामा राख्न आरजुले सकेको भए उपयुक्त समयमा उनको नाम देउवाको उत्तराधिकारीका रूपमा लिन सम्भव थियो । आहिले अलिकति महत्वाकाङ्क्षी व्यक्तित्व प्रकट हुँदा देउवाको बर्बादीको एक मूल कारणका रूपमा ‘आरजु’ नाम लिन थालिएको छ । नगदसँग निकटतम् सम्बन्ध कायम भएकी एक अति महत्वाकाङ्क्षी महिलाका रूपमा आरजुको नाम फैलिएको छ । यसैलाई सफलता ठानेर रमाइरहेको अवस्था हो भने आरजुले अरू केही काल रमाउँदा भयो, होइन भने उनले आफ्नो शैली र भूमिका परिवर्तन गर्नु राम्रो हुन्छ । कुनै समयका (विवाहभन्दा अघिका) जनप्रिय शेरबहादुर देउवालाई आमजनता र कार्यकर्ताबाट टाढा पुर्‍याएको, आर्जन तथा सङ्ग्रहमा दुर्बल देउवालाई मदारीले ‘बाँदर नचाएर’ जीविकोपार्जन गरेको शैलीमा आर्जन र सङ्ग्रह गर्ने गरेको भन्नेसमेतका टिप्पणी आरजु म्याडमको नाम लिएर जनस्तरमा हुन थालेको छ ।

विद्या भण्डारी यतिबेला राष्ट्रपति छिन् । यिनै विद्या पञ्चायतविरोधी सङ्घर्षमा सक्रिय र समर्पित थिइन् । सङ्घर्षकै मैदानमा मदन भण्डारीले भेटेर उनलाई जीवनसाथी अपनाएका हुन् । मदनसँगको वैवाहिक जीवन आरम्भ भएपछि उनी माले–एमाले बनेकी होइनन्, बरु वैवाहिक जीवनपछि विद्या सक्रिय राजनीतिबाट केही पछि हटिन् र मदनको दैनिक जीवनमा एक कुशल सहयोगी–गृहिणी भूमिकामा आफूलाई सीमित गरिन् । मदनको सफलताबाहेक आफ्नो बेग्लै महत्वाकाङ्क्षा भएको आभाससम्म कहिल्यै दिइनन् विद्याले । शक्तिशाली मदनको कमजोर गृहिणीका रूपमा विद्या बाँचेकी थिइन् । तर, मदनको अवसानपछि मानिसले विद्यालाई चुलोबाट बाहिर निकालेर पटक–पटक निर्वाचन जिताए र राष्ट्रपतिसम्म बनाए । मदन भण्डारी शक्तिशाली रहेका बेला विद्या भण्डारीले चुरीफुरी देखाएको भए सम्भवतः उनको बदनामी निश्चित थियो । घाम नबनेर छाया बन्न सक्ने क्षमता देखाउनुको उपहार अहिले विद्या भण्डारीलाई प्राप्त भएको छ । तर, आरजु म्याडमले छाया बनेर रहने इच्छा राखिनन्, घाम बनेर प्रस्तुत हुने स्वभाव–चरित्रले उनलाई देउवाको उत्तराधिकारी बनाउने सम्भावनामा ह्रास ल्याएको छ । खुद शेरबहादुर देउवा पनि कुनै बेला सबै नेताहरूको ‘छाया भूमिकामा अब्बल’ ठहरिएपछि मात्र ‘सर्वोच्च’ नेताको आजको हैसियतमा पुग्ने ढोका खुलेको हो ।

सभापति देउवालाई भन्दा बढी पति देउवालाई सघाएको देख्दा नेपाली समाज आरजुका प्रति उदार तथा सहानुभूतिशील बन्न सक्छन् । सभापति देउवा सार्वजनिक जिम्मेवारी निर्वाह गर्न स्वतन्त्र रहेको सन्देश जाँदा त्यसको लाभ पनि म्याडम आरजुलाई नै पुग्ने हो । देउवाको भन्दा बेग्लै महत्वाकाङ्क्षा नदेखाउँदा, उत्तराधिकारी बन्न खोजेको सङ्केतसम्म नदिँदा र धन आर्जनका लागि आफ्नो वरिपरि अहोरात्र झुम्मिएका मानिसलाई पन्छाउन सक्दा पनि राजनीतिक रूपले लाभ आरजुलाई नै पुग्ने निश्चित छ । आफूले राम्रो गर्न खोज्दा या गरिरहँदा पनि मानिस किन मेरो परख गर्दैनन् भन्ने आरजु म्याडमलाई लागिरहेको छ भने उनले बुझ्नुपर्छ– यो देशका मानिस त्यति कृतघ्न छन्, जो नेपाली भएकोमा गौरव गर्छन् र नेपाल देशको स्थापना गरेर हामीलाई नेपाली बनाउने पृथ्वीनारायण शाहलाई चाहिँ तथानाम गाली गर्छन् । जंगबहादुर राणा, चन्द्रशमशेर र राजा महेन्द्र पनि देशको सार्वभौमसत्ता र राष्ट्रियता सुदृढ बनाउन विशिष्ट योगदान पु¥याएबापत ‘आलोच्य’ बनेका छन् । यस्तो मुलुकमा राम्रो गरेबापत उच्च मूल्याङ्कन र प्रशंसा मात्र हुन्छ भन्ने नसोच्न पनि आरजु म्याडमलाई सुझाव दिइन्छ ।घटना र बिचारबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’