अख्तियारको हिरासतमा दुई सह–सचिव: एक जनामाथि १० अर्बको आरोप, अर्कामाथि १० हजार !


काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत टंगालमा यतिवेला दुई जना सहसचिवहरू थुनिएका छन् । एकजनालाई करमिनाहा गरी भ्रष्ट्राचार गरेको आरोपमा र अर्कालाई घूस खाएको आरोपमा अख्तियारले समातेको हो ।

दुबै जना एउटै हिरासतमा थुनिएका छन् । तर अनौठो के छ भने एक जना १० अर्बभन्दा बढीको रकम भ्रष्ट्राचार गरेको आरोपमा थुनिएका छन् । अर्का चाहिँ १० हजार रुपैयाँ घुस खाएको आरोपमा थुनामा छन् ।

आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चूडामणि शर्मालाई कर फस्योट आयोग मार्फत अबौं रुपैयाँ कर छूट दिइ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले कार्यालयबाट पक्राउ गरेर लग्यो ।

हालसम्मका फाइल खोल्दा शर्माले कर फर्स्योट अयोग मार्फत १० अर्व बढी रकम हिनामिना गराएको आरोप अख्तियारले लगाएको छ । उक्त रकम उनी एक्लैले अपचलन गरेका चाहिँ होइनन् ।

कर फर्स्योट आयोगका अन्य दुई सदस्य अमेरिका पुगेर लुकेपछि उनी अहिले अख्तियारको थुनामा छन् । शर्मा सहित तीन जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

कर फर्स्योट आयोग मार्फत ब्यापारीहरुसँग मिलेमतो गरेर अर्वौं रकम छुट दिएको आरोपमा शर्मा पक्राउ परेका हुन् ।

तर शर्मालाई गैह्र कानूनी हिसावले थुनारामा राखेको भन्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि मुद्दाले अहिले अर्कै रुप लिएको छ ।

शर्मा अख्तियारकै हिरासतमा भएपनि उनी विरुद्ध दायर भएको मुद्दालाई यथास्थितिमै राख्न सर्वोच्चले विशेषलाई परमाआदेश दिएको छ ।

सर्वोच्चले बृहत पूर्ण इजलास मार्फत यो मुद्दाको अन्तिम फैसला गर्ने तयारी गरेको छ । हाल यो मुद्दाको पेसी हेर्दा हेर्दैको अवस्थामा राखिएको छ । अदालतमा मुद्दाले अर्कै रुप लिएको भएपनि शर्माले चाहिँ अख्तियारकै चिसो भूइँमा रात विताइरहेका छन् । सहसचिव शर्मा आन्तरिक राजश्व विभागका महानिर्देशक थिए ।

अख्तियारले सोमवार शर्माकै हैसियतका अर्का सह सचिवलाई पनि पक्राउ गरेको छ । तर शर्माको तुलनामा उनको अवस्था चाहिँ ‘विचरा’ छ ।

अख्तियारले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंहलाई १० हजार घुस सहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

विभागका एक कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा अंक बढाइदिए वापत उनले १० हजार घुस लिएको आरोप लगाउँदै अख्तियारले समातेको हो ।

‘शर्मा र सिंह दुबैमाथि अनुसन्धान भइरहेको छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीवराज कोइरालाले भने, ‘शर्माको मुद्दा त अदालत प्रवेश गरिसकेको छ । सिंहलाई चाहिँ घुस लिइरहेको बेला अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।’ सिंह यसअघि क्षेत्रीय स्वास्थ्य कार्यालय हेटौंडामा कार्यरत थिए ।

१० हजार घुस लिएको हो कि होइन भन्ने विषयमा अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । सानै रकम घुस खाएको भएपनि उनले पनि अख्तियारको चिसो भूइँमा एक रात विताइसकेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम