साँसदको आँखा कृषि यान्त्रिकरणमा पनि

krishi yantrikaran

पर्वत/हरेक सांसद समक्ष विकासको योजनाको रुपमा सडक, खानेपानी, बिद्युतीकरण, सिंचाईलगायतका माग बढी आउने गर्छन । कृषि क्षेत्रको विकास र कृषिलाई यान्त्रिकरण गर्नका लागि कुनै माग सम्भवत आउदैन । गाउँका युवाहरु रोजगारीका लागि पलायत हुने, खेतीयोग्य जमिन बाँझो हुँदै गएपछि पर्वत–१ का सांसद अर्जुनप्रसाद जोशीले कृषि क्षेत्रको विकास र कृषिलाई यान्त्रिकरण अभियान चलाएका छन् ।
उनले बाँझो रहेको जमिनलाई अन्नबाली उत्पादनतर्फ आकर्षित गराउन गाउँगाउँसम्मका कृषकलाई सहुलियतमा कृषि यन्त्रहरु बितरण थालेका हुन । ‘म पर्वत १ को सांसद भएको १७ बर्ष भयो तर अहिलेसम्म कुनैपनि किसानले कृषिलाई यान्त्रिकरण गर्नका लागि योजना मागेको छैन’ उनले भने–‘गाउँगाउँमा बाझो जमिन बढ्न थालेपछि कृषि उत्पादनमा जोड दिनका लागि सहुलियतमा कृषिसम्बन्धी यन्त्र बितरण थालेको हु ।’
उनले सांसद क्षेत्र पूर्वाधार कोषबाट चालु आर्थिक बर्षमा १० लाख रुपैयाँ कृषि यान्त्रिकरण र आयआर्जनमा बजेट बिनियोजन गरेका छन् । उक्त रकमबाट मिनि पावरटेलर (हलो), पशुसम्बन्धी रोग पत्ता लगाउन गोबर जाँचयन्त्र, कुटानी पिसानी मिल लगायत सहयोग गरेका छन् । जिल्ला कृषि विकास कार्यालयमार्फत खरिद गरेर आइतबार कृषकहरुलाई हस्तान्तरण गरिएको हो ।
कृषि कार्यालयको आग्रहमा कृषकलाई कृषि यन्त्र बितरण गरेको सांसद जोशीले बताए । ‘अहिलेसम्म कुनैपनि जनताले कृषि सम्बन्धी योजना ल्याउने गरेका थिएनन्, सबैले सडक, बिजुलीका पोल, सिंचाई, तारजाली मात्रै माग गर्थे तर आज बितरणमा देखिएको कृषकको उत्साहले आगामी बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकता दिने सोच बनाएको छु’ उनले भने । उनले अगामी आर्थिक बर्ष कृषि यान्त्रिकरणका लागि सांसद क्षेत्र पूर्वाधारको ५० लाख रुपैयाँ बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।
बर्षभरी गोरु पालेर खेतीकिसानी गर्दै आएका कृषकहरु पावर टेलर (हलो) पाएपछि खुशी भएका छन् । ‘बर्षभरी गोरु पाल्नुपर्ने समस्या अब अन्त्य भएको छ’ अन्यचौर कृषि समुह लेखफाँटकी अमृता पौडेलले पावर टेलर बुझ्दै भनिन्–‘गोरु पाल्नुपर्ने समस्याले जमिन बाँझो राख्नुपर्ने अवस्था अब अन्त्य भएको छ ।’ अमृताजस्तै खुर्कोटका रमाकान्त उपाध्याय र भुकताङलेका ढाकाबहादुर क्षेत्री पनि मिनि पावर टेलर पाएपछि हर्षित देखिए । ‘कृषिमा भएको यान्त्रिकरणले हामीलाई खुशी बनाएको छ’ ढाकाबहादुर क्षेत्रीले भने ।
जिल्ला कृषि विकास कार्यालय प्रमुख बासुदेव रेग्मीले सांसद समक्ष कृषिलाई यान्त्रिकरणका लागि माग गरेपछि खुशी भएर बजेट बिनियोजन गर्न सहमत भएको बताए । ‘हामीले प्रस्ताव राख्दासाथ धेरै राम्रो काम भनेर सांसद जोशी सहमत हुनुभयो’ रेग्मीले भने । सांसद क्षेत्र पूर्वाधार विकासको रकमबाट खरिद गरिएका कृषि यन्त्र ५० प्रतिशत रकम छुटमा कृषकलाई बितरण गरिने उनले जानकारी दिए ।
‘एउटा पावर टेलरलाई हामीले ७५ हजारमा खरिद गरेका हौ, किसानबाट ३७ हजार पाँच सय रुपैयाँ लिएर प्रदान गर्छौ’ उनले भने । ५० प्रतिशत छुटमा कृषि यन्त्र पाएपछि कृषकहरु खुशी भएका छन् । गाउँगाउँमा पावर टेलर बितरण भएपछि बाँझो रहेको जमिनमा समेत अन्नबाली उत्पादन सुरु हुने अपेक्षा राखेको रेग्मीले बताए ।
यसैगरी सांसद जोशीले युवाहरु गाउँबाट पलायन भएको अवस्थालाई ध्यानमा राखेर कुटानी पिसानी मिल, सिलाई मेसिनमा समेत लगानी गरेका छन् । तीन वटा कुटानी पिसानी मिल जिल्ला कृषि विकास कार्यालय र १० वटा सिलाई मेसिन सीप तथा ब्यावसायिक तालिम केन्द्र कुश्मामार्फत बितरण गरिएको सांसद जोशीले जानकारी दिए । ‘गाउँगाउँसम्म सडक, बिजुली, सिंचाई पुगिसकेको छ अब मैले गाउँमै बसेर आयआर्जन हुने योजनामा लगानी गर्ने तयारी गरेको छु’ उनले भने ।
समाप्त फागुन २९

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए