प्रत्यक्षदर्शी पत्रकारको रिर्पोट –‘एमाले संयम नभएको भए ठूलो दुर्घटना’

rajbiraj 1२१ फागुनदेखि पूर्वको काँकडभिट्टाबाट नेकपा (एमाले) ले निकै उत्साहका साथ सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान सप्तरीसम्मको यात्रा तय गरेपछि निकै पीडादायी बन्न पुग्यो । तत्कालीन पञ्चायती शासकले झापा आन्दोलनका पाँच योद्धालाई हत्या गरेकै दिन पारेर ती सहिदहरुका स्मृतिमा प्रारम्भ भएको अभियान सप्तरीको राजविराजमा केहीको मृत्यु भएपछि तीन दिनका लागि स्थगन भएको छ ।

तराई–मधेसमा एमाले कमजोर बनेको र मधेसका जनताको हृदयबाट एमाले धुमिल बन्दै गएको भन्ने भ्रमले व्यापकता पाइरहेकै बेला एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सुरुवात गरेको थियो । र, इनरुवामा मधेसी मोर्चाका केही कार्यकर्ताहरुले कालो झन्डा देखाउनु बाहेक कोसी व्यारेज कटेर पश्चिम नकटुन्जेलसम्म एमालेको अभियानले मधेसको भूभागमा बेग्लै रौनकता र चमकसमेत दिलाएको थियो ।

त्यतिमात्र होइन, चरम गुटबन्दीका कारण एमाले कमजोर बन्दै छ भन्ने हल्ला अनावश्यक रुपमा तन्किरहेकै बेला शीर्षस्थ नेताहरुसहितको टोली मधेसमा झरेपछि एमालेलाई माया गर्ने लाखौँ कार्यकर्तामा उत्साह छाएको थियो, उनीहरुले खुसीको सास फेर्न पाएका थिए ।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्षहरु वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोख्रेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतको टोली एउटै मञ्चमा हाँसीखुसी बसेका देख्दा कार्यकर्ताहरु पनि पुलकित भएका थिए ।

जनताकै गास, जनताकै घरको बास गर्दै काँकडभिट्टादेखि इटहरीसम्म आइपुग्दा चोक–चोक, गल्ली–गल्लीमा हसियाँ–हथौडा र सूर्यअंकित झण्डा फहराइएको थियो । ती माहोललाई फलदायी बनाउन बालबालिका, युवा–युवती, बृद्ध–बृद्धा लामबद्ध बसेर स्वागत गरेका थिए र शीर्ष नेताहरु पनि आफू सवार गाडीको गतिलाई कम गराउन लगाउँदै र हात हल्लाउँदै अघि बढेका थिए । सडकमा स्वागतका लागि लामबद्ध सबै माइत आएकी चेलीलाई विदाइ गरे जसरी भावुक हुँदै लामबद्ध गाडी देखिन्जेल हात हल्लाइरहेका देखिन्थे । ‘क्याराभान’ शैलीको अभियानलाई लाखौँ जनताले इटहरीसम्म धुमधामसँग साथ दिए ।

काँकडभिट्टादेखि इटहरीसम्मको यात्रामा कालो झण्डाको नामोनिशाना नै देखिएन । अभियानका क्रममा दोस्रो दिनको बास इटहरीमा भयो । त्यसपछि भने नेताहरु पनि केही सर्तक बन्न थाले । प्रदेश नम्बर दुई प्रवेश गर्ने अन्तिम कार्यक्रम सुनसरीको इनरुवामा आइपुग्दा त्यहाँ छिटफुट रुपमा कालो झण्डाहरु देखिन थाले । सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति देखिन थाल्यो ।

त्यस अघिसम्म सामान्य स्कटिङमा आएका नेताहरुलाई पनि सुरक्षाकर्मीले विशेष स्कटिङको व्यवस्था गर्न थाले । इनरुवामा कार्यक्रम सम्पन्न गरेर अघि बढ्ने क्रममा त्यहाँ केही ढुंगा प्रहार गर्ने प्रयास भएपछि सुरक्षा फौज अझै सतर्क हुन थाल्यो ।

सुरक्षाकर्मीको रिपोर्टिङकै आधारमा २२ गते इटहरीमा बसेको एमाले स्थायी कमिटी बैठकले समेत मधेसी मोर्चाको बाहुल्य रहेको राजविराजमा कार्यक्रम गर्दा भने संयमतापूर्वक उपस्थित हुने निष्कर्ष निकालेको थियो । पटक–पटक भाषण गर्दा पनि एमाले नेताहरुले एमालेले मुठभेड नचाहेको अभिव्यक्ति दिइरहेका थिए । एमालेको नीति र मधेसी जनताका पक्षमा एमालेले गरेका सकारात्मक कामबारे जानकारी दिनकै लागि अभियान सुरु गरेको भन्दै शान्तिपूर्ण अभियानमा सहभागी हुन एमालेले आफ्ना कार्यकर्तालाई समेत निर्देशन दिएको थियो ।

अरु बेला निकै उत्तेजित मुन्द्रामा पेश हुने अनेरास्ववियु, युवा संघलगायतका एमाले कार्यकर्ता मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा भने निकै संयमित बनेका थिए । इनरुवामा मधेसी मोर्चाका कार्यकर्ताले देखाएको कालोझण्डा खोस्ने प्रयास गरे पनि उनीहरु तुरुन्तै संयमित बनेका थिए । उनीहरुको त्यो संयमताले पनि मुठभेड हुने सम्भावना निकै कम देखिएको अनुमान सहज रुपमा गर्न सकिन्थ्यो ।

प्रदेश नम्बर दुई प्रवेश गर्दाको उत्साह

करिब एक हजार मोटरसाइकल र पाँच सय बढी अन्य सवारीसहित इनरुवाबाट अघि बढ्दा एमालेका शीर्ष नेताहरु २ नम्बर प्रदेश प्रवेश गर्ने बेला निकै उत्साहित देखिएका थिए । जब सप्तकोसी नदी पार गरेर एमाले टोली दुई नम्बर प्रदेशमा प्रवेश गर्यो, एमाले नेता र आम कार्यकर्ताले आफूले एक प्रकारको विजयी उत्सव मनाएको अनुभूति गरेका थिए । भारदह हुँदै रुपनीसम्म आइपुग्दा कतै कालोझण्डा त कतै राष्ट्रिय र सूर्य अंकित झण्डाद्वारा स्वागत र विरोध भइरहेका थिए ।

एमालेको पकड रहेको रुपनीबाट करिब ७ किलोमिटर दक्षिणतर्फ एमालेको अभियान अघि बढ्दै गर्दा त्यहाँ पनि थेग्नै नसक्ने खालको अवरोध भने थिएन ।

कार्यक्रम भव्य रुपमा सम्पन्न

सामान्य अवरोधलाई चिर्दै कार्यक्रम स्थलमा एमालेका कार्यकर्ताहरु सयौँको सङ्ख्यामा ट्याक्टर, ट्रक र बसमा यात्रा गरेर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमाले शीर्ष नेताको प्रतिक्षामा थिए । सयौँको सङ्ख्यामा रहेका सुरक्षाकर्मीले त्यहाँ सुरक्षाको निकै राम्रो प्रबन्ध मिलाएको सहज अनुमान गर्न सकिन्थ्यो । २०–३० जनाको हुल बाँधेर बसेका केही समूहका प्रदर्शनकारीले कार्यक्रमस्थलभन्दा करिब एकाध किलोमिटरको दूरीमा रहेको गहुँबारीबाट ढुंगा हानेको दृश्य भने पटक–पटक देखिन्थ्यो ।

एकै पटक आक्रमण गर्दा पनि त्यो हुलले त्यहाँ सभामा उपस्थित नेताहरुलाई आक्रमण गर्न सक्ने अवस्था थिएन । त्यही भएर पनि प्रहरीले निकै संयमता अपनाएको थियो र प्रदर्शनकारीलाई अल्मलाइरहेको थियो । तर, जब आन्दोलनकारीले पेट्रोल बम प्रहार गरे, त्यसपछि भने प्रहरीले संयमता गुमायो र गोली प्रहार गर्ने तहसम्मै पुग्यो । त्यसपछि त्यहाँको दृश्य अचानक बदलियो र सिंगो गहुँ बारी रणभूमिमा परिवर्तित भयो ।

ओली बोल्दै गर्दा पेट्रोल बम प्रहार

कार्यक्रम स्थलमा वरिष्ठ नेता माधवकुमार नेपाल बोल्दासम्म सामान्य नै थियो । तर, जब पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थाले, त्यसपछि बाहिर प्रदर्शनकारी बढी नै उत्तेजित भए । ओलीले बोल्दै गर्दा बाहिर गोली चलिसकेको थियो । त्यो कुराको संकेत मञ्चमा रहेका सचिव योगेश भट्टराईले पनि पाइसकेका रहेछन् । उनले ओलीलाई त्यही संकेत गरेपछि ओलीले आफ्नो मन्तव्य टुङ्याए । त्यतिबेलासम्म एकान–दोकान मैदान भनेझैँ गोली लागेको हल्ला व्यापक बनिसकेको थियो ।

घटना गराएरै छाड्ने मोर्चाको तयारी

मोर्चालाई एमालेले तराई–मधेसमा अभियान सञ्चालन गरेको त्यति मन परेको थिएन । मधेसमा मोर्चाको वर्चस्व देखाउने होडबाजीमा आफूलाई एक्लो देखाउने मोर्चाको रणनीतिलाई एमालेले असफल बनाउन खोजेपछि जसरी पनि अभियान भाँड्ने तयारीमा मोर्चा थियो । सकेसम्म प्रहरीलाई उत्तेजित बनाएर केहीको हत्या होस् भन्ने मोर्चाको रणनीतिअनुसार नै घटना भएको एमालेको दाबी छ ।

एमाले संयम नभएको भए ठूलो दुर्घटना

एमालेले पहिलादेखि नै आफ्ना कार्यकर्तालाई संयम रहन आग्रह गर्दै आएको थियो । ‘हामीले पनि कार्यकर्तालाई मोर्चाका कार्यकर्ता जसरी नै उत्तेजित बन्न उक्साएका थियौँ भने त्यहाँ ठूलै दुर्घटना हुने थियो,’ एमालेका एक नेताले भने, ‘हामीले मुठभेड नहोस् भन्नकै लागि स्थान र रुट परिवर्तन गरेका थियौँ ।’पहिलो न्युजका लागि मोहन बास्तोलाको रिर्पोट साभार गरिएको हो । 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’