पूर्वबाट कोशी तर्दै एमाले, मधेशी मोर्चाको अबरोधका बिच शान्तिपुर्ण र ब्यापक जनप्रर्दशन गर्ने तयारी,http://newsdabali.com/2017/03/61992

umlकाठमाडौं– राष्ट्रिय एकता कायम गर्न तथा नयाँ संविधानप्रति फिँजाइएका भ्रम निवारण गर्न भन्दै नेकपा एमालेले शनिवार झापाको काकडभिट्टाबाट शुरु गरेको मेची–महाकाली यात्रा सोमवार कोशीबाट पश्चिम लाग्दैछ । मधेशी मोर्चाको अबरोधका बिच पनि प्रदेश नम्बर दुई मा ब्यापक जनसहभागिता सहित शान्तिपुर्ण कार्यक्रम गर्ने तयारीमा रहेको एमालेले जनाएको छ ।
अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट शुरु गरिएको मेची–महाकाली यात्राको उद्घाटन कार्यक्रम, कोशीपूर्वका मोरङ, सुनसरीमा कार्यकर्ता र सर्वसाधारणको उपस्थितिले एमाले नेताहरू हौसिएका देखिन्छन् । झापा, मोरङ र सुनसरीमा एमालेको सभामा सर्वसाधारणको उल्लेख्य उपस्थिति अपेक्षित नै थियो ।

झापाबाट शुरु गरिएपनि मेची–महाकाली अभियानको मुख्य चासो चाहिँ प्रदेश नम्बर दुईका आठ जिल्लामा हुने प्रदर्शन हुनेछ । मधेशी मोर्चाको बाहुल्य रहेको प्रदेश नम्बर दुईमा एमाले अभियान असफल बनाउन मोर्चा लागिपरेको छ । औपचारिक निर्णय नगरेपनि प्रदेश २ को सिमाना सप्तरीमा एमाले अभियानविरुद्ध पछिल्ला दिनमा दिनहुँजसो प्रदर्शन भएका छन् ।

मेची–महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरीमा एमालेका स्थानीय नेता कार्यकर्तामाथि मोर्चाका कार्यकर्ताले आक्रमण गर्ने र कालोमोसो दल्ने प्रयास गरेका थिए ।

नयाँ संविधान जारी गरिएपछि वाक्–युद्ध गरिरहेका एमाले र मोर्चाका कार्यकर्ता सोमवारदेखि आमनेसामने हुनेछन् । मोर्चाले एमालेलाई मधेशविरोधी पार्टीको भएको आरोप लगाउँदै ‘एमालेमुक्त’ मधेश बनाउने बताउँदै आएको छ ।

प्रदेश नम्बर २ मा एमालेलाई कार्यक्रम गर्न नदिने मोर्चाको योजना र जसरी पनि अभियान सञ्चालन गरिछाड्ने एमालेको अडान यतिबेला प्रतिष्ठाको लडाईं बनेको छ । एमालेले मेची–महाकाली अभियान घोषणा गरेलगत्तै मोर्चाले एमालेको अभियान विफल बनाउने बताउँदै आएको थियो । प्रदेश नम्बर २ मा सोमवारदेखि हुने प्रदर्शनले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने देखिन्छ ।

सम्भावित झडपका कारण एमालेले सप्तरीको राजविराजमा सोमवार हुने कार्यक्रमको स्थान परिवर्तन गरेको छ । सप्तरी, सिराहा, धनुषा लगायतका जिल्लामा हुनसक्ने सम्भावित झडपलाई लिएर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री विमलेन्द्र निधिलाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

एमाले स्थायी समिति सदस्य एवं सप्तरीका सांसद सत्यनारायण मण्डलले सोमवारको कार्यक्रमको तयारी पुगेको र कार्यक्रम शान्तिपूर्ण हुने बताए । एमाले कार्यक्रम बिथोल्न मोर्चाका कार्यकर्ताले सोमवार जिल्ला बन्द र कार्यक्रमको पूर्वसन्ध्यामा आइतवार साँझ राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

सुरक्षालाई मद्देनजर राखेर राजविराज मैदानमा हुने भनिएको कार्यक्रम राजविराज औद्योगिक क्षेत्रमा सारिएको सदस्य मण्डलले बताए ।

‘प्रशासनको आग्रहका कारण चारैतर्फ पर्खालले घेरिएको ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका छौं,’ उनले भने । प्रशासनले सोमवार कुनै पनि घरेलु हात हतियार लिएर नहिँड्न आग्रह गर्दै आइतवार साँझ राजविराजमा माइकिङ गरेको छ ।

‘हाम्रो कार्यक्रम असफल बनाउन मोर्चाका कार्यकर्ताले बन्दको आह्वान गरेका छन् र एमालेविरुद्ध नारा लगाउँदै हिँडेका छन्,’ मण्डलले भने, ‘हाम्रो कार्यक्रम शान्तिपूर्ण हुन्छ । सबै तयारी पूरा भएको छ ।’
सप्तरीका प्रमुख जिल्ला अधिकारी उदयप्रसाद तिमिल्सनाले एमाले कार्यत्रमका लागि शान्ति सुरक्षामा कुनै कमी आउन नदिने बताएका छन् ।

सभालाई एमाले अध्यक्ष केपी ओलीलगायत दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । मोर्चाका केन्द्रीय स्तरका नेताहरूले एमालेको कार्यक्रम बिथोल्न निर्देशन नदिइएको दाबी गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग