सुन तस्करीमा विदेशी गिरोह खोज्दै सीआईबी : तीन छुट्टाछुट्टै सञ्जाल सक्रिय

gold-555x263काठमाडौं,दुबईबाट आएको ३३ किलो सुन बरामद भएपछि नेपाल प्रहरीले विदेशबाट सुन पठाउने नेपाली गिरोहको अनुसन्धान सुरु गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीको ध्यान नेपालमा सुन झिकाउने समूह र विदेशमा बसेर सुन पठाउने नेपाली समूहको खोजीमा तानिएको हो ।

गत २१ पुसमा ब्युरोले विमानस्थलबाट सुन बरामद गरी संलग्न रहेका सातजनालाई नियन्त्रण लिई अनुसन्धान गर्दा नेपाल–भारत र दुबईमा समेत गिरोह सक्रिय रहेको तथ्य फेला पारी अनुसन्धान अघि बढाएको हो । सुन ल्याउने तथा त्यससँग सम्बन्धित रहेका भन्सार कर्मचारीलाई संगठित अपराधमा अनुसन्धान सुरु गर्न थालेपछि प्रहरीले विदेशी गिरोहको खोजीमा लाग्न बाटो खुलेको थियो । यसअघि सुन बरामद हुँदा र पक्राउ परेका व्यक्तिहरूलाई संगठित अपराधको मुद्दा लगाइएको थिएन । उनीहरू राजस्व विभागबाट सहजै उम्किन थालेपछि प्रहरी आफैंले अदालतबाट अनुमति लिई सो मुद्दामा अनुसन्धान सुरु गरेको हो । ब्युरोले पक्राउ परेकाहरूको बयानका आधारमा दुबईबाट नेपालमा सुन पठाउने तीनवटा समूह सक्रिय रहेको तथ्य फेला पारेको थियो ।

तीनैवटाका अलग–अलग साझेदार नेपाल र भारतमा रहेका भन्दै नेपाली भारतीय र नेपालमै सुन–चाँदीको व्यवसाय गरी त्यसमार्फत भारतको अर्थतन्त्रमा समेत असर पार्ने गरी सुन तस्करीको समूह रहेकाले भारत सरकारको समेत सहयोगमा तस्करीको समूह खोजी गरिरहेको ब्युरो स्रोतले जनाएको छ । पक्राउ परेकाहरूको बयानका आधारमा एकपटकमा ३० देखि ५० किलोसम्म सुन दुबईबाट नेपाल हुँदै भारत जाने भएकाले भारतीय प्रहरीले पनि चासो राखिरहेको छ ।

ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालका अनुसार सुन तस्करीको अनुसन्धान सूक्ष्म रूपले गरिरहेकाले अनुसन्धानको दायरामा ल्याइने बताए ।

‘तस्करी लामो समयदेखि भएकै हो, प्रहरीले बेलाबेलामा बरामद गर्ने र तस्कर तथा भरियालाई पक्राउ गरेर राजस्व अनुसन्धानमा बुझाएको थियो, तर सुन तस्करहरू संगठित रूपमै यसको कारोबार गर्छन्, पक्राउ परे पनि कानुनी छिद्रबाट सधैं उम्कन सक्ने अवस्था आयो, त्यसकारण यसपटक सीआईबीले संगठित अपराधअन्तर्गत अनुसन्धान सुरु गरेको छ, तस्करहरू पक्राउ पर्ने वातावरण बनिरहेको छ,’ सीआईबी प्रमुख सिलवालले राजधानीसँग भने । दुबईमा बसेको गिरोहले जति पनि सुन किन्न सक्ने र त्यहाँ सुनको कर पनि नलाग्ने भएकाले तस्करी हुने गरेको प्रहरीले जनाएको छ । सुन तस्करीकै लागि नेपाली र दुबई नागरिकको लगानीमा त्यहाँ पनि सुन पसल खुलेको तथा तिब्बतमा पनि नेपाली र तिब्बती नागरिकको लगानीमा सुन पसल खुलेको दाबी प्रहरीको छ ।

‘नेपालको विमानस्थल तथा स्थलमार्ग प्रयोग गरेर छिमेकी मुलुकतिर भइरहेको तस्करीप्रति निकै गम्भीर छौं, यसले मुलुककै प्रतिष्ठामा आँच आएकाले जुनसकै तहको व्यक्ति वा संगठन या संस्था दोषी देखिए पनि कारबाहीको दायरामा ल्याइनेछ,’ सीआईबी प्रमुख सिलवालले भने । उनका अनुसार यसमा अन्तरदेशीय सञ्जाल रहेको छ । ‘सुन ओसारपसार यस परिमाणमा हुन्छ भन्ने लागेको थिएन, यति ठूलो स्वरूप देखेर हाम्रो अनुसन्धान टोली पनि अचम्मित छ, यति ठूलो परिमाणमा हुने कारोबार पक्कै उच्च तहको मिलेमतोबिना सम्भव छैन । अब हामी त्यो संयन्त्रतिर अनुसन्धानलाई अगाडि बढाउनेछौैं,’ डीआईजी सिलवालले भने ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए