शिक्षण अस्पतालभित्रै गाडिन्छ शव,वरपरको बस्तीमा दुर्गन्ध

manab-kangalत्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ। त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ। फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन्। ६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन्। शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ।

सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रमोदकुमार श्रेष्ठले बताए। तर, विभागमा परीक्षण गरिएका शव गाड्ने ठाउँ सानो भएकाले समस्या देखिएको छ।

पछिल्लो समय सनाखत नभएका शवहरूको संख्यामा वृद्धि भइरहेको फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्तीले बताए। तर, जग्गा अभावमा शव गाड्ने मापदण्ड पूरा नभएको उनको भनाइ छ। आठ आना जग्गामा एकपटकमा ५० शव गाड्न उपयुक्त हुने उनले जानकारी दिए।

‘एकपटक गाडेपछि सदाका लागि त्यस स्थानमा शव गाड्न पाइँदैन। एकले अर्कालाई छुनुहुँदैन,’ प्रोफेसर वस्तीले भने, ‘दुर्भाग्य हामीसँग जग्गा छैन। राज्य बेखबर छ। हामी बाध्य भएर एकै ठाउँमा शव गाडिरहेका छौँ।’ अहिले चारदेखि आठ फिट खाल्डो खनेर शव राख्ने र पुर्ने गरिएको छ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ।

वरपरको बस्तीमा दुर्गन्ध

थोरै ठाउँमा निरन्तर शव गाड्दा नकुहिएर वरपर दुर्गन्ध फैलिएको छ। ‘ठाउँ अभावका कारण आठ आना जग्गामा वर्षौँदेखि शव गाड्दा वरपरका बासिन्दालाई पनि समस्या छ,’ वस्तीले भने।

शव गाड्ने जग्गासँगै अस्पतालको फोहोर थुपारिएको छ। शव राम्रोसँग नपुरिएकाले दुर्घन्धका साथै कंकालहरू जमिनमै यत्रतत्र छरिएको देखिन्छ। कुकुरले समेत खोतलेर शव बाहिर देखिने गरेको स्थानीय बताउँछन्।

‘शवको दुर्गन्ध आउँछ कि फोहोरको भन्ने यकिन नै हुँदैन,’ स्थानीय सुवास लामाले भने, ‘कहिलेकाहीन् कुकुर पसेर शव खोतल्यो भने पूरै दुर्गन्धित हुन्छ। आसपासमा बसोबास गर्नेलाई निकै समस्या छ।’

फरेन्सिक विभागबाट सय मिटरपर रहेको सहारा केयर अस्पतालका सञ्चालक डा. हरि लम्साल पनि दुर्गन्धले आसपासमा असर गरेको बताए। ‘बस्तीको बीचमा शव गाड्नु अमानवीय कार्य हो,’ उनले भने, ‘राज्यले शव गाड्ने स्थानको उचित व्यवस्था गर्नुपर्छ। नजिकै शव गाडिँदा छेउछाउ बस्ने मानिसलाई यसले गम्भीर असर गर्न सक्छ।’

कान्ति बाल अस्पतालनजिक घर भएकी सुनिता श्रेष्ठले वर्षौँदेखि त्यहाँ शव गाड्ने गरिएको बताइन्। ‘आफ्नो जग्गा होइन, केही भन्न पनि मिलेन। पहिला–पहिला त राति दुर्गन्धले गर्दा बाहिर निस्किन पनि सकिँदैनथ्यो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भनिन्, ‘दाउराको भारी घोप्ट्याएजस्तो हरेक महिना खातका खात शव खाल्डामा पुरेको देखिन्छ।’ फरेन्सिक विभागले बाहिरबाट नदेखिने बनाउन अस्पताल हातापट्टिको जग्गामा दाताको सहयोगमा जस्तापाताले बार लगाएको छ।

पहिलोपटक सुन्दै छु, बुझेर निर्णय लिन्छु : स्वास्थ्यमन्त्री

शिक्षण अस्पताल परिसरमै चिहान बनाइएको र अव्यवस्थित रूपमा कंकाल छरिएको विषयमा स्वास्थ्यमन्त्री गगन थापाले आफू बेखर रहेको बताए। उनले नयाँ पत्रिकासँग भने, ‘म पनि पहिलोपटक सुन्दै छु, एक–दुई दिनमै वास्तविकता बुझी निर्णय लिनेछु। यो मानवीय संवेदनाको विषय हो, यसमा सरकारले आवश्यक निर्णय लिनेछ।’

कसैको अस्वाभाविक मृत्यु भए प्रहरीले पोस्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभागमा ल्याउँछ। कैयौँ शवको सनाखत हुन सक्दैन। त्यस्ता शव विभागले जिम्मा लिँदैन र शव गाडिन्छ। तर, मृत शव गाड्ने ठाउँको कुनै आधिकारिक पहिचान अहिलेसम्म पनि छैन। विभागअगाडि खाली ठाउँ भएका कारण सोही स्थानमा शव गाडिँदै आएको छ। त्यो जग्गा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को हो। कुनै समय आइओएमले भवन बनाउने भएमा शव गाड्ने विकल्प विभागसँग छैन।

त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस पढाइ सुरु भएसँगै ०३२ देखि विद्यार्थीको अध्ययनका लागि मृत शरीर वीर अस्पतालबाट व्यवस्था गर्ने गरिएको थियो। विद्यार्थीलाई आवश्यक पर्ने शरीरको भाग राख्ने र बाँकी भाग अस्पताल परिसरको आठ आना जग्गामा गाड्न थालिएको थियो। फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्ती भन्छन्, ‘त्यो वेला शव थोरै हुन्थे, त्यसैले त्यहाँ गाड्न कुनै समस्या थिएन। तर, अहिले बेवारिसे शव धेरै हुन्छ, व्यवस्थापन गर्न समस्या छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो