थापा र गच्छदार सरकारमा तत्काल नजाने, प्रचण्डको मन्त्रीमण्डल बिस्तार गर्ने योजना अधुरै, संशोधन बिधेयक पास पनि नहुने निश्चित
मधेसी जनअधिकार फोम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र राप्रपा अध्यक्ष कमल थापा यथास्थितिमा सरकारमा नजाने भएका
छन् । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन उनीहरुलाई आग्रह गरिरहेको स्रोतले बतायो ।गच्छदार र थापाले संसद्मा पेस संविधान संशोधन विधेयकमा आआफ्ना पार्टीले उठाएका मुद्दा समावेश नगरिए सरकारमा सहभागी हुन नसकिने जानकारी प्रधानमन्त्री प्रचण्डलाई गराएको स्रोतले बतायो ।
संशोधन विधेयकमा परिमार्जन नगरे त्यसमा पनि सहमति नजनाउने गच्छदार र थापाले बताउँदै आएका छन् । स्रोतका अनुसार गच्छदारलाई अहिलेको स्थितिमा सरकारमा नजान पार्टीभित्रैबाट पनि दबाब परेको छ । सरकारमा पहिले नै गएको भए हुन्थ्यो तर अहिले जानुको कुनै अर्थ छैन भन्ने तर्क पार्टीभित्रै बलियो छ । गच्छदार पार्टीले उठाएको मुद्दा संशोधनमा पारिए सरकारमा जाने मनस्थितिमा छन् ।
प्रधानमन्त्री सकेसम्म शुक्रबार नै गच्छदार र थापालाई सरकारमा ल्याउने तयारीमा थिए । तर, थपा शुक्रबार खोटाङ र गच्छदार विराटनगर गए । स्रोतका अनुसार प्रधानमन्त्री माओवादी केन्द्रको भागमा परेका सञ्चार र स्थानीय विकास मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिने तयराीम छन् । यी दुई मन्त्रालयमा अहिले माओवादीका नेता मन्त्री छन् ।
यसैगरी उनले परराष्ट्र मन्त्रालयमा थापालाई पठाउने सोच बनाएका छन् । परराष्ट्र कांग्रेसको भागमा परेको छ । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत भने परराष्ट्रबाट फिर्ता हुने सोचमा छैनन् । प्रधानमन्त्री राप्रपालाई परराष्ट्रसहित अरु दुई मन्त्रालय दिने तयारीमा छन् ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।