यस्ता छन् विपक्षी मोर्चा फुटाएर एमालेलाई एक्ल्याउने दाहाल–देउवाको सूत्र

deuba-prachandaसरकारले संविधान संशोधन विधेयक पास गराउने रणनीतिका साथ सहमतिको खोजी र मन्त्रिपरिषद् विस्तारलाई एकसाथ अघि बढाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको सहमतिअनुसार संविधान संशोधन विधेयक सहमतिमै पारित गराउन सरकारले प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दललाई मनाउने गृहकार्यसँगै सरकार विस्तारको गृहकार्य पनि अघि बढाएको हो । सत्ता गठबन्धनमा दुई तिहाइ पुर्‍याउने उद्देश्यले सरकार विस्तार गर्न आन्तरिक छलफल अघि बढाइएको एक मन्त्रीले जानकारी दिए । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई समेत सरकारमा ल्याउन अन्तिम पहल गरिरहेको छ ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

राप्रपा र राप्रपा नेपालबीच एकीकरणपूर्व राप्रपाका तर्फबाट दुई मन्त्री सरकारमा सहभागी रहे पनि एकीकरणपछि राप्रपाले संशोधनका केही विषयवस्तुमा असन्तुष्टि जनाउँदै आएको छ । स्रोतका अनुसार राप्रपाका कार्यकारी अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संशोधन विधेयकमा सहमति जनाउने प्रतिबद्धता जनाएको अवस्थामा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने गरी प्रधानमन्त्रीले प्रस्ताव राखेका छन् । तर, राप्रपाले प्रदेश ५ टुक्र्याउने संशोधनमा सहमति हुन नसक्ने र देशहितअनुकूल नरहेको निर्णय गरिसकेकाले अप्ठ्यारो परेको छ ।

दुवैले संशोधनमा सहमति जनाउनासाथ सरकारमा सहभागी हुने स्रोतको भनाइ छ । उनीहरूबीच मन्त्रालयमा भागबन्डा मिल्नासाथ सरकार विस्तार हुने तयारी भइरहेको बालुवाटार स्रोतको भनाइ छ । एक मन्त्रीका अनुसार अबको केही हप्तामा नै थापा र गच्छदारसहित दुवै दल सरकारमा सहभागी हुने तयारी भइरहेको छ । कांग्रेस नेता तथा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले अब चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘सरकारलाई समर्थन गर्ने साना दलदेखि सरकारमा सहभागी राप्रपाबाट र मधेसी दलबाट पनि सरकारमा समेट्ने कुरा भएको हो,’ मन्त्री केसीले राजधानीसँग भने, ‘संशोधन प्रस्ताव टेबुल भयो, सरकार विस्तार पनि अब छिट्टै हुन्छ ।’ सरकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने र साना केही दललाई पनि मनाएर विधेयक पारितमा दुई तिहाइ पु¥याउने रणनीतिका साथ अघि बढेको छ ।

मधेसी मोर्चाले संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने अडान राख्दै आएकोमा सरकारले प्रतिपक्षी दल एमालेका साथै मधेसी मोर्चासँग पनि छलफल गरेर सम्भव भएसम्म सहमतिकै आधारमा संशोधन विधेयक पारित गराएर अघि बढ्ने दाबी गर्दै आएको छ । तर, एमाले नेतृत्वको विपक्षी गठबन्धनले संशोधनमा सहमति दिनै नसक्ने भन्दै अडानमा टसमस भएको छैन ।

प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले सत्तापक्ष र विपक्षको समेत सहमतिमा विधेयक पारित गराउने गरी नै छलफल भइरहेको जानकारी दिए । प्रमुख मुद्दामा प्रमुख तीन दल एक ठाउँमा आउनैपर्ने भए पनि अहिलेको अवस्थामा एमाले त्यो जिम्मेवारीबाट पछि हट्न खोजिरहेको उनको आरोप छ । ‘प्रधानमन्त्रीको जोड पहिलेदेखि नै सहमतिका साथ अघि बढौं भन्ने नै छ,’ सल्लाहकार दाहालले राजधानीसँग भने, ‘अहिले मोर्चा, राप्रपा सबै एक ठाउँमा उभिएका छन्, तर एमाले मात्र फरक बाटोमा हिँडिरहेको छ, उसलाई पनि सहमतिमा ल्याउन अझै प्रयास जारी छ ।’

एमाले कुनै पनि हालतमा सहमतिमा नआए एमालेइतरका दलहरू एकजुट भएर दुई तिहाइका साथ संशोधन विधेयक पारित हुने दाबी उनले गरे । ‘विधेयक पास गराउने सबै प्रयत्न सरकारले गरिरहेको छ, एमालेइतरका शक्तिलाई सहमतिमा ल्याउने काम भइरहेको छ,’ उनले राजधानीसँग भने, ‘एमाले सहमतिको राजनीतिबाट भागे दुई तिहाइबाट भए पनि विधेयक पास हुनेछ ।’ कांग्रेस नेता तथा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकारले संविधान संशोधन विधेयकलाई पास गराउने सम्बन्धमा प्रमुख प्रतिपक्षी एमाले तथा अन्य असहमत दलसँग संवाद र छलफल जारी राखेको बताए । उनले संविधान निर्माणकर्ता दलहरू एक ठाउँमा उभिन सके मात्र संविधान कार्यान्वयन पनि सहज बाटोमा जाने भन्दै तीनबीच सहमति आवश्यक रहेको बताए । ‘संविधान निर्माणकर्ता दलहरू कांग्रेस, एमाले र माओवादी नै रहेकाले कार्यान्वयन र निर्वाचनका लागि पनि यी दलहरू एक ठाउँमा आउनुपर्छ,’ मन्त्री केसीले भने ।

सरकारले मोर्चाका मागका विषयलाई पनि हल गर्दै अब चाँडै नै स्थानीय तहको निर्वाचन घोषणा हुनेसमेत जनाएको छ । कानुनमन्त्री अजय शंकर नायकले अब चाँडै स्थानीय तहको निर्वाचन मिति घोषणा हुने बताए । उनले मोर्चाका मागका सम्बन्धमा पनि सदनमा छलफल हुने र प्रक्रियाबाट नै हल गरिने पनि बताए । मन्त्री केसीले पनि मोर्चाले कस्तो परिमार्जन खोजेको र केमा खोजेको हो भन्ने उनीहरूले प्रक्रियामा गएर परिमार्जन हालेपछि स्पष्ट हुने भन्दै मधेसी मोर्चाका केही विषय भए प्रक्रियाबाटै टुंग्याउनुपर्ने बताए ।

‘मधेसी दलको आग्रह र मधेसका जनताले नै उठाएका विषयलाई सरकारले संशोधनमा समेटेको छ,’ मन्त्री केसीले भने, ‘अब कुनै विषय छ भने प्रक्रियाबाटै टुंग्याउनुपर्छ ।’ एमाले नेतृत्वको विपक्षी मोर्चासँग २ सय १ मत रहेका कारण विपक्षी मोर्चा फुटाएर एमाले एक्ल्याउने र दुई तिहाइ पुर्‍याउने गृहकार्य पनि सरकारले अघि बढाएको छ । स्रोतका अनुसार एमाले, नेमकिपा, माले र जनमोर्चाबाहेकका दलहरू मन्त्री दिए सरकारमा आउने आँकलन सत्तारूढ दलको रहेको छ । यसका लागि प्रधानमन्त्री दाहालसँगै कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय रहेको स्रोतले बतायो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा