पृथ्वीजयन्ती : कहिले काटियो बिदा ?

पृथ्वीजयन्ती : कहिले काटियो बिदा ?

०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन ।

त्यसअघि भने सरकारले निरन्तर रूपमा पृथ्वीजयन्तीमा बिदा दिँदै आएको थियो भने सरकारीस्तरमै पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम हुने गरेको थियो । यस वर्ष क्रिसमस दिवसको अघिल्लो दिन सार्वजनिक बिदा दिएको सरकार पृथ्वीजयन्तीमा बिदा दिन दबाबमा परेको थियो ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

त्यस वर्ष जनआन्दोलनको उत्कर्षमा सिंहदरबार मूलगेटसामुन्ने रहेको पृथ्वीनारायण शाहको सालिक तोडफोड भएको थियो । त्यतिवेलाको राजनीतिक माहोलका कारण पृथ्वीजयन्तीको बिदा कटौती भएको तत्कालीन गृहसचिव उमेश मैनालीले बताए ।

‘गृह मन्त्रालयले प्रस्ताव पेस गर्ने, मन्त्रिपरिषद्ले निर्णय गर्ने हो । त्यो वर्ष पनि बिदासम्बन्धी निर्णय त्यसैगरी भएको हो,’ हाल लोकसेवा आयोगका अध्यक्ष रहेका मैनालीले भने, ‘मन्त्रिपरिषद्ले बिदा कटौती गर्ने निर्णय गरेको हो, पृथ्वीजयन्ती नमनाउने निर्णय गृह मन्त्रालयस्तरको होइन । मन्त्रालयले सार्वजनिक बिदा दिने वा हटाउने निर्णय गर्न सक्दैन ।’

तर, त्यसवेला के–कति कारणले बिदा कटौती भएको हो भन्नेबारे सार्वजनिक टिप्पणी नगर्ने मैनालीले बताए । ‘अहिलेकै सरकार कति दबाबमा छ, त्यो वेलाको परिस्थिति अहिलेजत्तिको सहज थिएन । शान्तिवार्ता चलिरहेको थियो, राजनीति अर्कै थियो । त्यो वेलालाई अहिलेको सन्दर्भमा हेर्न मिल्दैन,’ मैनालीको तर्क छ ।

तर, गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्का एक सदस्यले भने बिदा कटौती गर्ने आफ्नो निर्णयबारे कोइराला पछिसम्म दोधारमा रहेको बताए । ‘हामीले यो निर्णय उचित गरेनौँ कि भन्ने उहाँलाई पछिसम्म लागिरहेको थियो, तर उहाँले त्यसलाई उल्ट्याउने साहस गर्न सक्नुभएन । त्यो परिस्थिति भएन,’ त्यो वेलाका एक मन्त्रीले अनौपचारिक कुराकानीमा बताए ।

यस वर्ष राष्ट्रपति, प्रधानमन्त्री, अधिकांश दल पृथ्वीजयन्तीमा बिदा दिन एकमत थिए । तर, मंगलबार अबेरसम्म सार्वजनिक बिदा दिने सरकारी निर्णय भएन । ‘यो अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो,’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने, ‘राष्ट्रनिर्माताको सम्मान गर्न नसक्ने यो सरकार अदृश्य शक्तिको दबाब वा प्रभावमा छ भन्ने स्पष्ट भयो । राप्रपा अत्यन्त चिन्तित छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा