परिवारका सबै सदस्यको एउटा मात्र मृगौला प्रत्यारोपणका लागि प्रवासीले गरे सहयोग
पर्वत/परिवारका सबै सदस्य मृगौला रोगबाट पिडीत बनेको परिवारका लागि मृगौला प्रत्यारोपण गर्न प्रवाशी नेपालीले सहयोग गरेका छन ।
पपर्वतको कुर्घा गाउँ बिकास समिति– २ को तिलोचन शर्माको परिवारलाई प्रवाशी युवाहरुले आर्थिक सहयोग गरेका हुन।
मृगौंला पिडीत परिवारको बारेमा न्युज डबली डटकममा समाचार प्रकाशित भएपछि सहयोग संकलन अभियान चलाईरहेको एकता युवा क्लब पर्वतको संयोजनमा नेदरल्याण्डमा बस्ने प्रवाशी नेपालीले आर्थिक सहयोग गरेका छन । जनसम्पर्क समिति नेदरल्याण्डका पुर्ब अध्यक्ष मनोहरी शर्मा र उपाध्यक्ष बिष्णु पोखरेलको अगुवाईमा संकलन भएको ६५ हजार ५ सय १३ रुपैया पिडीत शर्मालाई हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले सहयोग रकम हस्तान्तरण गरेका छन। केही दिन पहिले जिल्ला बिकास समिति पर्वतले ४० हजार रुपैया सहयोग गरेको छ ।
सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पिडीत परिवारका लागि सरकारी निकायबाट हुन सक्ने सहयोग गर्न आफुँ तयार भएको बताए । उनले पिडीत परिवारका लागि सबै संस्थाले सहयोग गर्न पनि आग्रह गरे । एकता युवा क्लबका अध्यक्ष अच्युत तिवारीले पिडीत परिवारको घाउमा मल्हम लगाउन सहयोग संकलन अभियान जारी राख्ने बताए । ‘अहिले सानो सहयोग संकलन भएको छ’ उनले भने‘यसलाई अभियानकै रुपमा अगाडी लैजान्छौ’
शर्माको परिवारका चार जना सदस्यको मृगौला फेल भएको छ। एक सन्तानको सोही कारणले ज्यान गैसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मृृगौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा मात्र मृगौला बाँकी छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिले सम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधी खर्च चलाउँदै आएको बताए । ‘चार चार जनाको मृगौला प्रत्यारोपण र नियमित औषधी खर्च जुटाउन मुस्किल छ’ उनले भने ‘सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन’ मृगौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गैसकेको छ भने छोरी र छोराको मृगौला प्रत्यारोपण गरिएको छ । अहिले श्रीमतीका दुईवटै मृगौला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।
‘रोगलाई मानिसको सबैभन्दा ठुलो शत्रु मानेर नै होला, शत्रु लागे पनि रोग नलागोस भनेर कामना गरिन्छ , तर मेरो परिवारका लागि रोग नै सबैभन्दा ठुलो शत्रु बनेर आयो’ शर्माले भने ‘परिवारका सबै सदस्य मृगौलाबाट पिडीत हुँदा घरबास उठ्यो’ श्रीमति प्रेमकला पौडेलको अहिले डायलासिस भैरहेको छ । उनको मृगौला प्रत्यारोपण गर्न जरुरी भैसकेको छ । ‘डायलासिसबाट सधै बस्न सकिदैन’ त्रिलोचनले भने –‘सहयोग पाएमा छिट्टै प्रत्यारोपण गर्ने योजनामा छु, आफुँ संग प्रत्यारोपण गर्ने धन छैन’ माइली छोरी र कान्छो छोराको मृगौला प्रत्यारोपण गरेपनि संक्रमण हुने र नियमित रुपमा औषधी खानुपर्ने समस्या छ ।
जेठो छोरा प्रकाशको २०६३ सालमा २६ बर्षको उमेरमा मृगौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनलाई मृगौला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभाबमा मृत्यु भयो । कान्छो छोरा दिपकको २३ बर्षको उमेरमा मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई ठुलो दिदी शारदा शर्माले एउटा मृगौला दिएपछि प्रत्यारोपण गरिएको छ । अहिले नियमित रुपमा औषधी खाँदा महिनामा २० हजार जति खर्च लाग्ने दिपकले बताए । ‘मृगौला फेरेर मात्रै भएन, नियमित रुपमा औषधी सेवन गर्न समेत कठिनाई भएको छ’ माहिली छोरी श्यामलाको पनि दुबै मृगौला फेल भएपछि बाबु त्रिलोचनले एउटा मृगौला दिएका छन । ‘छोरीको पनि मृगौला फेल भएपछि मैले एउटा दिएर बचाएको छु’ उनले भने । शारदा र श्यामलाको बिहे भैसकेको छ । गत फागुनदेखि श्रीमति प्रेमकुमारीको समेत दुवै मृगौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उनले गुनासो गरे । कान्छी छोरी कमला मात्रै अहिले सम्म मृगौलाको रोगबाट बचेकी छन । कमला र दिपकको सामान्य जागिरका भरमा बिहान बेलुकाको छाक टार्दै आएको यो परिवारले उपचारका लागि मात्रै अहिले सम्म डेढ करोड भन्दा बढी खर्च गरिसकेको छ । अहिले दिपक र प्रेमकलाको डायलीसको खर्च मात्रै २० हजार खर्च हुन्छ मासिक रुपमा । ‘मासिक रुपमा औषधी खुवाउन समेत कठिन छ ’ उनले भने ।