चन्द्रागिरिका भौतिक संरचना नक्सापासै नगरी

चन्द्रागिरिका भौतिक संरचना नक्सापासै नगरी

ऐन र नियमावली मिच्दै ४० वर्षका लागि वनको जग्गा हात पारेको चन्द्रागिरि हिल्स लिमिटेडले नगरपालिकाबाट नक्सापासै नगरी भटाभट भौतिक संरचना निर्माण गरेको/गरिरहेको खुलेको छ । केबलकारको टप स्टेसन भवन, मन्दिर, भ्यु टावर, कन्फरेन्स हल, रेस्टुरेन्टलगायत निर्माण सकेर व्यावसायिक सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि हिल्सले कुनै पनि भवनको नक्सापास नगरेको जानकारी चन्द्रागिरि नगरपालिकाको नक्सा शाखाका ओभरसियर राजेन्द्र राईले दिए ।

वन ऐन र नियमावलीविपरीत राजधानीको पर्यावरण सन्तुलनमा सहयोगी चन्द्रागिरिको ३६ हेक्टर (७०९।२ रोपनी) वनक्षेत्र लिज (भाडा) मा लिएर संरचना निर्माण गरेको समाचार केही दिनअघि सार्वजनिक भएपछि बल्ल कम्पनीले नक्सापासका लागि नगरपालिकामा प्रक्रिया अघि बढाएको छ ।

‘भवन निर्माण सकेर केबलकार सञ्चालनमा ल्याएपछि नक्सापास गर्नुपर्‍यो भनेर कम्पनीले निवेदन दिएको छ,’ राईले भने । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १४९ मा नगरपालिकासँग अनुमति नलिई भवन निर्माण गर्न नपाइने व्यवस्था छ । चन्द्रागिरि २०७१ कात्तिक २६ मा नगरपालिका घोषणा भएको हो ।

ऐनमा नगरपालिका क्षेत्रमा भवन निर्माण गर्न चाहने व्यक्तिले भवन निर्माण गर्ने अनुमतिका लागि भवनको नक्सासहित तोकिएको ढाँचामा नगरपालिकासमक्ष दरखास्त दिनुपर्ने उल्लेख छ । चन्द्रागिरि हिल्सले केबलकारको टप स्टेसन, मन्दिर, भ्यु टावर, रेस्टुरेन्टलगायत भौतिक संरचना नक्साबिना नै निर्माण गरेको राईले उल्लेख गरे । चन्द्रागिरि नगरपालिकाको ६ नम्बर वडामा पर्ने बटम स्टेसनको भवनको भने साविक थानकोट गाविस हुँदै नक्सापास भएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

चन्द्रागिरि हिल्सले चन्द्रागिरि डाँडामा निर्माण गरिरहेका अधिकांश संरचना नगरपालिकाको ६ नम्बर वडामा पर्छन् । नक्सापासै नगरी वनक्षेत्र फाँडेर उसले पाँचतारे होटल तथा रिसोर्ट, एम्युजमेन्ट पार्क तथा अन्य भौतिक संरचना बनाइरहे पनि सरकारी निकायहरू मौन छन् ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले असोज १७ मा जिल्ला वन कार्यालय, काठमाडौंलाई बुझाएको प्रतिवेदनमा टप स्टेसन, मन्दिर, कन्फरेन्स हल, भ्यु टावर तथा अन्य भौतिक संरचना निर्माण सम्पन्न भई साउन २४ देखि सर्वसाधारणका लागि खुल्ला गरिएको उल्लेख गरेको छ । औपचारिक उद्घाटन भने ३० मंसिरमा प्रधानमन्त्री प्रचण्डले गरेका थिए ।

हिल्सले अहिले पाँचतारे होटल रिसोर्ट, एम्युजमेन्ट पार्क तथा अन्य भौतिक संरचना निर्माण गरिरहेको छ । त्यसको ठेक्का रसुवा निर्माण सेवाले पाएको छ । नगरपालिकाबाट ती कुनै पनि संरचनाको नक्सापास भएको छैन । साविकको थानकोट गाविस १ र ९ मा पर्ने सामुदायिक वन जनताबाट खोसेर कबुलियतीमा रूपान्तरण गरी तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले २०६८ साउन २० मा केबलकार, होटल, रिसोर्ट तथा भ्यु टावर सञ्चालन गर्न काठमाडौं फनपार्क लिमिटेडलाई भाडामा दिएको थियो ।

२०७३ जेठ १५ देखि काठमाडौं फनपार्कलाई चन्द्रागिरि हिल्स लिमिटेड नाम राखेर निर्माण अघि बढाइएको हो । वनसँग गरेको सम्झौताविपरीत चन्द्रागिरि हिल्सले वनक्षेत्र फाँडदै संरचना निर्माण गरिरहेको छ । सम्झौताविपरीत संरचना निर्माण तथा अन्य काम भए वनले जतिबेला पनि उक्त वनक्षेत्र कबुलियतीबाट फिर्ता लिन सक्ने वन नियमावलीमा व्यवस्था छ ।

निर्माणका क्रममा डोजर लगाएर जथाभावी खन्ने क्रममा माटो खसेर वनक्षेत्र मासिएको छ भने माटो तलको बस्तीसम्मै आएको छ । निर्माणका क्रममा गत वर्षातमा चन्द्रागिरिबाट बगेर आएको लेदोले कैयौं घरमा क्षति पुर्‍याएको महांकाल सामुदायिक वनका अध्यक्ष निराजन महतले बताए ।

काठमाडौंका जिल्ला वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले चन्द्रागिरि हिल्सले गरिरहेको निर्माण, केबलकारले ओगटेको क्षेत्र, मन्दिर परिसर, भ्यु टावर, सडक, रिसोर्टलगायत भौतिक संरचनाले ओगटेको क्षेत्रबारे विस्तृत अध्ययन गरी नक्सासहित प्रतिवेदन तयार गर्न पुस १३ मा इलाका वन कार्यालय महादेवस्थानलाई निर्देशन दिएको छ । निर्देशनअनुसार आफूहरूले संरचना निर्माणको नक्सांकन गरिरहेको इलाका वन कार्यालयका सहायक वन अधिकृत जगदीश रेग्मीले बताए ।

चन्द्रागिरि नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले स्वायत्त शासन ऐनविपरीत निर्माण भएका संरचना जतिबेला पनि भत्काउन सकिने बताए । ‘स्थानीय निकाय कमजोर भएको मौकामा यस्ता काम भइरहेका हुन्,’ जैसीले भने, ‘भत्काउनुपर्छ भनेर जनआवाज उठे चन्द्रागिरिको हकमा पनि त्यो लागू हुन्छ, सरुवा नै हुनुपरे पनि कानुनको कार्यान्वयन गर्छु ।’ ऐनमा मापदण्डविपरीत बनाइएका संरचना भत्काउँदा भएको खर्चसमेत सम्बन्धित व्यक्ति या कम्पनीले नै व्यहोर्नुपर्ने उल्लेख छ ।

चन्द्रागिरिमा निर्माण भइरहेका भौतिक संरचनाबारे चौतर्फी विरोध सुरु भएपछि कम्पनीले नक्सापासका लागि नगरपालिकामा निवेदन दिएको छ । चन्द्रागिरिमा ४ वटा ब्लकमा भौतिक संरचना निर्माण भएको र बन्दै गरेको भन्दै नक्सापासका लागि प्रक्रिया अघि बढाए पनि के–कस्ता संरचना हुन् भन्ने नखुलाइएको नगरपालिकाका ओभरसियर राईले बताए ।

नगरपालिकाले कम्पनीबाट पेस गरिएका नक्सासहितका प्रतिवेदन ६ नम्बर वडामा पठाइदिएको छ । जसअनुसार उक्त क्षेत्रको साँधरसँधियार र अन्य सरोकारवाला निकायसमक्ष उजुरी वा गुनासोका लागि ६ नम्बर वडाले गत साता १५ दिने सूचना टाँसेको वडा सचिव कान्छा श्रेष्ठले बताए । कम्पनीले ४ वटा ब्लकका भौतिक संरचनाको नक्सापासका लागि निवेदन दिएको हो । कम्पनीका संरचनाको डिजाइन र नक्सा सेल प्रालि, नक्सालले तयार गरेको हो ।

कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले प्रक्रिया पुर्‍याएरै आफूहरूले चन्द्रागिरिमा भौतिक संरचना निर्माण गरेको दाबी गरे । ‘कतिपय संरचनाको नक्सा हामीसँग छ,’ शाहले भने, ‘कतिपय प्रक्रियामा होला, सरकारी काममा कति ढिलाइ हुन्छ त्यो सबैलाई थाहै छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना