सेना–प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुल्ला
नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा आगामी १५ माघदेखि सर्वसाधारणले उपचार गर्न पाउने भएका छन् । सेना र प्रहरी तथा उनीहरूका परिवारले मात्रै उपचार गर्न पाउने ती अस्पताल सर्वसाधारणका लागि खुला गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि यस्तो व्यवस्था गरिएको हो ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।
सेना, प्रहरी तथा उनीहरूका परिवारका सदस्यले मात्रै उपचार गर्दै आएका अस्पतालमा सर्वसाधारणको पहुँच नभएकाले ती अस्पतालले सबैका लागि सेवा गर्नुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयको पहलमा १५ माघदेखि सर्वसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो ।
अब सर्वसाधारणका लागि दिउँसो १ देखि ४ बजेसम्म ओपीडी सेवा सञ्चालन हुनेछ । ती अस्पतालमा हाल बहालवाला प्रहरी, सेना, निवृत्त प्रहरी, सेना तथा उनका परिवारको मात्रै उपचार हुँदै आएको छ । अब ती अस्पतालमा ओपीडी सेवा सुरुसँगै शल्यक्रियालगायतका सेवाका लागि स्वास्थ्य मन्त्रालयले सेना तथा प्रहरीस“ग सहकार्य गर्दै जानेछ ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सल्लाहकार प्रताप पौडेलले नेपाल सेना र स्वास्थ्य मन्त्रालयबीच पटकपटक भएको छलफल र सहकार्यपश्चात् ती अस्पताल सर्वसाधारणका लागि खुला गरिने भएको जानकारी दिए । ‘त्यसलाई अझ व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालय कटिबद्ध छ,’ पौडेलले भने ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायतका भीभीआईपीको उपचार पनि वीर अस्पतालबाहेक सैनिक तथा प्रहरी अस्पतालमा रहेको भीआईपी कक्षबाट हुने भएको छ । स्वास्थ्य मन्त्रालयको नीतिअनुसार विशिष्ठ व्यक्तिको उपचार नेपालमै मिलाउन यस्तो व्यवस्था गरिएको हो । यसका लागि ती अस्पतालसँग भीआईपी कक्ष प्रभावकारी रूपमा व्यवस्थित तथा उपचारका लागि सहकार्य गर्ने सहमति भइसकेको छ ।
यसैगरी, ब्यारेक भएको स्थानमा सेनाको स्वास्थ्य टोलीले सरकारी अस्पतालस“ग सहकार्य गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, सेनाको एयर एम्बुलेन्स र मोबाइल अस्पताल स्वास्थ्य मन्त्रालयले पनि प्रयोग गर्ने, आपत्कालीन अवस्थामा सेनासित सहकार्य गरी ‘अलर्ट समिति’ गठन गर्ने तयारीसमेत भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयले पनि सेनाको अस्पताललाई अन्य अस्पतालसरह नै अनुदान पाउने व्यवस्थाका लागि पहल गर्ने तथा सेनाका तर्फबाट ‘पोस्ट ग्रेजुएट’ गर्न चाहनेका लागि छात्रवृत्तिलगायतका सहुलियत दिने सहमति गरेको छ ।