‘झुक्किएर’ आफ्नो खल्तीमा परेको भन्दै साँसद खतिवडाले १४ लाखको घडी सुटुक्क बुझाएपछि……

ramhari-khatiwada1संसद बैठक चल्ने दिन नयाँ बानेश्वरस्थित संसद भवनभित्र झण्डै ६ सय सांसद आउजाउ गर्छन् । त्यत्ति नै संख्यामा अरु मान्छेको भीडभाड हुन्छ त्यहाँ । तर, धेरैको आँखा भने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडामाथि पर्छ । चाहे सुरक्षाकर्मी हुन् चाहे सञ्चारकर्मी वा संसदका कर्मचारी नै किन नहुन्, सांसद खतिवडाको रवाफ देखेर जो कोही पनि छक्क पर्छन् । सर्लक्क परेको अग्लो ज्यान, दिनहुँजस्तो नयाँ सवारी साधन, चिटिक्क परेको दौरा–सुरुवाल र टोपी, सांसद खतिवडाको रवाफ नै बेग्लै हुन्छ । त्यति मात्र होइन, आज संसदमा खतिवडाले के बोल्छन् भन्ने कुरा पनि सबैको चासोको विषय बन्ने गर्छ ।

हुन पनि किन नहोस्, चाहे संविधानसभा छँदा होस् चाहे रुपान्तरित व्यवस्थापिका संसद्मै किन नहोस्, सबैभन्दा बढी समय लिएर बोल्नेमा ओखलढुंगा क्षेत्र नं २ बाट निर्वाचित सांसद खतिवडा नै पर्छन् । सांसदको लोगो भएन, क्यान्टिन भएन भन्नेदेखि लिएर राष्ट्रिय मुद्दामा पनि यिनले संसद्मा बारम्बार प्रश्न उठाउँदै आएका छन् । बाहिरी छवि धेरै बिग्रिएको भए पनि सदनमा उनको प्रस्तुतिका कारण उनलाई मन पराउनेको संख्या पनि कम थिएन । तर, पछिल्लो समय यिनका गतिविधिले सदनभित्र बाँकी बसेको छवि पनि माटोमा मिल्न पुगेको छ । आम मान्छेले सुन्दा पनि नपत्याउने कामका कारण सांसद खतिवडा बदनाम भएका छन् । गत बुधबार काठमाडौंको एउटा होटलबाट एउटा महँगो घडी चोरी भएको प्रकरणपछि सांसद खतिवडाले बदनामी भोग्नुपरेको छ ।

समाचार अनुसार, गत बुधबार लाजिम्पाटस्थित होटल र्याडिसनको जिमको लकरबाटै एउटा घडी हरायो । बजार मूल्य अन्दाजी १४ लाख रुपियाँ पर्ने उक्त रोलेक्स ब्रान्डको घडी पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका कान्छा छोरा प्रवलमानसिंह गुरुङको थियो । लन्डनको एउटा ख्यातिप्राप्त रियल स्टेट कम्पनीका डाइरेक्टरसमेत रहेका गुरुङले महँगो घडी हराएपछि होटल व्यवस्थापनमार्फत् दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिए । प्रहरीले अनुसन्धान मार्फत घटना भएको भोलिपल्ट अर्थात् बिहीबार नै उक्त घडी सांसद खतिवडासँग रहेको पत्ता लगायो । तर, खतिवडा हाइप्रोफाइलका मात्र होइन, प्रहरीसँग पनि उत्तिकै राम्रो सम्बन्ध भएका व्यक्ति हुनाले प्रहरीले उनीमार्फत घडी हात पार्न नयाँ जुक्ति अपनायो ।

शुक्रबार बेलुकी प्रहरीले ’हामीले घडी हराउँदा जिमको लकरमा उपस्थित केहीलाई शंकाको घेरामा राखेका छौँ, फिङ्गर प्रिन्ट लिएर अनुसन्धान अगाडि बढाउन सहयोग गरिदिनु प¥यो’ भन्दै सांसद खतिवडालाई फोन गरेपछि शनिबार बिहानै सांसद खतिवडाले दरबारमार्ग प्रहरी वृत्तमा पुगेर घडी बुझाएका थिए । तर उनले अरु कसैले उक्त घडी आफ्नो गोजीमा राखिदिएको र त्यो कुरा आफूलाइ थाहै नभएको बताएका छन् । पहिलो न्युजसँग कुरा गर्दै सांसद खतिवडाले भने, ‘यथार्थ कुरा के भएको हो भन्नेबारे म आज दिउँसो नयाँ बानेश्वरको बेइजिङ डग रेस्टुरेन्टुमा पत्रकार सम्मेलन गर्दैछु । तपाईको संस्थाबाट पनि कोही पठाइदिनु होला ।’

आफूले घडी नचोरेको बताउँदै उनले भने, ‘बुधबार बिहान म क्लव गएको हुँ । हामी ५÷७ जना थियौं । त्यही दिन बेलुकी म ओखलढुंगा गए । ओखलढुंगा पुगेर कोटमा हात राख्दा एउटा घडी फेला प¥यो । मैले तत्काल क्लवका सुनील शर्मालाई फोन गरेर आफ्नो खल्तीमा एउटा घडी परेको कुरा जानकारी गराएँ । उनले पनि हामीले घडी कता हरायो भनेर खोजिरहेका थियौं, फेला प¥यो भने ।’ उनले उक्त घडी आफूले प्रहरीकहाँ नबुझाएको दाबी गर्दै भने, ‘म प्रहरीकहाँ गएको होइन, के भएको हो, आज बताउँछु ।’

त्यसो त, खतिवडा तिनै सांसद हुन्, जो एक महिना अगाडि मात्रै भूकम्प पीडितसँग पैसा उठाएर हेलिकोप्टरमा सयर गरेका कारण बद्नाम भएका थिए । गाउँमै पैसा बाड्ने भन्दै भूकम्प पीडितसँग पैसा उठाएर गत महिना उनी आफ्नो निर्वाचन क्षेत्रका पलापु, घोराखरी लगायतको ठाउँमा हेलिकोप्टर चार्टर्ड गरेर पुगेका थिए । त्यति मात्र होइन, उनी मानव बेचविखनमा पनि संलग्न भएको समाचार करिब छ महिनाअघि सार्वजनिक भएको थियो । समाचार अनुसार उनले जीवन पौडेल र विनोद राउत नाम गरेका दुई जना व्यक्तिलाई आफ्नो स्वकीय सचिव भन्दै रिस्याक्लिङ सम्बन्धी दोस्रो विश्व सम्मेलनमा भाग लिन जर्मन पठाउने कागजात तयार पारेका थिए । जबकि उनको स्वकीय सचिव हुकुम राई मात्र हुन् । पैसा लिएर मानव बेचविखन गर्न लागेको समाचार आएपछि उनी त्यसबाट पछि हटेको बताइन्छ । सांसद हुनुभन्दा अघि उनका विवादास्पद क्रियाकलापको त फेहरिस्त नै भएको ओखलढुंगाका कांग्रेसकै कार्यकर्ताहरु बताउँछन् । क्यासिनोमा लगानी र प्रहरीसँगको उनको सेटिङका बारेमा जिल्ला पार्टीभित्र पनि बेलाबेला प्रश्न उठ्ने गरेको ओखलढुंगाका एक कांग्रेस नेताले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना