२०१६ सबैभन्दा तातो वर्ष

२०१६ सबैभन्दा तातो वर्ष

२४ पुस ।

सन् २०१६ मा सबैभन्दा बढी तातो वर्षको रूपमा देखिएको छ । पहिलोपटक विश्वको तापक्रमको विश्लेषण गरेको कोपेर्निसस् क्लाइमेट चेन्ज सर्भिसले सन् २०१६ को विश्वभरको तापक्रम वृद्धिको विश्लेषण गरेको हो ।

उसले पृथ्वीको सबैभन्दा बढी तापक्रम वृद्धि भएको महिनाको रूपमा गत वर्षको फेब्रुअरीलाई लिएको छ । सो संस्थाका अनुसार सन् १८८० देखि २०१६ सम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीले बढी पाइएको हो । प्रतिवेदनले भनेजस्तै नेपालको तापक्रममा पनि सन् २०१५ मा भन्दा २०१६ मा शून्य दशमलव २ डिग्रीले तापक्रम वृद्धि भएको पाइएको छ ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार युरोपियन युनियन मातहत रहेको कोपेर्निसस् अर्थात् अब्जर्भेसन प्रोग्रामले तापक्रम वृद्धिदरको विश्लेषण गर्न सुरु गरेको हो । सन् ‘२०१६ मा विश्वकै तापक्रम नाघेको छ । ‘विश्वको औसत ताफक्रम १४ दशमलव ८ डिग्री पुगेको थियो । १८ शताब्दीदेखिको तापक्रम हेर्ने हो भने विश्वको तापक्रममा १ दशमलव ३ डिग्री तापक्रम बढी भएको पाइएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ । गत बिहीबार मात्रै सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार सन् २०१५ भन्दा सन् २०१६ मा शून्य दशमलव २ डिग्री तापक्रम बढेको छ ।

विगत वर्षको सबैभन्दा बढी तापक्रम भएको वर्षलाई पनि सन् २०१६ ले उछिनेको छ । संयुक्त राष्ट्रसंघका पक्ष राष्ट्रहरूले सन् २०१५ मा गरेको पेरिस सम्झौतामा विश्वको तापक्रम वृद्धिदरलाई २ डिग्रीभन्दा तल राख्ने र यसलाई विस्तारै घटाउँदै १ दशमलव ५ डिग्रीमा सीमित राख्ने उल्लेख गरेको छ । सम्झौताको एक वर्षमा भएको तापक्रम वृद्धिले जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम र क्षतिको समस्या निम्त्याउन सक्नेतर्फ प्रतिवेदनले सचेत गराएको छ । ‘ग्लोबल वार्मिङ बढ्दै जाँदा उत्पन्न हुने मौसमका कारण तातो हावा चल्ने, भोकमरी र अत्यधिक बाढीको सम्भावना हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसैगरी पृथ्वीको तापक्रम बढ्दै जाने हो भने ठूलो मात्रामा धनराशिको क्षति हुनेछ । यसैगरी जाने भने जोखिममा रहेका मुलुकमा स्वच्छ पानी तथा अन्नबालीमा ठूलो गिरावट आउनेछ ।’ कोपेर्निसस् क्लाइमेट चेन्ज सर्भिसका निर्देशक एवं अनुसन्धानकर्ता जुअन डी मार्सिलाले अध्ययनले यस्तो अवस्थाको सिर्जना हुने देखिएको बताए ।

जलवायु परिवर्तनका कारण जमिन र समुद्री तहमा तापक्रम बढ्दै जाँदा समुद्री सतह बढ्ने र सबै हिउँ पग्लने उनको बुझाइ छ । हिउँले ढाकेका क्षेत्रमा हिउँ नहुँदा जमिनको भाग घट्दै जाने र त्यसले स्वच्छ पानीको अभाव सिर्जना गर्न सक्ने उनले बताएका छन् । ‘विश्व तापमानमा ठूलो परिवर्तन हुँदै जाने र यसले स्वच्छ पानीको स्रोतका रूपमा रहेको हिउँ विस्तारै पग्लिँदै जाने हो भने जमिनको उपयोगिता एवं स्वच्छ पानीको अभावमा विश्वले ठूलो द्वन्द्व सामना गर्नुपर्ने अवस्था सिर्जना गरेको छ,’ कोपेर्निसस् क्लाइमेट चेन्ज सर्भिसका निर्देशक मार्सिलाले भने, ‘यस्तै अवस्थाको सिर्जना हुनबाट बचाउन हामीले खेल्ने भूमिकामा निर्धारण हुनेछ भने हामीले विगतका समस्यालाई सुधार गर्दै यसबाट जोगिन जलवायुको ज्ञान र सूचना सही तरिकाले प्रवाह गर्नुपर्छ ।’

अनुकूलन र न्यूनीकरणमा विश्व समुदायले सचेत र दृढ संकल्पसहित काम गर्नुपर्ने प्रतिवेदनले देखाएको उनको भनाइ छ । यसका लागि विश्वको तापमानलाई नियन्त्रण तथा अनुकूलनका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । गत वर्षको तापक्रम अत्यधिक हुनुको कारणका रूपमा एलनिनोको प्रभाव रहेको प्रतिवेदनले उल्लेख गरेको छ । एलनिनो उत्कर्षमा रहेको समय गत वर्षको फेबु्रअरी रहेकाले विश्वकै तापक्रम वृद्धि भएको महिनाको रूपमा लिइएको हो । गत वर्षको फेब्रुअरीमा हिमाली क्षेत्र एवं हिउँ भएका क्षेत्रमा ठूलो मात्रामा हिउँ पग्लिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनले गत वर्ष सबैभन्दा बढी तातो र खडेरी परेको क्षेत्रको रूपमा दक्षिण एसियालाई लिएको छ । यस क्षेत्रमा हिउँदको समय मौसममा ठूलो समस्या उत्पन्न भएको पाइएको छ । खडेरीका कारण उत्पादनमा समेत कमी आएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी गत एक वर्षको अवधिमा डढेलोको प्रकोप पनि उत्तिकै फैलिएको छ । जसकारण कार्बनडाई अक्साइडको मात्रा बढेको पाइएको छ । गत वर्षको जुन र जुलाईमा सबैभन्दा बढी डढेलोको प्रकोप फैलिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई