लोडसेडिङ अन्त्यपछि पानी चुहावट रोक्ने अभियानमा सरकार
२४ पुस ।
काठमाडौं उपत्यकामा हाल वितरण भइरहेकोमध्ये दैनिक करिब पाँच करोड लिटरभन्दा धेरै पानी चुहिएर खेर गइरहेको छ । मागको तुलनामा न्यून पानी वितरण भइरहेका वेला वितरित पानीसमेत चुहिएर खेर जाँदा उपभोक्ता चर्को अभाव खेप्न बाध्य छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड
(केयुकेएल)ले हाल दैनिक साढे १३ करोड लिटर पानी वितरण गरिरहेको जनाएको छ । वितरितमध्ये ४० प्रतिशत पानी चुहावट हुने गरेको छ । यो तथ्यांकअनुसार दैनिक साढे १३ करोड लिटर पानी वितरण भए पनि पाँच करोड २० लाख लिटर चुहिएरै खेर जाने गरेको छ । चुहावट नियन्त्रणमा ठोस पहल हुन नसक्दा नियमित रूपमा पानी खेर जाने गरेको छ ।
केयुकेएलका सूचना अधिकारी सुरेशप्रसाद आचार्यले चुहावट नियन्त्रणका लागि पहल भइरहेको बताए । ‘हामीले चुहावट नियन्त्रण गर्न सक्दो पहल गरिरहेका छौँ,’ उनले भने, ‘पाइप लिकेज भएको स्थानमा चाँडो पुगेर मर्मत–सम्भार गर्ने गरेका छौँ ।’ केयुकेएलले ३५ सतहका स्रोत (नदी, पोखरी, तालगायत), ५९ वटा ट्युबवेल, जमिनमुनिबाट पम्प गरेर ३९ स्थानबाट पानी जम्मा गर्ने गरेको छ ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
दुई लाख उपभोक्ता
उपत्यकामा दुई लाख खानेपानीका उपभोक्ता छन् । तिनीहरूले प्रतिमहिना १० हजार लिटर पानी उपभोग गर्दा एक सय रुपैयाँ महसुल तिर्ने गर्छन् । १० हजार लिटरभन्दा बढी उपभोग गरे फरक–फरक दरमा महसुल बुझाउनुपर्छ ।
यस्तो छ माग र आपूर्तिको अवस्था
१. केयुकेएल
काठमाडौं उपत्यकामा अहिले दैनिक साढे ३७ करोड लिटर पानीको माग छ । तर, केयुकेएलले १३ करोडदेखि १३ करोड ५० लाख लिटर आपूर्ति गरिरहेको छ । यो आपूर्ति परिमाण बिस्तार घट्दै जान लागेको छ । चैत, वैशाख र जेठमा औसतमा सात करोड ३० लाख लिटर वितरण हुने गरेको छ । साउन, भदौ, असोज, कात्तिक, मंसिरमा दैनिक १२ करोड लिटरसम्म आपूर्ति हुने गरेको आचार्यले जानकारी दिए ।
२. ट्यांकरको पानी
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार दैनिक पाँच करोड लिटर पानी ट्यांकरबाट आपूर्ति हुने गरेको छ । व्यवसायीले भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु र जोरपाटीमा व्यवस्थित रूपले पानी उत्पादन गरिरहेका छन् ।
३. जार–बोतलको पानी
पानी प्रशोधन गरी जार र बोटलमा बिक्री गर्ने व्यवसायीले २४ लाख लिटर जारको पानी र दुई लाख २० हजार लिटर बोटलको पानी आपूर्ति गरिरहेको बोटल वाटर उद्योग संघले जनाएको छ ।
नियन्त्रणको प्रयास
पाइप फुटेर पानी निस्केको स्थानमा मर्मत गर्न सडक विभागको अनुमति लिनुपर्ने हुन्छ । सडक विभागमा पाइप मर्मत गर्न सडक खन्ने अनुमति लिन ढिलाइ हुँदा चुहावट नियन्त्रणमा असर पर्ने गरेको केयुकेएलको दाबी छ । तर, अहिले सडक विभागलाई लिखित जानकारी गराएर सडक खनी मर्मत गर्न सकिने अवस्था आएको सूचना अधिकारी आचार्यले जानकारी दिए । पुराना पाइप बारम्बार मर्मत गर्नुपरेका कारण चुहावट नियन्त्रणमा ठोस उपलब्धि हासिल गर्न मुस्किल भएको उनले बताए ।
चुहावट नियन्त्रण सरकारको प्राथमिकतामा
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले खानेपानीको चुहावट नियन्त्रण सरकारको प्राथमिकतामा परेको बताए । उनले उपत्यकामा वितरण हुने थोरै पानी पनि चुहिएर नोक्सानी हुने गरेको थाहा पाएपछि नियन्त्रण गर्न प्रधानमन्त्री प्रचण्डबाटै पहल भएको जानकारी दिए । ‘उपत्यकामा वितरण हुने थोरै पानीमध्ये पनि ४० प्रतिशतसम्म चुहावट हुने गरेको जानकारी आएको छ,’ उनले भने, ‘यति धेरै पानी चुहिएर सकिने कारण खोज्दै सुधार गर्न सरकारबाट निर्देशन भएको छ ।’ उनले पानी चुहावट हुने कारण खोजेर नियन्त्रण गर्न निर्देशन दिएको र हाल चुहावट भइरहेकोमध्ये आधा नियन्त्रण गर्न सकिने देखिएको बताए । सोमबार खानेपानी मन्त्रालय, केयुकेएललगायतका संस्थाका कर्मचारी डाकेर प्रधानमन्त्रीले छलफल गरेका थिए ।
चुहावटका ५ कारण
१. पुराना पाइप
खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा राणाकालीन समयमा पाइप बिछ्याइएको थियो । ती पाइप एक सय २५ वर्षभन्दा बढी पुराना छन् । कम गुणस्तर भएका पाइप पुराना हुँदा बारम्बार प्वाल परेर पानी चुहावट हुने गरेको छ ।
२. उपभोक्ताको सस्तो पाइप
उपभोक्ताले घरसम्म पानी लैजाने पाइप तोकिएको मापदण्डअनुसारका छैनन् । जसका कारण चाँडै फुट्ने वा प्वाल पर्ने हुन्छ । नयाँ बस्ती विकास भएको स्थान, हाउजिङ, अपार्टमेन्टलगायतमा पानी तान्न प्रयोग गरिएको पाइप पनि कम गुणस्तरको हुने गरेको छ ।
३. सतहमै पाइप राख्नु
खानेपानीको पाइप जमिनमुनि कम्तीमा तीन फिट तलबाट बिछ्याउनुपर्ने मापदण्ड छ । उपभोक्ताले तलसम्म खन्न झन्झट र लागत बढी पर्ने भएकाले एक फिटमै पाइप बिछ्याउने गरेका छन् । जसका कारण ठूला गाडी सडकमा गुड्दा पाइप फुट्ने र बारम्बार मर्मत गर्नुपरेको केयुकेएलका सूचना सुरेशप्रसाद अधिकारी आचार्यले बताए ।
४. चोरीका धारा जडान
केयुकेएलले पानी वितरण गर्ने मुहान भएको क्षेत्र सुन्दरीजल, गोकर्ण, बूढानीलकण्ठ, फर्पिङ, सैंबुलगायतका क्षेत्रमा चोरीका धारा जडान भएका छन् । ती धाराबाट वितरित पानीको बिल उठ्दैन ।
५. समयमै मर्मत नहुनु
पानी चुहावट भएको स्थानमा केयुकेएलले समयमै मर्मत गर्दैन । गरिए पनि टालटुले किसिमले हुने गरेको छ । जसका कारण बारम्बार मर्मत गरिरहनुपर्छ । आर्थिक वर्ष ०७१/७२ मा उपत्यकाभित्र आठ हजार स्थानमा पानी लिकेज भएको पाइप मर्मत गरिएको केयुकेएलले जनाएको छ ।