कुस्मामा सिटीहल र खेलमैदान निर्माणका लागि पर्वत महोत्सब –संयोजक लामिछाने
पर्वत उद्योग बाणिज्य संघको आयोजनामा आगामी माघ १३ देखि २२ सम्म पाँचौ पर्वत महोत्सब हुँदैछ। महोत्सब आउन तीन हप्ता बाँकी रहँदा यसको तयारी तीब्र पारिएको छ । अग्गा र अनौठा पुलले पर्यटक तानिरहेको कुस्माबजारमा महोत्सबले थप पर्यटक भित्र्याउने लक्ष्य राखेको पनि छ। पर्वत महोत्सबको उद्देश्य, तयारी, र लक्ष्य लगायतका बिषयमा केन्द्रित रहेर न्युज डबली डटकम र खबर डबली साप्ताहिकका लागि दुर्गाप्रसाद शर्माले महोत्सब मुल आयोजक समितिका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने संग गरेको कुराकानीको सम्पादित अंश ।
पाँचौ पर्वत महोत्सबको तयारी कसरी भैरहेको छ ?
महोत्सबको तयारी धेरै अघि बढेको छ ।प्रचारप्रसारको काममा बढी केन्द्रित छौ, ठाउँठाउँमा ब्यानर लगाउने, पर्चा पोष्टर टाँस्ने काम भैरहेको छ । यसमा साथीहरु नै खटिइरहनुभएको छ। आर्थिक स्रोत जुटाउने कुरा प्रमुख हो यसर्थ प्रायोजक खोज्ने काम पनि संगसंगै भएको छ । यसमा सोचे अनुसार नै सफलता मिलेको छ।
महोत्सबको कति प्रतिशत तयारी पुरा भयो ?
अहिले सम्म भैरहेको तयारीलाई हेर्दा हामीले कम्तीमा पनि ५० प्रतिशत तयारी पुरा गरिसकेका छौ जस्तो लाग्छ । महोत्सब आउने तीन हप्ता बाँकी छ यो अवधीमा यति काम सक्नु भनेको पनि धेरै प्रगति हो जस्तो लाग्छ , अझै जटिल कामहरु भने बाँकी नै छन। यस्ता काम पछिल्लो चरणहरुमा हुन्छ । संघसंस्थाहरु संग बैठक, समन्वयका कामहरु हेर्दा आधा काम सकिएको छ भन्दा फरक पर्दैन ।
यो महोत्सबका प्रमुख आकर्षण के के हुन ?
यो समाजमा लोपुन्मुख रहेका संस्कृतिलाई झल्काउने काम यस महोत्सबमा हुनेछ । गुरुङ्ग, मगर, नेवारका संस्कृतिहरु यहाँ प्रर्दशन गरिनेछ । हाम्रा पुराना ब्यबसायहरु पनि लोप हुन थाले , गुन्द्री कसरी बन्थे, स्याखु, दाम्लो नाम्लो कसरी बुन्ने देखि कुमालेले माटाका भाँडा कसरी बनाउँछ भन्ने कुरा पनि हाम्रा सन्तानले भुल्न थालेकाले यो महोत्सबस्थलमा नै यस्ता सामाग्री तयार गर्ने योजना बनाएका छौ । यो पनि नौलो हुन्छ । रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुति जस्ता आकर्षणहरु हुनेनै छन। यहाँ उत्पादित सामाग्रीहरुको प्रर्दशनी, प्याराग्लाईडिङ्ग, जलयात्रा पनि यो महोत्सबको अर्को आकर्षण हुनेछ । बिश्वकै सबैभन्दा ठुलो चरा अष्ट्रीजको पनि प्रर्दशनी राखिनेछ ।
बिगतका महोत्सब भन्दा यस पटक कुन कुरा भिन्न पाउँनेछन त दर्शकहरुले ?
वास्तबमा हरेक महोत्सबहरु एउटै प्रकारका हुन्छन । बिगतमा भएका धेरै कुरा यस पटक पनि दोहोन्छिन नै । तर यस पटक हामीले फरक स्वादको रुपमा संस्कृतिलाई स्टेजबाटै प्रर्दशन गर्ने योजनामा छौ । यसले नयाँ पुस्ताले संस्कृति बुझ्ने अवसर पाउनेछ । काठको ठेका कसरी बन्छ भनेर हाम्रा छोरा नातीले देखेका छैनन, हामीले देखेको कुरा छोरा नातीले देखुन भन्ने लागेको छ। यसपालि राष्ट्रिय खाना महोत्सब हुनेछन । कोदो र मकैबाट बन्ने धेरै प्रकारका परिकार त्यही प्रत्यक्ष रुपमा बनाउने छौ । मानिसको आहारमा भात मात्रै खाने चलनको ठाउँमा कोदोको अचार देखि हर्लिक्स सम्म प्रत्यक्ष बनाउने र चाख्ने अवसर दर्शकले पाउनेछन । अर्को तर्फ भूकम्प प्रतिरोधी संरचना बनाउने प्रबिधीका बारेमा जानकारी दिन गोरखा इकोप्यानललाई पनि निम्ताएका छौ । बालबैज्ञानिकको प्रतिभा पनि हेर्न पाउनेछन। यस बाहेक अरु नयाँ कुराहरु पनि हुनेछन ।
यो महोत्सबमा पर्वतका पर्यटकीय क्षेत्रको प्रर्बद्धन र अबलोकनका लागि कुनै प्याकेज कार्यक्रमहरु बन्दैछन ?
यस महोत्सबमा पर्यटन प्रर्बद्धन गर्ने प्रमुख लक्ष्य छ । कालीगण्डकी सफाई अभियानको रुपमा खनियाँघाट देखि नयाँपुल सम्म महोत्सब अघि नै जलयात्रा राखिने छ । त्यसपछि महोत्सब अवधीभर प्याकेजको रुपमा जलयात्रा गर्न सक्ने ब्यबस्था मिलाइएको छ । यसपछि पर्वतकै प्याराग्लाईडिङ्ग ब्यबसायी नन्दु पुनको सहयोगमा प्याराग्लाईडिङ्ग गराउने योजना पनि बनाएका छौ । यसलाई प्याकेजमा पनि शसुल्क कार्यक्रम गर्दैछौ । पर्वतका पर्यटकीयस्थलहरु अग्ला पुल, केबुलकार, गुफाहरु र अन्य ठाउँको प्रर्बद्धनमा बिशेष कार्यक्रमहरु नै गर्दैछौ । प्रचारप्रसारमा पनि यसलाई समाबेश गरेका छौ जसले गर्दा पर्यटकीय संभावना पनि बढाउने छ ।
महोत्सब त कलाकार र रमाइलो मेला सञ्चालक बाहेक अरुलाई फाइदा हुँदैन भनिन्छ नी ?
हरेक कुराका राम्रो र नराम्रो पाटा हुन्छन । महोत्सबबाट पनि कतिले धेरै फाइदा लिन्छ कतिलाई थोरै होला । तर आरोप लगाए जस्तो कसैलाई फाइदा नहुने चाहिँ पक्कै होइन । यो महोत्सबमा जिल्लाका लघु घरेलु उत्पादनको प्रचारप्रसार र बजारीकरण हुन्छ । पर्वत मात्रै नभई पश्चिमाञ्चलकै लघुउद्यमीका सामाग्रीहरु प्रर्दशनमा राखिनेछन। कृषि जन्य उपजहरु पनि प्रर्दशन पनि राखिएको छ । कृषक, उद्यमीहरु, पर्यटन ब्यबसायी, होटल पसल सबैले फाइदा पाउँछन। यातयात ब्यबसायी लाभान्वित हुन्छन । रमाइलो मेला पैसा मात्रै लैजादैन यसले हामलाई पनि दिएर छाड्छ । यो मेलाको स्टल, कम्पाउण्ड सबै उसले नै बनाई दिन्छ जसले गर्दा महोत्सबको रकम बचत पनि हुन्छ । यो महोत्सबले भित्र स्टलमा र बाहिर बजारमा पनि पक्कै पनि बिक्री बढाउँछ । यसको फाइदा ब्यापारी साथीहरुले लिनुहुन्छ । पर्वत महोत्सबको खास उद्देश्य भनेको पर्वतको पहिचान गराउनु हो । महोत्सब दुई चार पैसा कमाउन होइन यसलाई पर्यटकीय बिकास र प्रचारप्रसार नै हुन्छ ।
महोत्सबमा आर्थिक पारदर्शीता कायम गर्ने र फजुल खर्च रोक्न के गर्दै हुनुहुन्छ ?
यति ठुलो महोत्सब हुँदा खर्च त भै हाल्छ तर फजुल खर्च नहोस भन्नेमा म चनाखो छु । खर्च नगर्ने भन्ने होइन खर्चे गर्ने ठाउँमा गर्ने तर अनावश्यक खर्च नगर्ने कुरामा बिशेष ध्यान दिएका छौ । राम्रो काम र अत्यावश्यक काममा खर्चं हुन्छ । म खर्च गर्ने कुरामा अरु भन्दा कन्जुस नै छु । मैले संस्थाको रकम अनावश्यक खर्च नहोस भनेर चनाखो हुँदा अरुसाथीहरुले घरकै सम्पति जोगाए जस्तो भयो भन्ने पनि सोच्नुहुन्छ की जस्तो पनि लाग्छ । बिगतमा र अहिलेको महोत्सबमा आउँदा अनावश्यक खर्च गर्दिन । महोत्सबमा अनावश्यक खर्च गर्ने खाने खुवाउने कुरामा जानी जानी खर्च गर्ने भन्ने कुरामा छैनौ ।
महोत्सबको आम्दानीलाई के मा खर्च गर्ने योजनामा हुनुहुन्छ ?
महोत्सबको आम्दानीलाई दुई वटा मुख्य काममा खर्च गर्ने योजनामा छौ। पर्वतमा खेलकुद चौरको अभाब छ यसलाई सम्पन्न गर्ने कुरामा लाग्छौ । बड्गाउँको चौर बिस्तारका लागि हामीले खर्च गर्ने छौ । बिगतमा खेलक्षेत्रको ब्यबस्थापनका लागि कुरा भएको छैन। पर्वतमा सिटीहल बनाउने कुरामा पनि मुख्य जोड दिएका छौ । कुस्मामा सिटी हलको आवश्यकता छ । त्यसलाई बनाउने कुरामा मुख्य ध्यान जाने छ। महोत्सबमा दर्शक आएर हेरेको पैसाले बचत भएमा यी दुई काम पुरा गर्नेछौ ।
अन्तमा केही भन्नुछ ?
पाँचौ पर्वत महोत्सब पर्वत उद्योग बाणिज्य संघको होइन तपाईहरुको हो । तपाईहरुकै सक्रिय सहभागिता बिना यसको उद्देश्य पुरा हुन सक्दैन । कम्जोरी भए हामी सुधार गर्न तयार छौ , सुझाब दिनुहोला। सबै जना महोत्सबमा आउने र पठाउने कुरालाई ध्यान दिनुहोला भन्ने आग्रह गर्न चाहन्छु। म महोत्सब अवलोकनका लागि आउन सबैलाई निमन्त्रणापनि गर्दछु ।