पर्वतका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन
पर्वत/शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा विद्युतीय हाजिरी जडान गर्न निर्देशन गरेको हो ।
सोही बमोजिम पहिलो चरणमा नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा विद्युतीय हाजिरी जडान गरिने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए । हाल नगरपालिका भित्र रहेका न्वार सुवेदी माध्यमिक विद्यालय, मंगलोदय मावि र शिवालय माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिसकिएको छ । शिवालयमा सोमबार मात्र विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो ।
विद्युतीय हाजिरीले शिक्षकहरुमा थप जिम्मेवारी बढाउने तथा विद्यालय समयसम्म नै शिक्षक विद्यालयमा रहने प्राचार्य भूपेन्द्र चापागाईंले जानकारी दिए । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि समेत यसले सहयोग गर्ने उनले बताए ।
उक्त विद्युतीय हाजिरी मेसिनको अक्सफोर्ड ल्याङ्गवेज तथा कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक मिलन पौडेलले सहयोग गरेका हुन् । मेसिनको लागत ३३ हजार रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयका प्राचार्य भूपेन्द्र चापागाईको स्वागत तथा शिक्षक आनन्द पौडेलले सञ्चालन गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्रबहादुर क्ष्ोत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।