उपभोगमै सकिन्छ नेपालीको ९५ प्रतिशत आय

उपभोगमै सकिन्छ नेपालीको ९५ प्रतिशत आय

आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ । यो हालसम्मकै उच्च अनुपातको उपभोग हो ।

आव ०७१/७२ मा कुल उपभोग खर्च जीडीपीको ९१.२१ प्रतिशतमात्र थियो भने पाँच वर्षअघि ८६ प्रतिशतमात्र थियो । उपभोग बढ्दै जाँदा कुल राष्ट्रिय बचतमा त्यसको सोझो असर पर्छ । आव २०६७/६८ का जीडीपीको झन्डै १४ प्रतिशत राष्ट्रिय बचत हुने गरेकोमा गत आवसम्म आइपुग्दा यो ५.२६ प्रतिशतमा झरेको छ ।

तथ्यांक विभागका अनुसार अहिले नेपालीको प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय ७५२ डलरमात्र छ, यो अघिल्लो आव ०७१/७२ भन्दा १० डलरले घटेको हो । अमेरिकी डलरसँगको विनिमयमा नेपाली मुद्रा कमजोर भएकाले नेपालीको प्रतिव्यक्ति आय पनि घटेको हो ।

अहिले नेपालको अर्थतन्त्रको कुल आकार २२ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँमात्र पुगेको छ । गत वर्षको भूकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण आर्थिक वृद्धिदर ०.५६ प्रतिशतमा खुम्चेको विभागको प्रतिवेदनमा उल्लेख छ ।

खुम्चियो कृषि

विभागका अनुसार जीडीपीमा कृषिको योगदान ३१.२ प्रतिशतमा खुम्चेको छ, जुन आव ०५८/५९ मा ३५.६ प्रतिशतमा थियो । यसैगरी उद्योग क्षेत्रको योगदान पनि ५.५३ प्रतिशतमा खुम्चिएको छ, अघिल्लो आवमा यसको अंश ६.५ प्रतिशत थियो । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ५४.३ प्रतिशत पुगेको छ, जसमध्ये रियल इस्टेट र व्यावसायिक क्षेत्र, शिक्षा र वित्तीय क्षेत्रको योगदान ह्वात्तै बढेको पाइएको छ ।

पछिल्लो दशकमा अत्याधिक विस्तार भएको रियल इस्टेट क्षेत्र र व्यावसायिक क्षेत्रले जीडीपीमा ९.२ प्रतिशत, शिक्षा क्षेत्रले ६.८ प्रतिशत र वित्तीय क्षेत्रले ५ प्रतिशत हिस्सा ओगटेका छन् ।

कृषिपछि अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने क्षेत्र भने थोक तथा खुद्रा व्यापार नै छ, जसले १४.२ प्रतिशत हिस्सा ओगटेको छ । होटल तथा रेष्टुँरा क्षेत्रको योगदान भने २.१ प्रतिशतमा स्थिर छ ।यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए