मुलुकभर मौसम बदली, आज पनि हिमपात र पानी पर्ने
आइतबार बिहानबाट सुरु भएको मौसम बदली मुलुकभर फैलिएको छ । सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको जम्मु काश्मीर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । शनिबार भारत हुँदै सुदूरपश्चिमबाट नेपाल छिरेको पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा वर्षा र तराईमा बाक्लो कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘आइतबार बिहानदेखि सुरु भएको बदली सोमबार साँझसम्म जारी रहनेछ,’ मौसमविद् वरुण पौडेलले भने, ‘पश्चिमी वायुको प्रभावका कारण स्थानीय वायुमा आएको परिवर्तनले मुलुकभर छिटफुट वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।’ मंगलबार मध्याह्नपछि बिस्तारै मौसममा सुधार हुनुका साथै घाम लाग्ने उनले जानकारी दिए ।
‘अहिले देशभर पश्चिमी वायुको प्रभावले ल्याएको मौसमी प्रणाली विकसित हुँदा बदली भएको छ र अघिल्ला दिनको तुलनामा बढी चिसो महसुस भएको छ,’ मौसमविद् पौडेलले भने । उनले पानी लगातार पर्ने नभई केहीबेर परेर रोकिने र फेरि पर्ने बताए ।
शनिबार राति सुदूरपश्चिमबाट भित्रिएको मौसमी प्रणाली पूर्वसम्म फैलिएपछि मुलुकभर मौसममा बदली भएको हो । पूर्वी नेपालबाट नबाहिरिउन्जेल मौसम सफा नहुने मौसमविद्हरूले बताएका छन् । उच्च पहाडी भेग र हिमाली भेगहरूमा हिउँ परिरहेको छ । गोरखा, काभ्रेको ढुंखर्क, जुम्ला, रसुवा, ताप्लेजुङ र दोलखामा हिउँ परेको महाशाखाले जनाएको छ ।
बिहीबारदेखि पश्चिम क्षेत्रमा फेरि वर्षा हुनेछ । फेरि आउने पश्चिमी वायुले काठमाडौंको मौसम पनि प्रभावित पार्न सक्छ ।
नेपालमा वर्र्षामा बंगालको खाडीबाट आउने वायु प्रभावले वर्षा हुुन्छ भने हिउँदमा पश्चिमी वायुको प्रभावले पानी पर्छ । काठमाडौं उपत्यकामा शनिबार साँझदेखि नै पानी पर्ने र रोकिने क्रम जारी छ ।
शनिबार सबैभन्दा बढी ताप्लेजुङमा ६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा भने आइतबार शून्य दशमलव १ मिलिमिटर वर्षा भएको थियो भने दिनभर घाम नलाग्दा चिसो बढेको थियो । महाशाखाको तथ्यांकअनुसार काठमाडौंमा शनिबार ४ दशमलव ५ डिग्री न्यूनतम तापक्रम थियो भने आइतबार ५ डिग्री मापन गरिएको छ ।