बाउन्न लाख भन्दा बढीले हेरेको नेपाली चलचित्रको गीत
काठमाडौं, १६ पुस – नेपाली संगीतको क्षेत्रमा आजभोलि संगीतको ‘खिचडी’ पाकेको छ । पहिले एकनासका विधामा गीत गाइएपनि आजभोलि भने फरक धारका गीतहरू बजारमा आउन थालेका छन् । त्यस्तै फरक धारको गीत हो प्रतीक्षित चलचित्र ‘लूट २’ को सिक्वेलमा समावेश भएको गीत ‘ठमेल बजार ।’
यो गीतका सर्जक हुन् कालीप्रसाद बाँस्कोटा । आफ्ना फरक स्वादका गीतका कारण थोरै गीतबाट नै आफूलाई स्थापित गराइसकेका छन् कालीले ।
एकदिन ‘लूट’का निर्देशक तथा निर्माता निश्चल बस्नेतले बाँस्कोटालाई आफ्नो चलचित्रले खोजेको आइटम गीतको भाव बताउँदै गीत तयार गर्न आग्रह गरे ।
कालीप्रसादले आफ्ना साथी सबिन सिंह (एकतारे) सँग मिलेर ‘लूट २’ का लागि गीत बनाउने कोशिश गरे । तर चलचित्रका लागि सुहाउने खालको गीत तयार हुन सकस प–यो । गीत रचना गर्नकै लागि भनेर काली र एकतारे कतिदिनसम्म त निश्चल बस्नेतको स्टुडियोमा नै गएर बसे । गीत रचना प्रयास गरे । तर फुरेन ।
‘लूट’ को आइटम गीत उध्रेको चोलीको ‘भाग २’ को कल्पनासमेत गरे उनीहरूले । त्यो कल्पना पनि टिमलाई चित्त बुझेन ।
‘लूट २’ को गीतका लागि केही भूमिका निर्माण भएका थिए । परिवेश तयार भएको थियो तर ठ्याक्कै यस्तो खालको गीत बनाउने भन्ने कुनै ठोस आधार भेटिएको थिएन । गीत बन्ने लय अझै भेटिएको थिएन भन्छन् कालीप्रसाद । उनी भन्छन्, ‘हामीलाई त ठमेल बजार गीत बन्छ भन्ने पनि लागेको थिएन ।’
कालीप्रसाद यो गीत कम्पोज गर्न आफूलाई दुई महिनाभन्दा बढी समय लागेको बताउँछन् । गीतको ट्युनिङ तयार गर्नका लागि मात्र दुई महिना लागेको उनलाई सम्झना छ ।
उनी भन्छन्, ‘लूटका लागि सुहाउँदो गीत बनाउन खोज्दा अरू दुई चारवटा संगीत बने होलान्, तर यो चलचित्रको परिवेशलाई सुहाउँदो गीत बन्न सकेन ।’
दिन बित्दै थिए । गीतको खोजी हुँदै थियो । केही दिनपछि कालीप्रसादले गीतको लय बन्यो भनेर ट्युनिङसहित एकतारेलाई सुनाए । ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार…’ कालीको दिमागमा फुरेपछि यसमा गीत गर्नुपर्छ भन्दै एकतारेलाई सुनाए । बल्ल गीतको भावमा पूरै गीत बन्छ भन्ने लाग्यो उनीहरूलाई ।
कतै सुनिसकेको जस्तो लाग्ने भाकामा गीत बनाउन खोजिरहेका थिए कालीले किनकि यस्ता गीतले मान्छेको मन छुन सक्छ भन्ने उनी र एकतारेलाई लागिरहेको थियो ।
कालीप्रसादले ‘निर जैले रिसाउनी…’ बाट पाएको सकारात्मक प्रतिक्रियाले पनि यस्तै स्वादको गीत बनाउन खोजिरहेका थिए । त्यसैले काठमाडौंमा कतै सुनिने काँठे गीतलाई उनीहरूले गीतको आधार बनाए । गीत चर्चित पनि भयो । भिडियोमा देखिने कोरियोग्राफीको समेत धेरैले चर्चा गरे ।
गीत कस्तो बनाउने भन्ने योजना बनाइरहँदा उनीहरूले गीतमा स्थानीय र बोलीचालीको भाषालाई जस्ताको तस्तै उन्ने कोशिश गरिरहेका थिए । आइटम गीतहरू अन्य गीतभन्दा अश्लील लागेपनि गीत चाहिँ श्लील नै बनोस् भन्ने कुरालाई ख्याल गरेका थिए ।
त्यसैले अङ्गुरलाई बिम्बात्मक रूपमा जवानीसँग तुलना गरेर शब्द चयन गरेको एकतारे बताउँछन् ।
शुरुमा गीतको अवधारणा बन्न नै समय लागेपनि गीतको खाका तयार भइसकेपछि भने उनीहरूलाई गीत बनाउन सहज भयो । काली र एकतारे मिलेर एकैदिनमा गीत तयार गरे ।
एकतारे भन्छन्, ‘गीत फ्रेममा आइसकेपछि गीत बनाउन सजिलो हुन्छ । हामीले दुई घण्टामै गीतको खेस्रा बनाइसकेका थियौं ।’
खेस्रा तयार भइसकेपछि केही शब्दहरू फेर्नुपर्ने पनि देखियो । उनीहरूले अंगुरको सट्टामा दाना प्रयोग गरे । गीत झन् मीठो सुनियो ।
कुनै पनि गीत राम्रो बन्नका लागि शब्द मात्र काफी हुन्न । सबैथोकको संयोजन मिल्नुपर्छ भन्छन् एकतारे ।
अहिले गीत चर्चामा छ । गीत हिट भएपछि आफूलाई खुशी लागेको एकतारे बताउँछन् ।