हुन्न लोडसेडिङ : थपिँदै ४० मेगावाट बिजुली
काठमाडौं – विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ ।
सुख्यायामसँगै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाको विद्युत उत्पादन कम हुँदै गएकाले राजधानीलाई लोडसेडिङमुक्त राख्न भारतबाट थप बिजुली आयात गरिएको हो । यो समाचार आजको कान्तिपुरले छापेको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मर्स्याङ्दी कोरिडोरबाट हेटौंडामा पठाइने ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ ।
अधिकारीले अंग्रेजी नयाँ वर्षसँगै राजधानीमा ४० मेगावाट बिजुली थपिएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेललगायतका स्थानलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी दिए । प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) मा भारतीय कम्पनी एनभीभीएनसित खरिद गरेको हो ।
अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो । तर, ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण गर्न बाँकी एउटामात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो ।
उक्त टावर निर्माण भएपछि भारतबाट आयात हुने बिजुली खिम्ती–ढल्केबर प्रसारण लाइन हुँदै राजधानी ल्याइनेछ । प्राधिकरणले आगामी फेब्रुअरी १ देखि थप ४० मेगावाट बिजुली भारतबाट आयात गर्न थाल्नेछ । मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट प्राधिकरणले ८० मेगावाट आयात गरिरहेको थियो । शनिबार रातिदेखि उक्त प्रसारण लाइनबाट प्राधिकरणले १२० मेगावाट आयात गर्न थालेको छ । फेब्रुअरी १ देखि भने त्यहाँबाट प्राधिकरणले १६० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।
अधिकारीका अनुसार फेब्रुअरी १ देखि ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली राजधानी ल्याइनेछ । नदीमा पानीको प्रवाह घटेर सबभन्दा कम विद्युत उत्पादन हुने समयमा भारतबाट आयातीत बिजुलीमध्ये ९० मेगावाट राजधानी ल्याएपछि माघको तेस्रो सातादेखि फागुन, चैत, बैसाख र जेठमा समेत काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लोडसेडिङमुक्त राख्न सकिने प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन् ।