राजदुत पत्नीले प्रहरी अधिकृतसँग यौन सम्बन्ध राखेपछि…
ब्राजिलमा रहेका ग्रिसका राजदूत किरिआकोस अमिरिदिसको हत्यामा उनकै पत्नीको संलग्नता देखिएको छ । उनकी पत्नीले आफ्ना प्रेमी प्रहरी अधिकृतसँग मिलेर राजदूत किरिआकोस अमिरिदिसको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, राजदूत अमिरिदिस र उनकी पत्नी फ्रास्वाँ बसेको घरमै हत्या भएको थियो । सोही कोठामा राजदूतलाई मारेर उनैको गाडीमा हाली शहर बाहिर लगी जलाइएको प्रहरीको दाबी छ । प्रहरीले अनुसन्धानका क्रममा राजदूत दम्पत्ति अन्तिमपटक बसेको कोठामा रगत फेला पारेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजदूतकी पत्नी फ्रास्वाँको एक स्थानीय प्रहरी अधिकारीसँग ‘अफेयर’ चलिरहेको थियो । आफूसँग अवैध प्रेम सम्बन्ध रहेका प्रहरी अधिकारीसँग मिलेर उनले राजदूत पतिको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
प्रहरीले सो घटनापछि राजदूतपत्नीसहित तीन जनालाई हिरासतमा लिएको छ । हिरासतमा लिँदै गर्दा राजदूत पत्नीले हत्यामा आफ्नो संलग्नतालाई अस्वीकार गरेकी थिइन् । तर, पछि रुँदै प्रहरी अधिकृतले उनलाई मारेको बताएकी थिइन् ।
राजदूत अमिरिदिससँग उनको विवाह भएको १५ वर्ष बितिसकेको छ । उनीहरुकी १० वर्षीया छोरीसमेत छिन् । हत्यामा अमिरिदिसकी पत्नी फ्रास्वाँले अत्यन्तै सचेतता अपनाएको देखिन्छ । हत्याका बेला उनी आफ्ना मातापितासँग क्रिसमस मनाउन नोवा इग्वासुमा गएकी थिइन् ।
राजदूत अमिरिदिस सोमबारदेखि बेपत्ता भएका थिए । उनी बेपत्ता भएको भन्दै उनकी श्रीमतीले आफ्ना श्रीमान कार लिएर निस्किएको र सम्पर्कविहीन भएको भन्दै प्रहरीमा रिपोर्ट लेखाएकी थिइन् । चार दिनपछि राजदूत अमिरिदिसको शव रियो दि जेनेरियो शहरभन्दा बाहिर भागमा सडकको फ्लाइओभर मुनि जलेको कारभित्र भेटिएको थियो ।