देउवाको ओलीलाई प्रश्न – गाँजा रक्सी खाएर सही छाप गर्नुभएको हो?
बागलुङ, पुस १६ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पहिलेनै एमालेसँग समझदारी भएर आएकाले अहिले प्रस्तावको विरोध गर्नु राम्रो नभएको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्माओलीतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘कि गाँजा, रक्सी खाएर सहिछाप गरेको हुँ भन्नुपर्यो, होइन भने कि गल्ती गरेँ भन्नुपर्यो, आफैले सहमति गरेको प्रस्ताव मान्नुपर्यो ।’ नेपाली कांग्रेस क्षत्रीय समिति बागलुङ क्षेत्र नम्बर १ ले ४१ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार आयोजना गरेको आमसभामा प्रतिपक्षी दलले लगातार संसद अवरुद्ध गर्दै आइरहेको प्रति आक्रोशित मुद्रामा देखिएका देउवाले एमालेले झुटा कुरा गरेर देश विभाजन गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको हो । संविधान संशोधनमाथिको छलफल गर्न संसद रोक्नु संसदीय मर्यादा विपरित भएको उल्लेख गर्दै देउवाले पूर्व पार्टी सभापति सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच पहिले भएको सहमतिकै बिषय संशोधन प्रस्तावमा ल्याइएको जिकिर गर्नुभयो ।
पाँच नम्बर प्रदेश टुक्राउने, चार नम्बर प्रदेश मिलाउने लगायतका बिषयमा समझदारी गरिएको आधारमा संशोधन प्रस्ताव ल्याइएकाले यसलाई पारित गर्न एमालेले समर्थन गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले एमालेले झुटा कुरा गरेर देश विभाजन गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले संविधान संशोधन प्रस्ताव पास भएरै छाड्ने दावीसमेत गर्नुभयो । देउवाले एमालेलगायतको केही दल संशोधन प्रस्तावको विपक्षमा देखिए पनि पास गरेर छाड्ने बताउनुभयो ।
बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति ४१ वर्षपछि पनि उत्तिकै सान्र्दभिक र जरुरी भएको देउवाले बताउनुभयो । कांग्रेसले सदैव मेलमिलापको नीतिमा देशको महत्वपूर्ण परिवर्तनमा नेतृत्व गरिरहेको स्मरण गर्दै मेलमिलाप नीति छोडे कि देश एक्लिने कि कांग्रेस एक्लिने भएकाले बिपिकै मेलमिलापको नीतिमा देश र कांग्रेस अघि बढ्ने उहाँले बताउनुभयो । अबको १३ महिना भित्रमा तिनै तहको निर्वाचन गर्नुपर्ने बाध्यता रहेको भन्दै अब प्रतिपक्षलाई बखेडा झिक्न बन्द गरेर संसद खुल्ला गर्न आग्रहसमेत गर्नुभयो ।
आमसभालाई कांग्रेस केन्द्रिय सदस्यत्रय अर्जुप्रसाद जोशी, गोविन्द भट्टराई, बद्रि पाण्डे, पार्टी जिल्ला सभापति दिपेन्द्र थापाले सम्बोधन गरेका थिए ।