सकियो नेपाली खेलकुदको महाकुम्भ
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे।
राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन जरुरी भएको उहाँको भनाइ थियो ।
सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले छोटो तयारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि देशभरका खेलाडीले बडो उत्साह र गौरवका साथ प्रतियोगितामा सहभागी भएर खेललाई सम्पन्न गराएको तथा केही खेलाडीले नयाँ कीर्तिमानसमेत हासिल गर्न सफल भएकामा त्यसलाई ठूलो सफलताका रुपमा लिइएको बताए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अब मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेल हुने निश्चित भएकाले त्यसका लागि लागि आजैदेखि तयारीका कामको थालनी हुने जानकारी दिए।
समारोहमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेलमा उच्च पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको नेपाली सेना, दोस्रो भएको नेपाल प्रहरी र तेस्रो स्थान प्राप्त गर्न सफल सशस्त्र प्रहरी टोलीलाई पहिलो, दोस्रो र तेस्रो स्थानको उपाधि पनि दिइएको छ। त्यस्तै राखेपका सदस्यसचिव विष्टले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम वलीलाई झन्डा हस्तान्तरण गरे।