भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव पार्टीबाट छ वर्षका लागि निष्काशित
भारतको समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवले आफ्नै छोरा तथा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई पार्टीबाट निकालेका छन् ।
प्रदेशमा हुन गइरहेको निर्वाचनमा अखिलेशले दुई दिनअघि आफूखुसी टिकट वितरणको सूची सार्वजनिक भएपछि आक्रोशित भएका मुलायमसिंहले उक्त कठोर निर्णय लिएका हुन् । छोरा अखिलेशसँगै उनले भाई रामगोपाल यादवलाई पनि पार्टीबाट निकालेका छन् । उनी महासचिव थिए ।
मुलायसिंहको परिवारबीच शक्ति संघर्ष चलिरहेको थियो । मुलायमका भाइ शिवगोपाल यादव र छोरा अखिलेशबीचको मनमुटाव सार्वजनिक चर्चाको विषय बन्दै आएको थियो ।
पारिवारिक झगडाका कारण समस्यामा परेको समाजवादी पार्टीमा आएका यो विवादपछि आसन्न निर्वाचनमा उसको अवस्था झनै नाजुक रहेको विश्लेषण भएको छ । भारतका सबभन्दा कम उमेरका मुख्यमन्त्री अखिलेश प्रदेशमा शान्ति सुरक्षा कायम गर्न र नयाँ पन दिन असफल रहेको टिप्पणी भएकाले समाजवादी पार्टीले धक्का खाने विश्लेषण भइरहेको बेला यो कारवाहीले थप जटिलता निम्त्याएको छ ।
छोरा अखिलेशमाथि कारवाही गरिसकेपछि लखनउमा सम्वाददाताहरुसँग बोल्दै मुलायमसिंह यादवले भने, ‘पार्टीका लागि व्यक्ति ठूलो होइन, निर्णय ठूलो कुरा हो ।’