बढुवामा असन्तुष्ट एसएसपीले दिए राजीनामा
प्रहरी नायब महानिरीक्षक (डीआइजी) बढुवामा असन्तुष्टी व्यक्त गर्दै नेपाल प्रहरीका एक एसएसपीले राजीनामा दिएका छन् । खाली रहेको तीन पदमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफूलाई सिफारिस नगरेको भन्दै एसएसपी लव विष्टले शुक्रबार राजीनामा दिएका हुन् ।
सरकारले एसएसपीहरु गणेश केसी, केदारमान सिंह भण्डारी र रमेश भट्टराईलाई गत मंगलबार डीआइजीमा बढुवा गरेको थियो । महानिरीक्षक अर्यालको सिफारिस अनुसार गृहले लोकसेवा आयोगमा बढुवा सिफारिस गरेपछि उनीहरुको बढुवा भएको हो ।
बढुवा भएका मध्ये भट्टरार्ई महानिरीक्षक अर्यालले आफैंले कारबाही गरेका प्रहरी अधिकृत हुन् । ललितपुर प्रहरी प्रमुख भएका बेला भट्टराईलाई अर्यालले कारबाही गर्दै नसिहद दिएर फिर्ता बोलाएका थिए ।
बढुवामा नपरेका एसएसपी विष्ट तत्कालीन अञ्चल प्रहरी कार्यालय सेतीमा कार्यरत रहेका बेला तत्कालीन प्रहरी महानिरिक्षक कुवेर सिंह रानाले प्रशंसा पत्र दिएका थिए । ‘अन्तर क्षेत्रीय प्रहरी कार्यालय कार्यदक्षता मुल्यांकन २०७०’ अन्तर्गत अञ्चल प्रहरी कार्यालय मध्ये सेती सर्वोत्कृष्ट चयन भएको थियो ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।
एसएसपी विष्टले समाजिक सञ्जालमा समेत असन्तुष्ट व्यक्त गरेका छन् । उनले तत्कालीन समयमा पाएको प्रशंसा पत्र समेत फिर्ता पठाउने घोषणा फेसबुक मार्फत गरेका छन् ।
उनले आफ्नो फेसबुक वालमा प्रहरी महानिरिक्षक अर्याललाई सम्बोधन गर्दै लेखेका छन्,‘ प्रहरी मूल्यांकन कार्यमा काम नलाग्ने प्रमाणपत्रहरु फिर्ता गर्न चाहन्छु।’