अब यी अस्पतालमा हुनेछ निशुल्क डाइलासिस
स्वास्थ्य मन्त्रालयले निःशुल्क डायलासिस सेवा सञ्चालन गर्न थप ११ वटा स्वास्थ्य संस्थालाई अनुमति दिएको छ । सरकारले देशभरका मिर्गौला बिरामीलाई निःशुल्क डायलासिस व्यवस्था गरिदिएपछि डायलासिस गर्ने बिरामीको संख्या ह्वात्तै बढेको छ ।
थप गरेका ११ वटा अस्पतालमा नेपाली सेना मातहतमा रहेको वीरेन्द्र सैनिक अस्पताल छाउनी र १० वटा निजी अस्पताल छन् । सम्पूर्ण डायलासिस निःशुल्क गर्ने सरकारको निर्णय भए पनि कतिपय विरामीले डायलासिस गर्न नपाएको गुनासो गर्दै आएका थिए ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले डायलासिस सेवा सञ्चालनका लागि निवेदन दिएका र मापदण्ड पूरा गरेका अस्पताललाई अनुमति दिएको जानकारी दिए । देशका विभिन्न क्षेत्रका अस्पतालमा डायलासिस सेवा थप गरिएकाले बिरामीलाई सहज हुने मन्त्री थापाको भनाई छ ।यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।
अनुमति पाउने स्वास्थ्य संस्थाहरुमा वीरेन्द्र सैनिक अस्पताल छाउनी, ग्राण्डी इन्टरनेशनल हस्पिटल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल, बयोधा अस्पताल छन् । यस्तै काठमाडौ उपत्यकाबाहिर अनुमति पाउनेमा रुपन्देहीका गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेका छन् ।
मिर्गौलाका सबै विरामीलाई निःशुल्क डायलाइसिसको व्यवस्था गर्न सरकारी अस्पतालबाट मात्रै अहिले सम्भव नभएकाले निजी अस्पताललाई अनुमति दिनुपरेको बताइएको छ । पहिले सातामा दुईपटक डायलासिस निःशुल्क गरिएकोमा कात्तिक तेस्रो सातादेखि मिर्गौला विरामीलाई आवश्यक पर्ने सम्पूर्ण डायलासिस निःशुल्क गराउने व्यवस्था भएको हो । याे व्यवस्थाअनुसार हाल प्रतिविरामी दुई हजार पाँच सय रुपियाँ सरकारले सम्बन्धित अस्पताललाई दिन्छ ।
नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र किड्नी सेन्टरसहित ३२ अस्पतालमा निःशुल्क डाइलाइसिसको व्यवस्था छ । यीमध्ये चार ओटा अञ्चल अस्पताल रहेका छन् भने बाँकी अंचल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डाइलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाई सकेको छ ।मन्त्रालयले हरेक अञ्चल अस्पतालहरुलाई दुई ओटा डायलाईसिस मेसिन किनेर सेवा सुरु गर्न आवश्यक रकम पनि पठाइ सकेको छ ।