पुनर्निर्माण प्राधिकरणका सिईओसँग सरकारले सोध्यो स्पष्टिकरण
काठमाडौं, १४ पुस– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीसँग पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै स्पष्टिकरण माग गरेको छ ।
बिहिबार बसेको क्याबिनेट बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले निर्णय गरेसँगै उनलाई स्पष्टिकरण सोधिएको पत्र प्रेषित गरिसकिएको प्रधानमन्त्री निकट स्रोतले बतायो । उनका अनुसार ज्ञवालीलाई हटाउने उद्देश्यसहित सरकारले स्पष्टिकरण सोधेको हो ।
पुनर्निर्माण सम्बन्धी ऐन २०७२ अनुसार प्राधिकरणका सिईओलाई हटाउनुपूर्व स्पष्टिकरणको मौका दिनुपर्ने व्यवस्था गरिएको छ । सोहि अनुसार उनलाई हटाउने योजनासहित स्पष्टिकरण सोधिएको स्रोतको भनाई छ ।
भूकम्पपछिको पुनर्निर्माणको सवालमा प्रधानमनन्त्री प्रचण्ड स्वयम्ले उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
यसैबीच ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै स्पष्टिकरणको पत्र आएको र पत्रमा उठाइएका विषयवस्तुहरुका सम्बन्धमा यथार्थ स्पष्टिकरण यथासमयमा प्रस्तुत हुने बताएका छन् ।
‘भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, पीडितहरुलाई रकम वितरण तथा यसका लागि काम गर्नुपर्ने निकायहरुलाई क्रियाशील तुल्याउने लगायतका कार्यहरु अघि बढिरहेको समयमा नेपाल सरकारको तर्फबाट मैले सम्पादन गरेको कार्य बारे स्पष्टिकरण माग गरिएको सम्बन्धमा उठेका सार्वजनिक जिज्ञासाका सम्बन्धमा यो प्रेस नोट जारी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पत्रमा उठाइएका विषयवस्तुहरुका सम्बन्धमा यथार्थ स्पष्टिकरण यथासमयमा प्रस्तुत हुनेनै छ । ’
उनले स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएकाले त्यसका परिणामहरु एकपछि अर्काे गर्दै बाहिर आइरहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले आफूले पेश गर्ने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुनुका साथै पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्नेछ अपेक्षा समेत गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारका पालामा सिईयो नियुक्त भएका उनले अब सरकारी निर्देशन अनुसार एक साताभित्र स्पष्टिकरण पेश गर्नुपर्नेछ ।