पर्वतको मालढुंगाका पहिरो पिडीतको पिडा , पहिरोले घर पुरेपछि ओढारमा बास

cave-2पर्वत, पुस १४ – पुस महिनाको कठ्याङ्ग्रिँदो जाडो । कालीगण्डकी किनारको छेउमा एउटा माझी बस्ती  । यहाँ २८ परिवार मजदुरी गरेर बस्दै आएका छन् । कसैको पनि लालपुर्जा छैन । यही बस्तीमा बस्ने एक दम्पतीको दर्दनाक अवस्था छ । यो दम्पती डेढ वर्षदेखि ओढारमा दिनरात काट्दै आएका छन् ।  निहुरिएर भित्र छिनुपर्ने, सानो गुन्द्रीले ओगट्ने जति थलोमा भान्सा, सर–सामान र दुःखजिलो गरी सुत्ने बिस्तारा पनि त्यहीँ । ६२ वर्षका भीमबहादुर माझी र ४५ वर्षकी चन्द्रकुमारी माझी डेढ वर्षदेखि त्यही ओढारमा दैनिकी गुजारिरहेका छन् ।

घर, सम्पत्ति पहिरोमा गुमेपछि बाग्लुङ–पर्वतको सीमाक्षेत्र मालढुङ्गामा बस्ने माझी दम्पती आफ्नै थातथलोमा पनि ‘शरणार्थी’ झैं बनेका छन् । बिहान, बेलुका छाक टार्ने केले हो भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर गतिलो सुत्ने बास नहुँदा पिरलोमा पर्दै आएका छन् उनीहरु । २०७२ साउन ३ गते मालढुङ्गा–बेनी सडकखण्डको माथि पाङबाट खसेको पहिरोले माझीको घरबास पूर्ण रुपमा क्षतिग्रस्त बनेपछि माझीको परिवार ओढारमा बस्दै आएका हुन् ।

घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारी माझीले आफूहरुको यो हालत हुँदा पनि कसैले नहेरेको गुनासो गरे । उहाँका दुई छोरा अलग्गै घरमा बस्दै आएका छन् । दुई छोरीहरुको विवाह भइसकेको छ । बुढेसकालमा परिवारबाट एक्लिएका माझी दम्पतीको बाँच्ने सहारा भनेको कालीगण्डकी किनारको गिटी र बालुवा हो ।

‘बालुवा, गिटी गरेर छाक टार्दै आएका छौं, हामीलाई कसैले सहयोग गरेको छैन’ चन्द्रकुमारीले भन्नुभयो ‘हामी पुरानै बासमा फर्कन चाहान्छौं, तर घर केले बनाउने, हाम्रो उपाय छैन ।’ त्यहाँका अरु केही माझी परिवार पनि विस्थापित अवस्थामा छन् । पुस्तौंदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरुले आफूहरु राज्यबाट उपेक्षामा परेको गुनासो गर्ने गरेका छन् ।

छिटपुट राहात पाएपनि पहिरोबाट विस्थापितहरुको पुनर्बास र व्यवस्थापनमा कसैले ध्यान नदिएको स्थानीय श्रमिक प्राविका प्रधानध्यापक तेजेन्द्र आचार्यले बताउनुभयो । ‘परिवारको अवस्था साह्रै दयनीय छ, बस्ने बास समेत गुमेपछि यो अवस्था आयो’ उहाँले भन्नुभयो ।

सन्तोष थापा/उज्यालो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा